Wednesday, February 18, 2015

सोच

“ह्याँ यार .... ढिलो भैसक्यो, जाउँ न भन्या, घर जाने हैन ?” च्याँखेले भन्यो । “हो हो ल जाउँ न त साह्रै अबेर भो घरमा फेरि कराउँछ” उता सुसेले भन्दै थियो । तर, म भने आफ्नै ध्याउन्नमा थिएँ । सबैलाई घर जान ढिला भैसकेको थियो, मलाई भने घरै जान नपरोस् झैं लाग्दैछ । सबैजना उठेर जान ठिक्क पर्दै थियो, च्याँखेले सोध्यो “ओई तँ घर नजाने ?” मैले भनें “यति छिटो के घर जानु ? घर गयो कि सँधै को त्यहि कचकच, कचकच सुन्नुपर्छ, एकछिनमा जान्छु, तिमारुलाई ढिला भए जा न त ।” मेरो अनुमति पछि सबैजना त्यहाँबाट हिँड्यो, म एक्लिएँ ।

एउटा क्यान्सर पाइप मगाएँ र सल्काएँ अनि बनाएँ धुवाँको शहर । कोर्न थालें, त्यसमा आफ्नो चित्र । अनि देखें, आफ्नै अनुहार । “छिः कस्तो नराम्रो”, आफ्नै अनुहार पनि गल्ली गल्ली भौतारिँदै हिड्ने भुस्याहा कुकुरको झैं लाग्यो । प्रतिविम्वित अनुहारलाई थुकें, पुछ्न थालें फेरि । मनमा धुँवाले डेरा जमाउँदै गयो, दिमागले नानाभाती कुराहरु टहल्दै गयो । अनि बिस्तारै आफ्नो कदमलाई ढोकातिर लगें र लागें आफ्नो बाबुको घर ...।

पुग्ने बित्तिक्कै कचकच शुरु भयो आमाको । चुपचाप, भिजेको बिरालो झैं लुसुक्क आफ्नो डेरामा गएँ । कोही कसैसँग बोलचाल भएन । खाना खान बोलायो, मनले मानेन । तरपनि खाना पस्किएपछि नखाउँ अर्को कचकच सुन्छुपर्छ भन्दै भान्छातिर लागें । पस्किएको खानालाई पाचन प्रक्रियामा हाल्न हात उठाउँदै थिएँ । “जहिले यसरी हुन्छ छोरा ? हेर् तँ सँगैको त्यो रामेश्वरको छोरा कहाँ पुगिसक्यो । कत्ति कमाई धमाई छ । अनि त्यो बच्चा बेलामा सँधै स्कुल जान तँलाई लिन आउने सुरजलाई हेर् । आज बाइक लिएर हिँडेको छ । तेरै उमेरका सबैजनाले कत्ति प्रगति गरिसक्यो । अनि तँ भने चैं सँधै यस्तो तालले हुन्छ ?” बुबाको कचकच शुरु भयो ।

यता आमा भन्दै थिइन् “खाने बेलामा त नकराउनु ।” “कराएको हो त ? मैले त सम्झाएको । अनि यि महाशयलाई अरु बेला घर भेट्नै गाह्रो छ, ऐले नभनेर कैले भन्ने ?” बुबाको रिस अझ बढ्दै गयो ।

एक गाँसमा मुखमा थियो त्यो पनि चपाउन मन लागेन । आमा मेरो पक्षमा बुबासँग कराउन थाल्नुभयो, बुबाको रिस सिमाना नाघ्दै थियो । “तिम्रै मायाले पुल्पुल्याएर राख, अनि गर्छ यसले प्रगति । को को कहाँ कहाँ पुगिसक्यो, कस्तो कस्तो प्रगति गरिसक्यो । पल्लाघरे कान्छासाउको छोरा विदेशमा छ । वर्षैपिच्छे लाखौं घर पठाउँछ । हाम्रो भने यस्तो गति छ । के गरि खाला यस्ले ?” बुबाको रिसले अनुहार पुरै डल्ले खोर्सानी खाए झैं भइसक्यो । यता आमा एकशब्द बढी बोल्यो भने बुबा झन् रिसाउनुहुन्छ भन्दै चुपचाप छेवैमा बसिरह्यो, भन्दै हुनुहुन्थ्यो “खाना खा ।”

खानलाई पनि मन चाहियो नि । मनै नभईकन खाएको खाना मुखमा पुगेपनि मेरा यि दाँतहरुले कसरी पो चपाउँलान् र ? मेरो मन, मस्तिष्कले अनुमति नदिएसम्म । उता बुबाको कचकचले कान पाकिसक्यो, यता आमाको मायाले मन पाकिसक्यो । आमाको अनुहार हेर्छु, आमाको मन राख्न खाउँ झैं लाग्छ । उता बुबाको प्रत्येक शब्दले मनभित्र वाँण हानिरहेको छ, लगातार लगातार । अनि मुखैमा भएको एक गाँस चपाउन पनि ढुंगा झैं साह्रो लाग्दैछ ।

