सन् १९२० मा राणाकालीन समयमै नेपालमा भित्रिएको क्रिकेटले यस वर्ष विश्वकप प्रतियोगितामा सहभागिता जनाएको छ । सन् १९४६ मा क्रिकेट विकासको लागि क्रिकेट एशोसियसन अफ नेपालको शुरुवात भएको थियो । तत्कालिन समयमा राणाहरुले मात्र खेल्ने गरेको क्रिकेट अन्ततः सन् १९५१ मा राणाशासनको अन्त्यसँगै सर्वसाधारणले पनि क्रिकेट खेल्न पाएको थियो । जसकारण, क्रिकेट एशोसियसन अफ नेपाल, सन् १९६१ मा आएर नेपाल खेलकुद् परिषद्को एक हिस्सा बनेको थियो । राष्ट्रियस्तरमा क्रिकेटको विकास गरिने भनिएपनि सन् १९८० सम्म भने काठमाडौंमा मात्र सिमित थियो । सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को सदस्यता पाएको नेपालले सन् १९९० बाट क्षेत्रीयस्तरमा विभिन्न प्रतियोगिताहरु आयोजना गर्न थालियो ।
सन् १९९६ मा मलेशियामा आयोजना भएको एसीसी ट्रफीमा सहभागिता जनाउँदै पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा खेल खेलेको नेपाल उक्त प्रतियोगितामा चौथो भएको थियो । सन् १९९८ को एसीसी ट्रफीको आयोजना गरेको नेपालले उक्त प्रतियोगितामा भने कुनै उपलब्धी हासिल गर्न सकेको थिएन ।
सन् २००० मा आएर १९ वर्षमुनिको विश्वकपमा सहभागीता जनाएको नेपालले आठौं स्थानमा हासिल गरेको थियो । सोही वर्ष नेपाली सिनियर टोली भने युएईमा भएको आइसीसी ट्रफीको सेमिफाइनलसम्म पुगेको थियो । सन् २००२ मा नेपालले एसीसी ट्रफीको दोस्रो स्थानमा चित्त बुझाएको थियो । सन् २००४ मा पहिलो पटक फस्ट क्लास क्रिकेट खेलेको नेपालले आइसीसी इन्टरकन्टिनेन्टल कपमा पनि सेमिफाइलनमै चित्त बुझाएको थियो ।
सन् २००६ मा म्यानम्यारलाई १० ओभर १ बलमा मात्र १० रनमा समेटेर नेपालले १० विकेटको जित निकाल्दा विश्व चकित भएको थियो । सोही वर्ष मलेशियामा भएको एसीसी ट्रफीको फाइनलमा अफगानिस्तानसँग पराजित नेपालले सन् २००६ को एसीसी प्रिमियर लिग भने जितेको थियो । सन् २००८ मा डिभिजन ५ को वल्र्ड क्रिकेट लिग खेलेको नेपाल अफगानिस्तानसँग पराजित भएपछि सन् २०११ को विश्वकप खेल्नबाट बञ्चित भएको थियो । सन् २०१० मा डिभिजन चारमा उक्लिएको नेपाल सन् २०१२ मा डिभिजन तीनमा उक्लिएको थियो । डिभिजन तीनमा उक्लिन अमेरिका बिरुद्धको खेलमा सुभाष खकुरेल र डेनमार्क बिरुद्धको खेलमा अनिलकुमार मण्डलले शतक पूरा गरेका थिए भने बसन्त रेग्मी म्यान अफ ट टुर्नामेन्ट भएका थिए ।
सन् २०१२ को इलाइट एसीसी ट्रफीको फाइनलमा युएईसँग बराबरी भएपछि ट्रफी बाँडेको थियो । नेपालले सन् २०१३ को एसीसी टीट्वाण्टी कपको फाइनलमा अफगानिस्तानसँग पराजित भएपनि आईसीसी टीट्वाण्टी विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउन सफल भएको थियो । युएईमा छनौट चरण खेलेको नेपालले प्रतियोगितामा तेस्रो स्थान हात पार्दै सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा सहभागीता जनाउन पाएको थियो ।
बंगलादेशमा भएको टीट्वाण्टी विश्वकपमा नेपालले पहिलो खेलमा हंगकंगलाई ८० रनले पराजित गरेको थियो । जसमा, नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हंगकंगलाई ६९ रनमा समेटेर नेपालले ८० रनको जित निकालेको हो । नेपालको तर्फबाट म्यान अफ द म्याच शक्ति गौचनले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए भने बसन्त रेग्मीले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । जुन, टीट्वाण्टी विश्वकपमा नयाँ रेकर्ड समेत हो ।
दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । नेपालले ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । बंगलादेशले २ विकेटको क्षतिमा उक्त विजयलक्ष्य हासिल गर्यो । पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा भने बलिङ पक्षलाई राम्रो बनाउन सकेन, नतिजा पराजित भयो । आइसीसीले टेस्ट मान्यता दिएको राष्ट्रहरुसँग नेपालले खेलेको यो नै पहिलो खेल हो ।
नेपालले विश्वकपको क्वालिफाइङ्ग राउण्डको अन्तिम खेलमा अफगानिस्तानसँग ऐतिहासिक जितको नतिजा निकालेको थियो । हालसम्मको खेलहरुमा सँधै अफगानिस्तानसँग पराजित भएको नेपालले उक्त खेलमा भने ९ रनको जित पारेको थियो । पहिले ब्याटिङ आमन्त्रण पाएको नेपालले ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । जसको लागि सुभाष खकुरेलले ५६ रन बनाउँदै नेपालको तर्फबाट विश्वकपमा पहिलो पटक अर्धशतक बनाउने पहिलो खेलाडी समेत बनेका थिए ।
जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३२ रन बनाउनसक्यो । नेपालको लागि जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । जसकारण, उनी म्यान अफ द म्याच समेत भए ।
क्वालिफाइ समूह चरण ए मा परेको नेपालले दुई खेलमा जित निकाले पनि दुई खेलमै जित हात पारेको आयोजक बंगलादेश नेट रनरेटको आधारमा सुपर दशमा प्रवेश गरेको थियो । जसकारण, नेपाल विश्वकपबाट बाहिरियो । स्मरण रहोस्, नेपालले टीट्वाण्टी विश्वकपमा सहभागीता जनाएको यो नै पहिलो पटक हो ।
नेपालले विश्वकपमा गरेको प्रदर्शन उत्कृष्ट रह्यो । दुई खेलमा जित र एक खेलमा पराजित भएपनि धेरै नेपालीको मन जित्न भने नेपाली क्रिकेट सफल रह्यो । पारस खड्काको कप्तानीमा विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले ब्याटिङ पक्षमा पनि धेरै सुधार देखाएको छ । निर्धारित २० ओभर पुरै खेल्नु नेपालको लागि राम्रो पक्ष हो । आइसीसीबाट टेस्ट मान्यता पाएको बंगलादेशसँगको प्रदर्शनलाई पनि नराम्रो मान्न सकिन्न । नेपालको बलिङ पक्ष त झन् उत्कृष्ट नै देखियो । शक्ति गौचन र बसन्त रेग्मीले नयाँ रेकर्ड समेत कायम गरेका थिए । विश्वकपमा नेपाली क्रिकेट टोलीले फिल्डिङ पनि उत्तिकै राम्रो गरेको थियो भने सागर पुनको फिल्डिङले धेरैको मन जित्न सफल भएको थियो ।
यसका साथै नेपालले हालै मात्र मलेशिया सम्पन्न भएको एसीसी प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेको छ । लिग फम्र्याटमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो । लिग तालिकाको शीर्ष चारमा स्थान बनाउन सफल भएको नेपालले आगामी डिसेम्बर महिनामा युएईमा हुने एसीसी च्याम्पियन्सीपमा समेत सहभागीता जनाउने भएको छ ।
स्मरण रहोस्, एसीसी प्रिमियर लिगमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो भने एसीसी च्याम्पियन्सीपमा समेत पहिलो पटक छनौट भएको हो । त्यस्तै, सन् २०१५ मा हुने आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा सहभागिता जनाउँदैछ ।
सिमित स्रोत साधनमा पनि नेपाली क्रिकेट टोलीले विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो । यसको श्रेय कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत सम्पूर्ण टोली मात्र हैन, प्रशिक्षक पुबुदु दायानायकेलाई पनि उत्तिकै श्रेय जान्छ । यसरी नेपाली क्रिकेट टोलीले एकपछि अर्काे फड्को मार्दै गएको अवस्थामा नेपाल सरकारले खेलकुद विकासको लागि भावीयोजना बनाउनु र पूर्वयोजनाहरु कार्यान्वयन गर्नु अति आवश्यक देखिएको छ । कुनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेवापत सरकारले नगद पुरस्कारको व्यवस्था गरेको छ । तर, यतिले मात्र पुग्दैन । आगामी दिनमा खेलाडीहरु खेलजिवनबाटै बाँच्न सक्ने आधारको निर्माण गर्दै भाविपुस्तालाई खेलप्रति आकर्षित गर्नु नेपाल सरकारको दायित्व समेत बन्दछ ।
नेपालको अन्तर्राष्ट्रिय रेकर्डहरुः
- सन् २००८ को आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ५ मा नेपालको तर्फबाट मेहबुब आलमले मोजाम्बिकबिरुद्धको खेलमा ७ ओभर ५ बलमा १२ रन खर्चेर १० विकेट लिएका थिए । लिमिटेड ओभरमा खेलमा १० विकेट लिने पहिलो खेलाडीबनेसँगै गिनिज वल्र्ड रेकर्डमा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए ।
- सन् २०१२ मा आइसीसी वल्र्ड लिग डिभिजन चारमा मलेशियाबिरुद्धको खेलमा नेपालको तर्फबाट शक्ति गौचनले १० ओभरमा ८ मेडियन सहित मात्र २ रन खर्चेर ३ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा ०.२० को इकोनोमि रेट बनाएर गौचनले नयाँ इतिहास बनाएका थिए ।
- सन् २००६ को एसीसी ट्रफीमा म्यानम्यारलाई १० ओभर १ बलमा मात्र १० रनमा समेटिएको थियो । म्यानम्यारको कुनैपनि खेलाडीले एक रनभन्दा बढी रन बनाउन सकेको थिएन । नेपालले ११ रनको विजयलक्ष्य मात्र २ बलमा भेट्टाएको थियो ।
- एकदिवसीय क्रिकेटमा सन् २००३ मा एसीसी इमर्जिङ नेशन प्रतियोगितामा भुटानबिरुद्ध ८ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । जुन, नेपाली क्रिकेटको हालसम्मको एकदिवसीयमा सर्वाधिक रन हो ।
- टीट्वाण्टी क्रिकेटमा सन् २०१३ मा एसीसी टीट्वाण्टी कप प्रतियोगितामा सिंगापुरबिरुद्ध ५ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । जुन, नेपाली क्रिकेटको हालसम्मको टीट्वाण्टीमा सर्वाधिक रन हो ।
No comments:
Post a Comment