बिहानीपखको सुर्यको स्पर्श मलाई सँधै मिठो लाग्छ । त्यही किरणसँग मैले कैयौं समय बिताएको छु, तर आज केही फरक महसुस भइरहेछ । किन किन आज घामको तापले त्यति न्यानोपन दिन सकिरहेको छैन । सबै सँधै एकैनासको कहाँ पो हुन्छ र ? यसैमा चित्त बुझाएँ र राजधानी जाने तयारीमा लागें ।
उही त हो, लोकल बस अनि अफिस टाइम् । मसँगै बसस्टपमा कुरिरहेथे, कोही बनेपा, कोही साँगा, कोही भक्तपुर त कोही राजधानी छिर्नको लागि । ऊ बेला बुढापाकाले भन्ने गरेको नेपाल, म पनि धेरै समयपछि जाँदै थिएँ । बसस्टपमा धेरै किसिमका मानिस देखें, लठ्ठी टेक्दै गरेका बुढापाका, जो भीड गाडी चढ्न नसकी खाली गाडीको पर्खाइमा थियो । स्कुल कलेज पढ्ने युवतीहरु गाडी रोक्ना साथ चढ्न आतुर भएर पखाईमा थियो भने युवाहरु गाडीको ढोकैमा भएपनि झुण्डेर यात्रा गर्न बाध्य थिए । आइमाइ, केटाकेटीहरु सके चढ्ने, नसके अको पर्खने । आएको गाडी छोड्नुपर्दाको पीडा उसैको अनुहारले बताउँथ्यो, कि उसलाई कति ढिलो भइसकेको छ । अनि ठेलम्ठेल गरेर भित्र जाँदा भने पीडा बिर्सेर उसको मुहारमा हाँसोले ठाम् ओगट्छ । यसरी म पनि ढोकामै झुण्डिन विवश भएँ ।
हात फतक्क गल्यो । पैसा उठाउने सहचालक त परिन नि झुण्डेरै यात्रा गर्नलाई त । ढोकाबाट आवाज आयो, “अलि भित्र जानुस् न, एक पाइला ।”
एकातिरबाट सुनियो, “यो भिन्दा भित्र काँ जानु ? ठाउँ छैन ।”
फेरि ढोके आवाज, “उ त्याँ छ नि (नभएको ठाउँ देखाउँदै) एकपाइला सर्नु न, ढोकामा धेरै भयो ।”
कुन्नि कताबाट आवाज आयो, “भाई पछाडी ढोका राख्नु, अगाडिबाट चढ्दै पछाडीबाट झर्दै गर्छन् ।”
बस रोकियो । ढोकामा भएकालाई नि ठेल्दै अर्काे एकजना कोच्न थाले, भन्दै थिएँ, “दाई अलि भित्र जानुस् न । दिदी अलि उता सर्नुस् न ।”
यो अवस्थाले लाग्यो, यी सवारीका कर्मचारी कस्ता ? यात्रुजति सबै गुन्द्रुक हुन् र ? अचार बनाउन कोच्या ? नभा ठाउँमा कसरी सर्नु ? ठाउँ नहुँदा नहुँदै पनि एकजना चढाउन गाडी रोकि भित्र जानु भन्ने कस्ता ? यावत् प्रश्नले मेरो मनमा बिझिरह्यो ।
बल्ल तल्ल ढोकाभन्दा केही पर पुगें । कुन चाहिँको हिलले कुल्चियो र भनें, “दिदी तपाइको हिलले कुल्च्यो ।”
माफ मागेर खुट्टा सार्नु त कता हो कता, “नीजि कार हो र नकुल्चिन ?” भनेर उल्टै आँखा तर्दै अलिक पर छिचोल्यो ।
बनेपा आइपुग्दा नपुग्दै ढोके आवाज फेरि आयो, “काठमाडौं जाने मात्र बसौं है, झर्नेले हातहातमा पैसा बोकेर आम् ।”
लाग्छ आफु चढेको बसलाई जति हतार अरु कसैलाई पनि छैन । करीब आधाजति यात्रु बनेपामै ओर्लिए । सिट खाली भयो । महिला र अपांग सुरक्षित सिटमा आफू के बस्नु भनि पछाडी गएँ । तर वास्तविकता खाली सिट कसले पो छाड्थ्यो र ? आफूलाई अन्तिम क्याबिन सिट मनपर्ने भएर पो पछाडी गएको त ।
आफूभन्दा अगाडि एकजोडी आएर बस्यो । मुहारमा चमक थियो, लाग्योः भर्खरको नयाँ जोडी रैछ । बस अलिक पर गुड्यो, अनि रोकियो । एकजना झ्याप मुडमा बोल्दै आयो,
“विश्वास नगर, एकअर्काको विश्वास नगर (केटीतिर इंगित गर्दै भन्यो) धोका दिन्छे यसले, धोकेवाज हो केटीहरु, बेलैमा होस् गर धोका पाउँलास् ।”
दुवैको अनुहार रातोपिरो भयो । झ्याप मान्छे गाडीबाट ओर्लियो । ती जोडी हेराहेर भए । केटाले सोध्यो, “को हो चिन्छौ ?”