“अनि के महाशय ? यसरी नै बित्छ जिन्दगी ? केही काम धन्दा गर्ने विचार छैन ?” प्रश्न गर्न शुरु गर्नुभयो बुबाले । “कि बिहे गर्छस्, बिहे गरेपछि त केही सुद्धी आउँलान् कि तेरो ? हैन भने कि विदेश जाने ? नभए सानो तिनो काम खोज् । यो पाराले तेरो जिन्दगी बन्दैन । सँधै तेई आवारा केटाहरुसँग घुम्दै तेरो पुरै जिन्दगी कट्छ ?” प्रश्नपछि प्रश्न गर्दै प्रश्नको बाढी नै आयो । बाढी थेग्न म सँग केही आधार पनि छैन । त्यहि बाढीमा डुबेर आफ्नो अस्तित्व मेट्न पनि चाहन्छ । के गरुँ ? कसो गरुँ ? को मनसायमा जुरुक्क उठें र लागें आफ्नो बाटो, बाढीको बाटोलाई अर्कैतिर छाडेर ।

“ऊ ऊ ऊ .... केई भन्दै हुँदैन अब गयो” रिसले रातोपिरो भएका बुबा, खाना छाडेर बर्बराउँदै आफ्नो कोठातिर लाग्यो । आमाको आँखाबाट भने पुरै नूनिलो पानीको वर्षात् हुन थाल्यो । पस्किएको खाना पनि नखाई हिँडेकोमा आमा पनि बर्बराउँदै रुन थालिन् । कसरी पो सम्झाउनु, के पो गरुँ ? कुन आधारमा आमाको आँशु पुछ्न जाउँ, कुनै आधार छैन । लाग्न थाल्यो, बाँच्नुको कुनै अस्तित्व छैन । आफ्नो शरीर आफैलाई बोझ लाग्न थाल्यो । मरेरै समस्याको समाधान खोज्ने युक्ति त आयो । फेरि सोचें, थुइक्क म नामर्द त होइन नि ।

रात छिप्पिँदै गयो । टहटह जूनको उज्यालो कोठाभित्र छर्लङ्गै थियो । झ्यालमा आएर बाहिरी दृश्य हेरें, पुरै अन्धकार थियो । मैले आफ्नो फोक्सो पनि त्यस्तै भयो होला भनि सोचें । मनमा अनेक कुराहरु खेल्यो । अब केही गर्नुपर्छ भन्ने मनसाय आयो । अनि फेरि त्यसमै निराशा पनि, गर्ने कसरी ? भन्ने प्रश्नले । बगलीमा भएको एउटा क्यान्सर पाइप निकालें । आफ्नो मनलाई शान्त बनाएँ । भोलिको दिनबाट मैले आफु बाँच्नुको कारण खोज्ने निधो गरें । कुनै सानो तिनो काम गर्ने र कामको खोजीमा हिँड्ने सोच लिएर त्यो मध्यरातमा आफ्नो शरीरका प्रत्येक अंगलाई आराम दिने प्रयत्न गरें । तर, पनि सोच घुमिरहेछ मस्तिष्कमा .... फनफनी फनफनी ।

बिहान सबेरै उठेर बजारतिर लागें । बच्चाहरु पत्रपत्रिका साइकलमा राखेर कुदेको देखें । भन्दै थियो, आजको ताजा खबर आजको ताजाखबर । ताजाखबरको व्यापार गर्दै आफ्नो जिविका गुजार्न बाध्य बालकहरु देखें । अलि पर गएँ, तरकारी बजारमा बिहानैदेखि तरकारीको मोलमोलाई गर्दै रहेछन् त्यस्तै, सातआठ वर्षका बालबालिकाहरु । अभिभावकहरु पनि थिए सँगै । कसैको डोकोभरि गोलभेडा थियो त कसैको डोकोभरी सागपात । बिहानै बिहानै यस्तो दृश्य मैले पहिलो पटक देखेको थिएँ । तरकारी बजारमै बसेर सबैको गुजारालाई नियाल्न थालें । कृषिप्रधान देश भएर हो कि जस्तो पनि लाग्यो, एक क्षण त । सबैजना विभिन्न किसिमका तरकारीको बिक्रि गर्दै आफ्नो जिविकोपार्जन गरिरहेका थिए । उनीहरुको आफ्नो बाँच्ने आधार कृषि रहेछ, यस्तै लाग्यो ।

