आजको वैज्ञानिक युगमा पनि वितेको सात महिनामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पत्ता लगाउन सकिएको छैन । विश्वमा करोडौंको संख्यामा संक्रमित भइसकेका छन् भने लाखौंको संख्यामा मानिसहरुको मृत्यु समेत भइसकेको छ । यस्तो अवस्थामा नेपालमा हाल बन्दाबन्दीको अवस्था भएपनि विश्वको तुलनामा नेपालमा संक्रमण नियन्त्रण र रोकथाममा सफलता पाउन सकेको छैन |
Add caption |
कोरोना भाइरस के हो ?
आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस भनी नामाकरण गरेका हुन् ।
भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो । चीनको वुहान शहरनजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा सन् २०१९ डिसेम्बरमा पहिलो पटक यसको संक्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो ।
कोरोनाभाइरस संक्रमण कसरी हुन्छ ?
कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।
नेपाल र कोरोना भाइरस
नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक सन् २०२० जनवरी २३ मा संक्रमण देखिएको थियो । यसपछि सन् २०२० को मार्च महिनाबाट छिमेकी देश भारतमा संक्रमितको संख्यामा वृद्धि भएपछि खुल्ला नाकाको कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा वृद्धि हुन गएको हो । यसपछि मार्च २२ बाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो भने मार्च २४ बाट देशभर बन्दाबन्दीको सरकारले घोषणा गरे ।
बन्दाबन्दीको समयमा अत्यावश्यक सामान ढुवानीको सवारी साधनमा लुकेर आउने र एम्बुलेन्सको दुरुपयोग गर्नेहरुको कारणले मानिसको आवतजावत रोकिएको थिएन । यस्तै, भारतबाट नेपालको तराई भु–भागमा प्रवेश गर्नेको संख्यामा समेत अत्याधिक मात्रामा वृद्धि हुन गयो । करीब ८० दिनका बन्दाबन्दीमा तराई क्षेत्रमा अलिक बढी मात्रामा संक्रमित देखिएकोले मन्त्रीपरिषद्को निर्णयले संक्रमित क्षेत्रलाई सिल गर्ने र अन्य जिल्लामा बन्दाबन्दीको अन्त्यको घोषणा गरे । एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको कोभिड प्रोटोकपको आधारमा जीवनयापन गर्ने सरकारले सबैलाई आग्रह गरेका थिए ।
तबसम्म कोरोना अन्त्य हुँदैन
नेपालमा जब बन्दाबन्दीको अन्त्य घोषणा गरे, त्यसपछि राजधानी फर्किनेको संख्या पुनः वृद्धि हुन गयो । नेपालको साक्षरता प्रतिशतलाई हेर्ने हो भने सन् २०१८ मा आएर वल्र्ड डाटा एट्लासका अनुसार ६७.९ प्रतिशत रहेको छ । यहाँ ६७.९ प्रतिशत साक्षरता भएपनि व्यवहारमा लागु गर्ने ३० प्रतिशतको हाराहारीमा होलान् । मानिसहरुमा चेतनास्तरको कमी एकातिर छ भने सरकारले कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम ल्याउन सकेको छैन ।
जब बन्दाबन्दीको अन्त्य भयो, तब कोरोनाको अन्त्य भएको थिएन । मानिसहरुको आवतजावत रोकिएन, भीडभाड गर्न कम गरिएन, कोभिड प्रोटोकललाई कसैले अनुशरण गरेन, माक्स मुख छोप्न भन्दा हातमा बोक्न र चिउँडो छोप्न प्रयोग गरियो । बेलाबेला हात धुनुपर्ने कुरालाई मनन गर्न कसैले सकेनन् । आफैले आफ्नो स्वास्थ्य माथि खेलबाड गर्न नेपालीलाई गरिबीले पेल्न थालेको थियो । सरकारले साना मजदुरहरुलाई राहतको कुनै प्याकेज व्यवस्था गर्न सकेनन् । कतिपय स्थानमा आत्महत्या गर्नेको समाचार पनि बाहिर नआएको होइन । ‘गोर्खालीको छोरालाई केही हुँदैन’ जस्ता अहमताले अगाडि बढेको नेपालीलाई अन्तत पुनः कोरोना संक्रमितको बढ्दो संख्याले चुनौती दिएको छ ।
संक्रमितलाई समाजले देखाउने अमानवीय व्यवहार र स्वास्थ्यकर्मीहरु प्रति हेर्ने दृष्टिकोणले नेपाली समाजमा कोरोनाको संक्रमण चेन ब्रेक हुन्छ ? भन्ने कुरा नै अन्यौलमा पर्न थालिसेकको छ । बिहानको मर्निङ्ग वाक, साँझको इभिनिङ्ग वाक नगरी नहुने नेपालीको बानी, काम नभएसी लखरलखर साथीभाइसँग घुलमिल हुने, बन्दाबन्दीको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर नहिड्नु भन्दा पनि अनेकन बहानाले बाहिर निस्कने प्रवृत्ति हाबी देखिएको छ । अझ बाहिर निस्कदा मास्क आफ्नो स्वास्थ्य सुरक्षाको लागि लगाउनुपर्ने अवस्थामा सरकारले मास्क नलाउनेलाई कारवाही गर्ने भनी जबरजस्ती मास्क लगाउन भन्नुपर्ने अवस्था छ ।
सरकार पक्षले पिसिआर टेस्टलाई दू्रतगतिमा लान नसक्नु अर्का कमजोरी पक्ष हो । स्वाब संकलन गरी परीक्षणमा दिएको २÷३ दिन पछि रिपोर्ट आउनु, संक्रमित व्यक्तिको मृत्यु भएपछि रिपोर्ट आउनु र मलामीमाथि कन्ट्याक्ट टे«सिङ्ग गर्न बाध्य हुनु, यो त भयो नै अस्पतालहरुले सामान्य बिरामीलाई नहेर्ने, एउटा अस्पतालबाट अर्काे अस्पतालमा रिफर गर्दा घुम्दाघुम्दै बिरामीको मृत्यु हुनु जस्ता अमानवीय व्यवहार समाचारमा प्रकाशित भएका छन् ।
नेपालमा कोरोना संक्रमणको चेनब्रेक गर्न पुनः निषेधाज्ञा घोषणा अहिलेपनि जारी छ तर संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थामा हामी मानिसहरु आफै आफ्नो स्वास्थ्यप्रति सम्वेदनशील भएर आफु सजग नभएसम्म जतिसुकै बन्दाबन्दी र निषेधाज्ञाको घोषणा गरेपनि कोरोना संक्रमणको अन्त्य हुन त्यति सहज देखिँदैन । आफू सचेत होऔं, अरुलाई पनि सचेत गरांै । आफू संक्रमित हुनबाट बचौं र अरुलाई पनि संक्रमित हुनबाट बचाऔं ।
No comments:
Post a Comment