Tuesday, February 10, 2015

मेरो भ्यालेन्टाइन डे (भान्टाड्डभुन्टुड्ड डे)

    हिजो राति अबेर घर पुगें, मनमा अनेकौं कुराहरु खेलाउँदै,“भोलि त भ्यालेन्टाइन डे, म सँग एक पैसा पनि छैन, कसरी उनीसँग घुम्न जानु, उनलाई खर्च गर भनुँ त्यो पनि हुँदैन, के गर्ने होला ?” यस्तै यस्तै कुराहरु मनमा खेलाएर म घर पुगें । बेलुकीको खाना पछि म आफ्नो ओछ्यानमा पल्टिएँ र सोच्न थाले,“भोलिको दिन म के गरुँ ?, अरु सबै जोडी कहाँ–कहाँ घुम्न जान्छन्, के के खान्छन्, कोही त पार्टीमा जान्छन्, आफुसँग त फुटेको कौडी समेत छैन, के गर्ने ?”

    भोलिको दिनको शुरुवात – मध्यरात १२ बजे नै मलाई फोन आयो,“ह्याप्पी भ्यालेन्टाइन डे” अनि मैले पनि भने,“ह्याप्पी भ्यालेन्टाइन डे टु यु” यसरी सुरु भयो, मध्यरातमा हाम्रो कुराकानी । उनले मलाई सोध्न थालिन्,“सुनन, भोलि हामी कहाँ जाने घुम्न ?” एकछिन म अडिए र सोच्न बाध्य भएँ । त्यसपछि मैले कुरा घुमाए,“यति राती धेरै लामो कुरा नगरौं, भोलि बिहानै भेटौं अनि त्यहीबेला सोचौला अनि कतै जाऔंला नि हुन्न” । त्यसपछि उनले पनि “ठीकै छ” भनेर फोन राखिदिइन् । त्यसपछि म फेरि सोच्न बाध्य भएँ....।

    “भोलि घुम्न जाने कुरा त उनले गरि सकिन् अब म के गर्ने ?” म एकदमै दोधारमा परें । अनि, जेसुकै होस् भोलिको दिन आओस् अनि सोचौंला भनेर म निदाउन तिर लागें । भोलिपल्ट बिहान ६ बजे उठें । मैले आफ्नो सबै नृत्य कर्म सकाएँ, अनि अलिक राम्रो बनेर बाहिर जान लागेको मात्र थिए त्यत्तिकैमा आमाले सोध्नुभयो,“कहाँ जान हिँडेको ?” । मैले भने,“बाहिर हिड्ने बेलामा सोध्नु हुन्न रे, अब मेरो आजको दिन के हुने हो ?” अनि आमाले भन्नुभयो,“ल ल आजको के भ्यान्टाइन÷स्यान्टाइन दिन हो रे, हुनेवाला बुहारीलाई भेट्न जान लाग्या होला हैन ?”, “थाहा रै’छ त, सोधिराख्नुपर्ने जरुरी नै थिएन” मैले भनें । अनि आमाले केही रकम दिनुभयो,“ल धेरै चाहीँ खर्च नगर ।” मैले खुशी साथ आमाले अँगालोमा कसें अनि भने,“यु आर जिनियस मम, लभ यु ।”

    त्यसपछि म हतार हतार उनलाई लिन भनी उनको घरमा गएँ । उनी बिरामी रहिछिन्, क्या बोर । अनि मैले सोधें,“के भयो राती फोन गर्दासम्म त ठीकै थियो ।”, “बेलुका लोडसेडिड्डको समय थियो, हतार हतारमा ट्वाइलेट जान भनी उठेर लाइट खोज्ने भएको, ¥याकमा ठोक्किएर ¥याकको माथि भएको सामान सबै खसेर मलाई लाग्यो अरु त केही भएको छैन, मात्र हात मर्किएको छ ।” यस्तो अवस्थामा कसरी आफ्नो प्रेमिकालाई घुमाउन लानु त ? भनी म निराश भएँ । उनी आफ्नो बेडमा आराम गरिरहेकी थिइन्, म उनको सामु निराश मुद्रामा थिएँ । उनले मलाई भनिन्,“किन निराश ? के भयो ? यदि तिमी भन्छौ र चाहन्छौ भने म बाहिर जान सक्छु, त्यत्ति धेरै त कमजोर नठान न मलाई ।”, “भयो भयो तिमीलाई आरामको जरुरत छ, आराम गर, अरु कुनै दिन म तिमीलाई लान्छु, घुमाउन” मैले निराश मुद्रामा उनलाई भनेंं । यसरी नै कुराहरु चल्दै जाँदा उनले मलाई सोधिन्,“साँच्चै आज तिम्रो प्लान के थियो ?”, “खासै केही थिएन्, त्यही हाम्रो मनपर्ने ठाउँमा जाने विचार थियो ।” यसरी मैले आजको योजना के के थियो सबै उनलाई भने । सबै योजना मैले उनलाई सुनाइसकेको मात्र के थिएँ, उनले मलाई भनिन्,“उल्लु, बुढ्ढु, तिमी जस्तो त कोही छैन, मैले त गफ पो दिएको, ल हिँड कहाँ जाने भनेको थियो, त्यही लग...., मलाई केही भएको छैन, तिम्रो प्लान थाहा पाउन नाटक मात्र गरेकी हुँ ।” म अकमक्कमा परें, मुस्कुराउँदै भने,“तिम्रो यो बानी कहिले पनि नछुट्ने भयो हैन ।” त्यसपछि हाँसोमय वातावरणले त्यहाँ प्रवेश ग¥यो ।