रिक्सा चलाउनेहरु कसरी आफ्नो रिक्सा भरौं र सामान पुर्याएर पैसा लिउँ भैरहेको देखें । लोकल बसतिर नजर लगाएँ त्यस्तै, कसरी आफ्नो गाडी भरौं भन्ने समस्या पर्दै थियो, गाडीका स्टाफहरुलाई । पत्रपत्रिका बेच्नेहरु नयाँ नयाँ बहाना बनाउँदै पत्रिका बेच्न मस्त थिए । एकजना त मेरो अगाडी पनि आइपुग्यो, भन्दै थियो “ऋतिक रोशनसँग डिभोर्स गरेर सुजेन अर्काेसँग मस्त भनेर लेखेको छ, पढ्नुस् न दाई, एउटा लिइदिनुस् ।” “कत्ति हो ?” मैले सोधें । उसले भन्यो “पाँच रुपियाँ ।” एउटा पत्रिका लिएँ र पढ्न थालें । पाएँ, त्यो केटोले जति भनेको थियो, त्यति नै मात्र लेखेको रहेछ तर त्यही थोरै कुरालाई धेरै अक्षरहरुमा भने ढालेका रैछन् ।

बाटोमा आफ्नो गन्तव्य खोज्दै हिँडे । रसआवर शुरु भए जस्तो लाग्यो । बाटोमा मानिसका चाप देखेर आफुले टेक्नलाई ठाउँ पनि नपाएको महसुस हुन थाल्यो । यता हेर्छु सबका सब हतारमा छन्, उता हेर्छु सबका सब हतारमा छन् । बिहानी शत्रको कलेज छुट्ने, विद्यालय जाने समय, त्यति नै बेला । विद्यालय, कलेज पोशाकका युवायुवतीहरु आआफ्नै समूह बनाएर ख्यालठट्टा गर्दै हिँडिरहेछन् । अफिस जाने प्रत्येकलाई आफु छिटो अफिस पुग्न अरुको वास्तै नगरि कुदिरहेछन् । एकछिन टक्क अडिएँ र चारैतिर नजर लगाएँ । अनि सम्झें, यो संसारको सबैभन्दा फुर्सदिलो मान्छे म पो रहेछु ।

एकजना फुच्चे “दाई एक रुपियाँ” भन्दै आइपुग्यो । लुगा हेरें, कत्ति महिना पो भयो होला नधोएको, सायदै वर्षदिनै पो भयो कि ! नाकमा सिँगानको टाटो त्यस्तै देखिन्थ्यो, लुगा पनि ठाउँठाउँमा च्यातिएको । आफैलाई उकुसमुकुस भएर आयो । चानचुन हेरें, रहेनछ, पाँचको नोट दिएर पठाएँ । ‘यसरी पनि किन जिउँछन् मान्छे, केही काम गरेर खानू नि, यसरी चल्ने जिन्दगी पनि जिन्दगी हो र ?’ झैं लाग्न थाल्यो ।

एउटा पसलमा लागें । रामैं चिनजान थियो । सँगै बसेर चिया पिउँदै गफ्फिन थालें । सोध्यो “अनि के छ त विचार अब ?” मैले भनें “खोई दाई ! म त जिउने आधार खोज्दै हिँडेको ।” उसले सोध्न थाल्यो “पायौ त ?” “कहाँ पाउनु र खै ? सबैजना आआफ्नै तरिकाले जिएका छन्, के गरुँ के गरुँ चै भइराख्या छ” आफ्नो दुःखेसो पोख्दै भनें । “अब के भन्नू र तिम्लाई खै, व्यापार व्यवसाय गर भनूँ भने मेरो पनि उस्तै समस्या भइसक्यो, आज होला छैन भोलि होला छैन, बैंकबाट लिएको ऋणको ब्याज तिर्न पनि धौ धौ भइसक्यो” आफ्नो दुःखेसो उल्टो म माथि पोख्न थाल्यो । आआफ्नो दुःख एकअर्कालाई सुनाउँदै दिन त्यहीँ बित्यो । उसले सुनाएको एउटा कुराले बाँच्ने आधार खोज्न अझै गाह्रो बनायो “मान्छेहरु अरुले यति र उति प्रगति गर्यो भनेर देख्छन् तर तिन्लाई के थाहा र प्रगति गर्दा पनि कत्ति दुःख भोग्यो र प्रगति पछि पनि कत्ति दुःख खाँदैछ भनेर !”

