कक्षामा पढाइको कुरामा सबैभन्दा अब्बल भएपनि नजिकको साथी ऊ मात्रै थियो, जिवन । कक्षा ८ मा अर्काे स्कूल छाडेर मेरै स्कूलमा भर्ना भएको थियो । सबैसँग जिस्किने, सबैसँग मिठो बोल्ने । एकदिन जिवन स्कूल नआउँदा सबैबीच चर्चा हुन्थ्यो, उसको । लाग्छ, ऊ स्कूल नआएपनि हामीबीच नै छ । ऊ मेरै बेन्चमा बस्थ्यो तरपनि हामीबीच बोलचाल कमै हुन्थ्यो । कक्षामा सबैले मलाई पढन्ते भनेर चिन्थ्यो, सायद त्यसैले गर्दा होला, सबैले मलाई घुसघुसे भन्थ्यो ।
बिस्तारै बिस्तारै, जिवन मेरो नजिक हुन थाल्यो । उसले नै मलाई कक्षामा अरु साथीहरुसँग घुलमिल हुन सिकायो । साँच्चिकै आज कक्षामा सबैसँग बोल्दा, लाग्छ जिवनले साँच्चिकै मलाई नयाँ जिवन दिएको छ । पढ्नमा अल्छी गर्ने जिवन, प्रायः मेरै कापी लगेर नोट साथ्र्याे । कहिलेकाहीँ अल्छी लाग्छ क्यारे उसलाई, सिधैं मलाई भन्थ्यो, ‘आजको नोट मेरो कापीमा सार्दे न ल ?’ म पनि झर्काे नमानि गरिदिन्थें ।
यसरी शुरु भएको हाम्रो मित्रता आज स्कुले जिवनको अन्त्यसम्म आइपुगेको छ । म आफ्नै गाउँको कलेजमा +२ पढ्ने निर्णय गरेको छु । तर, जिवन शहर जानेछ । परीक्षाको समयदेखि नतिजा नआएसम्मको खाली समयमा हामी सबै साथी घुम्न जाने भयौं । जान त हामी रमणिय ठाउँहरमा घुम्न गयौं तर, कहिलेपनि बिर्सन नसक्ने क्षण जिवनले त्यतिबेला बनायो, जतिबेला उसले कक्षामा भएको सबै साथीहरुको अभिनय गरेर देखाउन थाल्यो ।
उ राम्रो कलाकार थियो, कक्षामा । शुक्रबारको दिन कक्षामा पढाइ नहुँदा, कोही गीत गाउने, कोही चुट्किला भन्ने, कोही कथा सुनाउने गथ्र्याे तर, ऊ मात्र एक यस्तो विद्यार्थी थियो, जो प्रत्येक शुक्रबार एकजना शिक्षकको अभिनय गरेर देखाउँथ्यो । साँच्चै, उस्मा अभिनय गर्नसक्ने क्षमता देखेर हामी सबै छक्क पथ्र्याै ।
सँधै शिक्षकशिक्षिकाको अभिनय गर्ने जिवनले आज हाम्रै बानीव्यहोरा, चालचलन, हाउभाउ हामीलाई नै अभिनय गरेर देखाउन थाल्यो । हामीबीचको मित्रता झन् गाढा हुदै गयो ।
बिदाको समय सक्कियो । नतिजा पनि आयो । स्कुलबाट विशिष्ट श्रेणीमा मसँगै अरु ३ जना उत्तीर्ण भयौं । जिवन, पहिलो श्रेणीमा उत्तीर्ण भयो । मैले उसलाई सहानुभूति देखाउँदै भनें, ‘प्रथम श्रेणी पनि ठीकै हो नि, हरेक नखा ल । अनि शहर गएर मलाई नबिर्सिएछ ।’ यस्तो सहानुभूति देखाउने मू्र्ख मै हुँला, ऊ ‘साले ! तेरो २% मलाई देको के बिग्रिन्थ्यो ? ठीकै +२ मा तेरो भन्दा ४% बढी ल्याइन भने पख्लास्’ भन्दै मुस्कान भरिएको ओठले मलाई बधाई दिँदै थियो ।
भोलि जिवन शहर जाँदैछ । अनि, म कलेजमा बुझ्नको लागि । रातभर निन्द्राले छटपटाइरहेको थिएँ । मनमा उकुसमुकुस, उथलपुथल, खै के के हो के के । मात्र, जिवनको यादले सताउन थाल्यो । सँगै शहरमा गएर पढ्न रहर नभाको त कहाँ हो र ? तर, मेरो आर्थिक अवस्थाले दिँदैनथ्यो । रातभर रसाएका आँखा लिएर, बलेको मैनबत्तीलाई साथ दिँदै, कतिबेला भुसुक्कै निदाएछु ।
मैनबत्ती सक्किएर, आगो टेबलमा सल्किएछ । आगोले बिस्तारै घर पुरै भ्याउन लागिसकेछ । जब आफूले ओढेको सिरक बढी तातो भयो, बल्ल निन्द र होस दुवै खुल्यो, हेरें आगोले पुरै घेरिसकेछ । न माटोको घर, न ढलान गरेको घर । बाँस र काठको एउटा छाप्रोमा खरको छानो लगाएका थियौं, बाबा र मैले । आमाले म सानैहुँदा छाडेर जानुभयो । बाबा र म यही खरको छानोमा ओट लागेर बसेका थियौं । बाबाको परिश्रममा मैले पढेको थिएँ । आज आफूलाई पढेको मान्छे भन्न पनि लाज भएर आयो । आगोले क्षणभरमै सबै धुँवा बनेर उडायो, खरानी बनाएर माटोमा मिलाइदियो । बाबाको आँखामा आँशु रोक्न सकिनँ ।
सूर्यको पहिलो किरणसँगै सबै उजाड देखें । न त्यहाँ बाँस थियो न कुनै काठ, कुनै कपडा । खरको छानो, सुकेको बाँस अनि सुकेको काठ, बल्न कति नै बेर लाग्छ र, त्यो पनि छाप्रो । बचेका केही थियो भने फलामका भाँडाकुँडा, सिलाबरका भाँडाहरुपनि कच्याककुचुक थियो । आफ्नो गल्ती सम्झिँदै आफृुले आफैलाई गाली गर्नु सिवाय केही बाँकी थिएन ।
आफ्नो जिवन पुरै सक्केको आभाषमा पीडा पोख्दै थिए, मेरो आँखाहरु । बाबासँगको अंकमालमा झर्दै बग्दै थिए, आँशुका नदीहरु । परबाट देखें, आफ्नो जिवन, मेरो साथी जिवन । हस्याङ्गफस्याङ्ग गर्दै आयो । हुत्तिएर गएँ, आँशुको नदीको वेग बढ्दै गयो । जिवनको आँखामा आँखा जुढाउन सकिँन, जिवन ..... जि...वन.... । वश्! नाम मात्र लिन पनि गाह्रो भयो ।
उसको हातले मेरो हात थाम्दै, उसले सोध्यो, ‘सबै कुरा जलेको हो र ?’ मैले भनें, ‘छैन, यार । वश् बाबा र म बाँचेको छु ।’ तब उसले जोडले मलाई अँगालोमा च्याप्दै भन्यो, ‘अनि किन हरेश खान्छस् त ? के नै पो जलेको रैछ र ?’ वश्! यही वाक्यले हौसला थप्यो । (सन्दर्भः मित्रता दिवस)
@nprowin007
No comments:
Post a Comment