Monday, February 16, 2015

सम्झौता [भाग–४]

बिहानी पख मिर्मिरे उज्यालो भयो । एक्कासी मलाई के भयो थाहा छैन, मैले गाडी रोक्न लगाएँ ।
‘ड्राइभर दाई, गाडी रोक्नु न’ मैले भनें । त्यसपश्चात दाईले गाडी रोक्नुभयो अनि मैले म जान्न भन्दै उनीहरुलाई त्यहाँबाट जान आग्रह गरें । मलाई त्यो सुनसान सडकमा छाडी उनीहरु आफ्नो गन्तव्यतिर लागे ।
त्यो सुनसान सडक, झिसमिसे उज्यालो । बिहान त हुन हुन लागेको थियो तरैपनि अलिक अँध्यारो नै थियो । शहरतिर आउने गाडी आएको थिएन ।
एक्लो थिएँ म र पनि मलाई एक्लोपनको महसुस भएन । खै किन हो ? तर लाग्छ आफुलाई कुनै कुराको चिन्ता धेरै भयो भने एक्लोपनको महसुस पनि नहुँने रहेछ । एक्लै थिएँ, कानमा एअरफोन लगाएँ अनि गीत सुन्दै शहर तर्फ आफ्नो खुट्टाहरुलाई लम्ब्याएँ । यसरी नै म आफ्नै धुनमा हिडिँरहेको थिएँ, मनमा एउटै कुरा लिएर, उनी कहाँ छिन्, के गर्दै छिन् ?
मैले मोबाईलको किप्याडमा औंलाहरु चलाएँ र डायल गरें, उनको बहिनीको नम्बरमा ।
‘हेला ’ दाई पुग्नुभयो ?’ बहिनीले भनिन् । मैले भने,‘छैन, म त बाटोमै छु, शहर फर्किन लागेको, अनि तिम्री दिदी आईन् ?’ उनले भनिन्,‘छैन कता गईन् कता, भोलि खोज्न जान्छौं भनेर सोचिरहेको ।’ अनि मैले ल ल हुन्छ, म पनि आईपुग्छु अब ३÷४ घण्टामा त्यही भनेर फोन राखिदिएँ ।
मेरो कारणले उनी घर गइनन् खै किन हो ? अब त लाग्न थाल्यो कि म पनि उनलाई माया गर्छु, नत्र भने मलाई किन यति धेरै गाह्रो भो, बुबा बिरामी हुँदा पनि घर नगई किन म शहरतिर नै फर्किँदैछु त ? सायद मेरो मनले पनि उनलाई रोज्छ होला, उनको आँशु, उनको पीडा, उनको दुःख, मेरो मनले सहन सक्दैन होला । सायद...।
यस्तै यस्तै सोचाईमा म डुबिरहेथें । अचानक हर्न बज्यो । मैले यसो आफ्नो आँखालाई त्यो गाडीभएतिर मोडें, अनि मैले गाडी रोक्ने ईशारा गरें ।
गाडी रोक्यो, । मलाई सोध्यो,‘किन भाई, कहाँ जाने हो ?’ मैले भनें, ‘म शहरतिर जाने हो, तपाई कता हो नि ?’ उनले पनि शहरतिर नै जाने बताए अनि म त्यही ट्रकमा चढें । ट्रक पुरै सामानले भरिएको थियो, के थियो त्यो त थाहा भएन ।
त्यसपछि हामी हाम्रो गन्तव्यतिर जाँदै थियौं । करीब बिहानको ६ बजेको थियो । एउटा बजारक्षेत्रमा पुग्यौं, पुरै बिद्यार्थीहरुको जमात थियो । हातमा ठूलो ठूलो डण्डा समातिरहेको । कोही के कोही के भनिरहेको थियो । तरपनि बुझिने भाषामा आज उक्त शहर बन्द भन्दै थिएँ ।
हाम्रो गाडी पनि त्यही नजिक पुग्यो । एकजना विद्यार्थी आयो र भन्यो,‘आज राजमार्ग बन्द हो दाई गाडी साइड लाउनु ।’ अनि ड्राइभरले भन्यो,‘हैन हस्पिटलको गाडी हो, गाडी नरोकौं न हामीलाई जान देउ ।’
तब केही विद्यार्थीहरु आए र ड्राइभरसँग कुराहरु गर्न थाले । के कुरा त्यो त थाहा भएन, ड्राइभर दाई अचानक ओर्ले र अरु विद्यार्थीको जमातमा गए । धेरैबेरको कुरा पछि ड्राइभर दाई आए र उनले गाडी पार्किङ साइडमा पार्क गरे । उनले भने,‘हिजो यहाँ बसले मान्छे हान्यो रे अनि आज बिहान म¥यो रे, त्यही भएर क्षतिपूर्ति माग गर्दै आज बन्द रे, गाडी नजाने भो ।’
आफूलाई त जसरी भएपनि जानु छ । त्यसपछि मैले सोधें,‘कहिले खुल्छ त ? अरु केही उपाय छ दाई ?’ उनले भने म एकछिन चौकी गएर आउँछु तिमीहरु बस्दै गर, केही त होला नि ?’
त्यसपछि ड्राइभरदाई चौकीतिर लागे । म र गाडीको स्टाफ भने गाडीमा नै थियौं । करीब करीब २ घण्टा बित्यो, ड्राइभर दाई आउनुभएन । म के गरुँ त्यो पनि थाहा छैन । जानको लागि कुनै गाडी पनि छैन, अनि हिडेर जानु त्यो पनि असम्भव । अनेक कुराहरु मन थुपार्दै, खेलाउँदै त्यो जमातलाई हेरिरहेथें ।
अचानक मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो.......।

क्रमशः बाँकी सम्झौता भाग ५ हेर्नुहोला ।

No comments:

Post a Comment