Wednesday, February 11, 2015

यात्रा कलेजको... भाग – ५ (अन्तिम)

    ‘एक्स् क्युज मी !’ मैले भनें । उ म तिर फर्की र सोधि, ‘यो राजको कोठा हैन ?’ ‘हैन त, यो त मेरो कोठा हो, राज त यसको ठीक माथिको कोठामा बस्छ’ मैले भने । अनि उनी आश्चर्यचकित भईन् । उनी हत्त न पत्त माथिको कोठामा हुईकिएर गईन् । त्यसपछि म आफ्नो कोठा बन्द गरेर परीक्षाको तयारीमा लागें ।

    एकछिनमा फेरि ढोका ढकढकायो । अनि मैले ढोका खोले लगत्तै उही युवतीले भनिन्, ‘सरी ! ल दाई, मैले राजको लागि भनेर लेखेको पत्र तपाईलाई परेछ, सबै पत्र फिर्ता गर्न सक्नुहुन्छ ?’ अनि मैले उनको सबै पत्रहरु विना संकोच फिर्ता गरें र उनलाई भनें,‘अबदेखि राम्रोसँग हेरेर मात्र पत्र पठाउनु है !’

    केही दिनपछि........।

    नभन्दै आज बोर्ड परीक्षा पनि आईसक्यो । प्लस टु पनि सकिने भयो । उनी कलेज आएकी छैन, परीक्षा त दिन आउलिन् कि ! सायद । जे होस्, एकचोटी मात्र भेट्न पाएको भए पनि मेरो मन कति खुशी हुने थियो । यदि उनी परीक्षा दिन आईन् भने पनि म बोल्न सक्छु र ? सायद बोल्न पनि सक्छु होला । बोल्न नसकेपनि एक नजर हेर्न पाए पुग्छ मेरो मनलाई, म त्यही क्षणलाई जीवनभर सम्झिएर बसुँला । यस्तै–यस्तै कुराहरु मनमा लिएर म परीक्षा दिनजानको लागि कलेजतिर लागें ।

    कलेज पुगें । उही हाउभाउ..... सेतो रङ्गको पहिरन, लामो सिल्की कालो कपाल छाडेको, पछाडीबाट हेर्दा उस्तै लाग्यो । म उनको नजिक जान लागेको थिएँ त्यत्तिकैमा घण्टी बज्यो...उनी कता हराईन कता, म आफ्ना कक्षातिर लागें । फर्कंदा भेट्छु भनेर चाँडै निस्केर गेटमा बसें तर पाइन । यसरी नै अरु परीक्षाका दिन पनि बिते । अन्तिम दिन..... जसरी पनि भेट्छु । त्यो केटी उनी नै हुनुपर्छ भनेर म परीक्षा १ घण्टा अगावै छाडेर गेटमा गएर बसें । सबैजना परीक्षाहलबाट बाहिर निस्किए, तर उनी आईनन् । त्यसपछि म आफ्नो बाटो लाग्न खोजें, त्यत्तिकैमा मैले एकजोडीलाई एउटा कक्षाको ढोकामा बसेर गनथन गरिरहेको देखें, त्यो केटा उही थियो जसले उनीसँग के कुरामा हो झगडा गरेको थियो । अनि नजर अलि तेज बनाएर हेरें, त्यो केटी उनी नै रहिछिन्.....।

    त्यसपछि मैले सोचें, म किन उनीहरुको बीचमा जानु भनेर आफ्नो बाटो लाग्न थालें । त्यत्तिकैमा उनी भएतिरबाट आवाज आयो, ‘सुमन.....सुमन....!’ मैले आफ्नो नजरलाई फर्काइन, किनकी उनीहरु बीचमा म किन परुँ ? उनीहरुको मामलामा म किन फसुँ ? भन्दै म आफ्ना कदमलाई अगाडी बढाउन थाले । त्यत्तिकैमा मलाई कसैले पछाडीबाट हातले पित्यो, पिट्ने उनी रहिछिन् ।

    मैले देखें, उनको आँखामा आँशु बाहेक अरु केही थिएन, उनको नजर मतिर झुकिएको थियो, उनी बोल्न चाहिरहेकी थिइन् तर सकिरहेकी थिइनन् । उनको यो अवस्था देखेर मेरो माया बढ्न थाल्यो । उनी बोल्न खोज्दाखोज्दै बोल्न सकिरहेकी थिइनन्, अनि  उनले एक्कासी मलाई अंगालोमा बाँधिन् र भनिन्,‘आई लभ यू टु ।’

    म अकमक्क परें । अनि उनले मतिर हेरेर आफ्नो नजर झुकाइन् । त्यो केटा आयो र उनलाई फेरी झपार्न थाल्यो । अनि उनले भनिन्,‘म सुमनलाई माया गर्छु, तिमीलाई हैन, म सुमन बिना बाँच्न सक्दिन, ऊ कलेज नआएकोले म पनि कलेज नआएको हो, मलाई थाहा थियो कि परीक्षा दिन उ आउनेछ भनेर त्यसैले म पनि परीक्षा दिन आएको, अब आइन्दा मेरो पछि लाग्ने हैन ।’ त्यति भनेपछि त्यो केटा आफ्नो बाटो लाग्यो । अनि हामी दुवै कुरा गर्दै एकान्त भएतिर लाग्यांै ।

    उनले भनिन्, ‘तिमीले मलाई मन पराउने कुरा किन नभनेको ?’, ‘कसरी भन्नु आँट नै आएको थिएन त्यसमाथि अहिलेसम्म मलाई तिम्रो नाम पनि थाहा छैन’ मैले भनें । उनको हाँसोको सिमा नै रहेन कारण मलाई उनको नाम नै थाहा थिएन् । मैले पनि हाँसो थाम्न सकिन र एकैसाथ हाँस्न थाल्यौ । अनि उनले हाँस्दै हाँस्दै आफ्नो नाम मलाई बताइन् । यसरी नै हामीबीच एकअर्काको बारेमा धेरै कुराहरु साटासाट भए । बेलुकीपख घर फर्किने क्रममा उनले मलाई मसँग लुकाएको एकमात्र कुरा छुट्ने बेलामा भन्छु भनेको थियो । सोही अनुसार हामी छुट्ने ठाउँमा आइपुग्यौं । म उनलाई बस चढाउन भनी बसपार्कमा गएँ । उनी बसमा चढिन् र बसको झ्यालमा आएर म भएतिर आएर कुरा गर्न थालिन् ।

    मैले सोधें,‘के हो तिमीले मसँग लुकाएको कुरा भनन ।’ बस गुडेपछि मात्र भन्छु भनेर जिद्दी गरिन्, उनले । करीब १० मिनेटपछि बस गुड्यो.....। बस अलिकति गुडेपछि उनी मतिर फर्किन् । म पनि त्यो कुरा सुन्नको लागि उनीतिर फर्केको थिएँ । बस अझ अलिक पर पुगेपछि उनले मलाई भनिन्, ‘मैले तिम्रो कापीमा लेखेको सबै भावनाहरु पढेको थिएँ, सरी फर ड्याट एण्ड आई लभ यु सुमन......!!!

समाप्त
(यस कथा तथा पात्रहरु काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

No comments:

Post a Comment