Tuesday, February 10, 2015

यात्रा कलेजको... भाग–२

    ‘बल्ल बल्ल भेटियो कक्षा पनि’ भन्दै म कक्षाकोठाभित्र पसें । त्यसपछि एउटा खाली बेन्च छानेर म बसें अनि एकछिनमा शिक्षक आउनुभयो र पढाउन थाल्नुभयो । शिक्षकले हामीलाई अंग्रेजी विषयको अध्ययन गराउँदै हुनुहुन्थ्यो, त्यत्तिकैमा ढोकामा आवाज आयो ‘मे आई कम इन सर ?’ सबैका नजर त्यो ढोकातिर गयो तर मेरो नजर भने ढोकामा उभिएकी केटीप्रति, जसलाई मैले आई लभ यु भनेको थिएँ ।

    शिक्षकको अनुमति पश्चात उनी भित्र आईन् । मेरो छेऊको सिट खाली थियो । त्यसैले मलाई डर लाग्न थाल्यो, कतै उनी म सँगै आएर बसिन् भने । नभन्दै उनले मसँग सोधिन्,‘म यहाँ बस्न सक्छु ?’ मैले केही बोल्न सकिन । मैले उनलाई एकोहोरो हेरिरहें तर, उनी त्यही बसिहालिन् । खै के भनुँ, एक मनले भन्छ उनले मेरो भावना बुझिन्, अर्को मन भन्छ, किन डराएको मि. सुमन । उनी मसँगैको सिटमा थिईन् । मेरो मन उनीतिर बढी थियो, पढाईतिर कम । मेरो मनमा अनकौं कुराहरु शुरु हुन थाले ।

    के सोचिन् होला उनले । जब उनले मलाई बस्नको लागि सोधिन् म अकमक्क परें । अचानक आई लभ यु पनि उनलाई नै भनें अनि फेरि एउटै कक्षा अनि त्यसमाथि पनि एउटै बेन्च । मेरो मन वशमा थिएन, मेरो मन पढाईतिर लागेन । एकतिर डर थियो भने अर्काेतिर लाज । त्यो दिन त्यत्तिकै बित्यो ।

    त्यसपछि, म लगातार कलेज गई नै रहें तर उनीसँग मैले बोल्न सकिरहेको थिएन । उनी मसँगैको सिटमा बस्थ्यो तर पनि हामी बीच कुनै बोलिचाली थिएन । उनी मतिर हेरेर कहिले मुस्कुराउँथिन् त कहिले म उनीतिर हेरेर । हामीबीच मात्रै मुस्कान साटासाट भएको थियो । यहाँसम्म कि हामीलाई त एकअर्काको नाम पनि थाहा थिएन । ए...सरी ! सायद उनलाई मेरो नाम थाहा थियो कि, मलाई त थाहा छैन । म बोल्न चाहन्थे र पनि सक्दिनथिएँ । पहिलो पटक कोही केटीसँग म बोल्न डराएको छु । किन ? त्यो त मलाई थाहा छैन । तर म एकदिन उनीसँग फ्रेन्डसिप गर्छु भन्ने ममा विश्वास थियो । यसरी नै घरबाट आँट लिएर कलेज जान्थे अनि उनीसँगैको सिटमा बस्दै अनि उनको एक हेराईमा भएभरको आँट सबै भुँइमा खसाल्दै बसें ।

    झण्डै झण्डै १ वर्ष भयो । हाम्रो बोर्ड परीक्षा पनि नजिकै आयो । त्यसबेलासम्म पनि हामी बीच बोलीचाली भने थिएन । मैले त उनको अरु साथीहरु पनि कोही देखिन, कक्षामा । सधैं एक्लै बस्थिन् उनी । कसैसँग बोलेको पनि थाहा छैन । कसैलाई देखेर हाँसेको पनि थाहा छैन तर कक्षामा कहिलेकाहीँ मेरो अनुहारतिर हेरेर मुस्कुराँथिन् । कहिले लाग्थ्यो म उनको लागि जोकर भए कि क्या हो ? तर, होईन । यो कुरामा विश्वस्त छु किनकी उनले एकपटक हाम्रो कलेजको स्वागत कार्यक्रम हुँदा सबैजना हाँसेको त्यो नाटकमा उनी एकदम चुपचाप उभिरहेकी थिइन् । त्यसैले उनको लागि म कुनै जोकर होइन भन्ने कुरामा मलाई विश्वास छ ।