मनलाई प्रश्नको वाणले हान्न थाल्यो । दिमाग चलमलाउन छाड्यो । कछुवा गतिमा घर फर्किएँ, बाटोमा केटाहरु गफ्फिँदै थिए “हैन ओ ... लागम् या विदेशतिर, यो नेपालमा बसेर त खै कैले प्रगति हुने भएन । बाहिर भए आनन्द छ दरो कमाई हुन्छ, यता आएर शानले बस्न पाउँछ ।” अर्काे केटा भने विदेश जान मन नभएर होला, भन्दै थियो “विदेश विदेश भनेर विदेश जाँदै रुखमा फलेको पैसा टपक्क टिपेर आउने हैन क्यार ! विदेश गएर राम्रो ठाउँमा बसी राम्रो कमाई गर्न भाग्य चाहिन्छ ।” उनीहरु वहस गर्दै थियो, विदेश जाने कि नजाने भनेर । एउटा विदेश जान जोड दिँदै थियो र अर्को नजाने पक्षमा, वादविवाद चर्किँदै गयो । “विदेश जाने र नजाने कुरामा किन वहस गर्छौं, मन भए जानू, मन नभएर नजानू तर भाग्यमा छ भन्दैमा डोकोमा दूध राखेर अड्दैन भनेर थाहा नै होला” बीचैमा आफ्नो नायकको भूमिका देखाउन टम्सिएँ म । “हामी बीचको कुरामा तँपाई को ? हामी जेसुकै गरुँ तँपाईलाई के ? जानूस् आफ्नो बाटो” एउटा खाउँला झैं गरेर भन्यो । त्यसपछि, यूवाहरुको रगत तातो हुन्छ भन्दै आफ्नो बाटो लाग्नू वेश लाग्यो ।

बाँच्ने आधार खोज्ने मेरो सोचले आज पुरै शहर डुलायो तर पाइँन । बाटोमा बच्चादेखि बृद्धबृद्धासम्मले आफ्नो जिविकोपार्जन गर्ने अनेकन उपाय देखाए, तर मैले रोज्न सकिँन । न त नराम्रो काम गर्ने सोच आयो न त राम्रो काम खोज्ने सोच । कहीँ कतै गएर पनि आफ्नो भविष्यको बाटो रोज्न सकिँन । पत्रपत्रिका बेच्न जाउँ, बुबाको इज्जतको ख्याल गरें । मागेर खाउँ, हातखुट्टा सबै सद्दे छन् । कुनै तल्लो वर्गको काम गर्न बुबाको इज्जतले नदिने, अनि माथिल्लो वर्गको काम गरौं, अनुभव माग्ने । आजसम्म कुनै काम नै गरेको छैन भने म कहाँबाट ल्याउँ अनुभव ? जन्मिने बित्तिकै त पक्कै आउँदैन । कुनै व्यापार व्यवसाय गरुँ, पूँजी कस्ले दिने ? कुनै पनि क्षेत्र आफ्नो लागि हो भन्ने सोचमै आएन । लाग्छ, एउटा दलदलमा फस्दैछु, आफ्नो शरीरलाई त्यहाँबाट निकाल्न नसक्ने भए झैं । अन्तिम सोच, विदेश जाने आयो तर फेरि त्यही केटाको शब्दले मनलाई घोच्यो, “विदेशमा पैसाको रुख छ र? टपक्क टिपेर आउन ?”

लाचार भएर आफ्ना थाकेका खुट्टाहरुलाई बुबाको घरतिर बढाउँदै थिएँ । घरअघि पुगें, ढोकामै ठेस लागेर लडें । “ऊ .... आफ्नै शरीरलाई ठेगानमा राख्न सक्दैन, के भविष्य बनाउँलान् यस्ले” भन्दै बुबा भित्रबाट कराउन थाल्नुभयो । आमाले मलाई उठाउन मेरो अघि आउनुभयो र भन्नुभयो “बुबाको कुराले मन नदुखाएस्, उठ् अब !” उठ्न खोजें तर सकिन । आफ्नै शरीरको शक्ति कम भएको भान भयो, आफ्नै शरीरलाई उठाउन हरप्रयास गरें, तर सफल भइँन । आमाका दुईहातले मलाई उठाउन खोज्यो, आमाको सहाराले म बिस्तारै उठ्दै थिएँ तर आफैले आफैलाई सम्हालिन सकिँन, लडें फेरि । आमाले “उठ् .. उठ् ....” भन्दै थियो । तर, मेरो शरीर चलमलाउन सकेन, म लडिरहें .... । आमाको स्पर्शले मेरा लाचार नजरहरु आमातिर फर्किए, आमा भन्दै हुुनुहुन्थ्यो, “उठ् अब कत्ति सुतेको ? बिहानको १० बजिसक्यो ।”

No comments:

Post a Comment