केटीले भनिन् “अहँ चिन्दिन ।”
आखिर को रैछ त्यो मान्छे, गाडीमा कसैले पनि चिनेन । तर, अगाडीबाट आवाज आयो, “कुन केटीले धोका दिएर यो हाल भाको होला यसको, त्यही भएर जोडी देख्नै नहुने भएर होला ।”
आ... जे होस् भन्दै बगलीबाट हेडसेट झिकें र सुन्दै बाहिरको दृश्यमा आँखा भिजाउन थालें ।
पैसा उठाउँदै आयो, सहचालक । सहचालक त भन्न नमिल्ने हो, तर पनि यहाँ सहचालक बाहेक अन्य शब्द प्रयोग गरेमा फेरि मानहानी हुन सक्ला ।
“कहाँसम्म हो ?”
“सुर्यविनायक” जोडीमध्येको केटाले बोल्यो “कति हो ? कार्ड छ ।”
“१२ रुपिँया एकजनाको”
५० को नोट झिकेर दियो । सहचालक २० र ५ को नोट फिर्ता दिँदै “चानचुन छैन ल” भन्दै मतिर बढ्यो ।
“कहाँसम्म ?”
“रत्नपार्क, कार्ड छ, कति हो ?” एकैपटकमा सोधें ।
“२७”
यताउता सबै हेरें चानचुन रैनछ मसँग, २० र ५ को नोट दिएर भनें “चानचुन रैनछ २५ ले हुन्न ?”
“हुन्न दाई, चानचुन होला हेर्नुस् ।”
पर्सदेखाउँदै भनें, “पाँचसय र हजारको मात्र छ । २५ ले भैहाल्छ नि ।”
“कहाँ हुनु ? हुन्न । बरु ५ सय दिनुस् म साटिदिन्छु ।”
उसले ५ सयकै नोट साट्यो ।
दिनुपर्दा १ रुपिँयालाई चानचुन सम्झेर छैन भन्नेले २ रुपिँयाको लागि मेरो ५ सयको नोट साट्यो । यस्तो छ व्यवहार, बसस्टाफहरुको । धन भनेपछि महादेवको तीन नेत्र खुदल्छ भन्ने कुरा यहाँ साबित भएँ झैं लाग्यो ।
सम्झिएँ, ऊ बेलाको बाजेको कुरा । २ रुपिँया बोकेर नेपाल गएको । खाना र खाजामा ५० पैसा सकियो रे अनि एकरात उतै बिताउन १ रुपिँयामा कोठा पाएको रे । भोलिपल्ट फर्किँदा साँगामा पुगेर २० पैसाको टन्न पेटभरि दहीचिउरा खाएका रे । फर्किँदा ३० पैसा बगलीमै फर्कियो रे । यस्तो छ परिवर्तन.... आफ्नै बाजे र नातिको समयमा, गर्ने के ?