    अब मैले उनीसँग साथीको नाता गाँस्नुपर्छ । सायद, उसलाई पनि साथी चाहिनसक्छ । त्यसैले मैले उनीसँग बोल्न अनि फ्रेन्डसिपको नाता गाँस्न भनि आँट लिएर कलेज गएँ । सधैं झैं म कक्षाकोठामा बेन्च बसें । पहिलो कक्षा शुरु भयो तर उनी आईनन् । कस्तो बिडम्बना ? आज त म बोल्छु भनेर आएको झन् उनी कलेज नै आईनन् अब के गर्ने ? भन्दै म बसिरहें । एकछिनमा दोस्रो कक्षाको शिक्षक आउनुभयो अनि उनीपनि शिक्षकसँगै आईन् । मन त हल्का भयो तर बोल्न कुरै आएन । अनि मैले पहिलो कक्षाको बहाना बनाएर ब्रेक टाईममा बोल्छु भन्ने सोचें र पढाईतिर मन लगाए । किनकी दोस्रो कक्षा पश्चात १५ मिनेटको ब्रेक टाईम हुन्थ्यो हामीलाई कलेजमा ।

    ब्रेक टाइम भयो । ‘हेलो ! पहिलो पिरेडमा के पढायो ?’ उनले मलाई सोधिन् । म एकछिन त अकमक्कमा परें । अनि मैले उनलाई जवाफ दिएँ,‘अँ...... खासैं... केही हैन, अलिकति नोट लेखाउनुभएको थियो ।’, ‘के तिम्रो कापी म आज लान सक्छु, प्लिज, यदि तिमी माइन्ड गर्दैनौ भने ?’ उनले भनिन् । अनि मैले ‘हुन्छ, भै हाल्छ नि’ भनें । अनि मेरो कापी लिएर उनले आफ्नो ब्यागमा हालिन् ।

    त्यसपछि कलेज छुट्ने समयमा कक्षा सकाएर उनी आफ्नो बाटो अनि म आफ्नो बाटो लागें । तर, ब्रेक टाइममा जति बोलियो त्यसपछि हामीबीच केही कुराहरु भएनन् ।

    घर पुगेर राति सोच्न थालें । आज बोल्न आँट लिएर गएको थिएँ तर उनी आफै बोलिन् । हरपल हरक्षण किन यस्तो हुन्छ ? हरपल उनले मेरो भावना अनि मेरो मनको कुराहरु किन बुझ्छिन् ? के नाता छ हामी बीच ? न त यो भन्दा पहिले उनले मलाई भेटेकी थिइन् न त मैले उनलाई । आखिर किन यस्तो भैरहेछ ? के यो माया हो ? खैर माया नै भएको भए पनि बोल्ने आँट आउनुपर्ने नि, नत्र कसरी प्रेम प्रस्ताव राख्नु ? यस्तै कुराहरु सोच्दै थिएँ । अर्काे कुरा मेरो मनमा झट्ट आयो,‘ओ.....सेट् ! मेरो सबै भावनात्मक कुरा त्यो कापीको अन्तिम पानामा लेखिएको छ, त्यो पनि उनीसँग जोडिएको कुरा, यदि उनले अन्तिम पानामा हेरिन् भने भोलि त मेरो कलेजमा पोल खुल्छ अनि हामी दुवैको बेइज्जत, फेरि हाम्रो परीक्षामा दोधारमा पर्छ । उनले कलेजमा भण्डाफोर त नगर्लान् तर उनले मलाई के सोच्लिन् ।’

    मेरो परीक्षा बिग्रिए त केही छैन तर उनको बिग्रन भएन । हे भगवान् ! उनलाई त्यो अन्तिम पाना पल्टाउने मन नदिनु । उनले त्यो पाना नहेरोस् । हे भगवान् ! मलाई बचाऊ......।
 
क्रमशः...

– रोबिन/सुमन

No comments:

Post a Comment