    अनि उनी पनि चिटीचट्ट परिन् र हामी बाहिर निस्कियौं,“ल त ममी, हामी गयौं ।”,“राती अबेरसम्म बाहिर नबस है, चाँडै फर्केर आऊ” उनको आमाले भनिन् । “ल ल हुन्छ” दुवैले एकैस्वरमा भन्यौं ।

    त्यसपछि हामी दुवैलाई एकदमै मनपर्ने स्थल, एक्लो डाँडामा गयौं । जुन स्थान एउटा डाँडाको चुुचुरामा रहेको छ र जहाँबाट चारैतिरको वातावरण हेर्दा लाग्छ कि म नै सबैभन्दा माथि रहेछु । हरियाली वातावरण, सिरसिर हावा, एकान्त, कुनै पनि किसिमको ध्वनि प्रदुषण, वायु प्रदुषण केही पनि छैन, एकदमै राम्रो ठाउँ, त्यसमाथि प्रणय दिवस र साथमा प्रेमिका । हामीबीच हाम्रो बिगतका अनि वर्तमान र भविष्यका कुराहरु चलिरहेथ्यो । कहिले उनले मलाई उल्लु बनाउँथ्यो त कहिले म उनलाई । यसरी हाँसोमय वातावरण बनाई हामी भ्यालेन्टाइन दिन मनाइरहेका थियौं । अनि हामी दुवैजना अनेकौं कुराहरु गरेर त्यहाँ हामीले करिब ४–५ घण्टाको समय बितायौं । त्यसपछि हामी घरतिर फर्कियौं, घर फर्किंदा बाटोमै पर्ने रेष्टुरेन्ट (जहाँ हामी प्राय सधैं जान्थ्यौं) मा गयौं र मःम, चाउमिन, फ्राइराइस अनेक चिजहरु खायौं, बेलुका घरमा गएर केही खानै नपर्ने गरी । यसरी हामी साँझसम्म अनेकौं कुराहरु गर्दै हाँसोमय वातावरणमा हराइरहेका थियौं ।

    त्यसपछि साँझको बेला भयो, छुट्ने समय । म उनलाई पु¥याउन भनी उनको घरसम्म गएँ । उनको आमाले भन्नुभयो,“खाना खाएर जानु न, फेरी कहिले हो कहिले तिमी आउने, कत्ति बीजी हो ?”, “ल ल हुन्छ भैहाल्छ नि” मैले भनें । त्यसपछि उनको घरमा सबैजनासँगै बसी कुरा गरिरहेका थियौं । बेलुका करीब ९ बजेतिर म आफ्नो घर फर्किएँ, खाना खाएर जानु भन्दै थियो, मात्र चिया एक कपमा सकाएर भागें ।

    यसरी म अनेकांै कुराहरु मनमा खेलाउँदै घरतिर फर्किदै थिएँ । जब म आफ्नो गाउँमा आइपुगे मलाई एउटा कुकुरले लखेट्यो, म दौडिए......। अन्जान ठाउँहरुमा म पुगें, थाहा छैन म कहाँ पुगें, त्यत्तिकैमा मेरो मोबाइलमा फोन आयो,“अँ भन किन फोन गरेको” मात्र के भनेको थिएँ, म परे एउटा ठूलो खाल्डोमा झ्याम्म....।

    त्यसपछि म ब्युझिएँ....। बिहानको ८ बजिसकेछ । साँच्चिकै, उनकै फोन पो आएको रहेछ, मैले उठाएँ । उनले भनिन्,“कता हो मान्छे आउने बेला भएको छैन ?” अनि मैले भनें,“ल म १ घण्टा भित्र तिम्रो घरमा आइपुग्छु, म हिँडें ।”

(मिति २०६७ फाल्गुण २ गते सोमबार ‘भ्यालेन्टाइन डे” को विशेष अवसरमा काभ्रे जिल्लाबाट प्रकाशित ‘हाम्रो ईन्द्रावती साप्ताहिक” पत्रिकामा प्रकाशित ।)

No comments:

Post a Comment