शहिदगेट मै झरें । न्युरोड हुँदै बसन्तपुर दरबार लागें । बाटोमा हर्नको आवाजले कान पाक्यो, धुँवाले नाक खिरायो, अनि बाटोमा आम्माम्मा के सारो छोटो लुगा हो, सेता सेता साप्रा टलक्क टलक्क टल्किन थाल्यो । शहरीकरणले बाटोमा हिँड्न गाह्रो भएको अवस्थामा यी आँखामा छारो हाले । तरुनीलाई म सँधै आँखाको छारो भन्ने गर्छु, किनकी आँखामा बिझाइहाल्छन्, के गर्नु ?
पश्चिमी मुलको फेशनको बढ्दो विकासले गर्दा होला, बाटो हिँड्दापनि केटीहरुतिर आँखा लान गाह्रो भो । कोही सेता साप्रा तेस्र्याउँदै त कोही वक्षस्थलको उँभो भाग देखाउँदै । आम्माम्मा चस्मा कस्तो हो ? आँखा भन्दा त कति ठूला कति, नापेर साध्यै छैन । त्यो त भयो भयो, एउटी पहेंलो पोशाकमा स्कुटी पिँपपिँप पार्दै आउँदै थिइन्, अगाडी परेको थें म । स्कुटीमा कति छोटा लुगा लगाका ए, हावाले फर्लक्क पार्यो भने सत्यानाश । के भका आजकालका तरुनी ??
बसन्तपुर, असन हुँदै भोटाहिटीबाट रत्नपार्क फर्किएँ । सबैठाउँको काम सकेर आउँदा करीब ५ बजेको थियो । आकाशे पुलमा थिएँ, हेरें एकछिन काठमाडौं शहर । बाटोमा चिल्ला चिल्ला गाडी गुडिरहेथे तर त्यही गाडी गुड्ने बाटोमाथि रहेको पुलमा असहाय, अशक्तहरु १÷२ का सिक्का र ५ का नोटसँग रमाइरहेका थिएँ । बाटोमा हेरें सबका सब हतारिरहेछन्, रोडमा हेरे उस्तै गतिमा सवारीसाधन ।
मौनतासँगै रत्नपार्क आइपुगें । प्यास लाग्यो र पानी किनें, मिनरल वाटर बोटलको रु.२० । पानी समेत किनेर खानुपर्ने अनि मल निकाल्न पनि पैसै तिर्नुपर्ने, ए काठमाडौं । पानी एक घुट्को पिएँ, थोरै प्यास मेटे झैं भयो, दोस्रो घुट्को लगाको .... सबै बाहिरै निस्कियो, के साह्रो तीतो पानी हो । तीतपाते नै मिसाए झैं, बोटलै फ्याँकिदिएँ ।
रत्नपार्कमा एकजना भन्दै थियो “बनेपा पनौती एक्सप्रेस बीचमा ओर्लने नचढ्नु ।”
चढ्न लाको थिएँ सोधिहाल्यो, “कहाँ ?”
“बनेपा” मैले भनें ।
बाटो छाडिदियो ।
बिस्तारै घामको मधुरो किरणसँगै दिनभरिको पसिनाको गन्धलाई साथमा लिएर राजधानीलाई बाईबाई गर्दैथिएँ । कोटेश्वरबाट गाडी भीड भयो । उभिएकी तर अलिक बिरामी जस्ती देखिने केटी आएर सिधै मलाई आग्रह गरिन्, “दाई मलाई अलिक गाह्रो भयो, झ्यालपट्टी छाडिदिनुहुन्छ ?”
“बिरामी जस्तो देखिन्छौं नि ! के भयो ?” मैले भनें ।
“अँ अलि अलि ।”
मैले सिट छाडिदिएँ ।
सिटमा बसेपछि पर्सबाट मोबाइल झिकेर चलाउन थालिन् । ओर्लने ठाउँसम्म उनलाई लिनको लागि कसैलाई बोलाउन फोन गरेकी होलिन् । बिरामी छिन् उनी, त्यसैले भन्ठानेको के खाएर हुन्थ्यो, फोनमा त मज्जाले हाँसी हाँसी बात मार्न थालि भन्दै थिई, “मैले सिट पाएँ ।”
समाप्त
No comments:
Post a Comment