Friday, December 11, 2015

सून र स्वास्नी

शैलेन्द्र सिम्खडा

स्वास्नीको कचकचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।

बाघले कुकुर मारेर बिरालोलाई गुन लगाएछ
बिरालाले मुसा मारेर मान्छेलाई गुन लगाएछ
मान्छेले मान्छे मारेर स्वास्नीलाई सुन लगाएछ ।

स्वास्नीको कचकचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।

हे सीते,
जोगी भएर वनमा जाँदा किन चाहिएको सुन ?
कहा लगाउने गहना ?
भगवान्की स्वास्नीलाई पनि सुनको त्यत्रो चाहना !

अहिले पनि चालीस किलोकी स्वास्नी ल्याउन
चालीसै तोला सुन किन्न पर्छ
अनि मात्र स्वास्नी खोज्न हिँड्न पर्छ
यदि स्वास्नीको आवश्यकता भए
त्यसलाई सुन चाहिन्छ–चाहिन्छ
नत्र त्यसै
अर्काको छोरीलाई स्वास्नी भन्न कहाँ पाइन्छ ?

मैले पनि बेहोरको छु सुन र श्रीमती
अब सुन्नुस् मेरो आफ्नै घरको दुर्गति

भोकै बस्दा रोइनन् दुस्ख पर्दा आत्तिनन्
एक तोलाको औाठी बेच्दा आँसु दर्कियो
छोरा पाउँदा हासिनन् घर किन्दा मस्किनन्
दुई तोलाको सिक्री किन्दा टोलै थर्कियो
कैले होला धनको वास यो दुस्खीको खाली पकेटमा
मेरो माया स्वास्नीमा उनको माया सुनको लकेटमा

सुन र स्वास्नी
जाने घरबार, नजाने तरबार
सुन धेरै भए पनि ज्यान जोगाउन गाह्रो
स्वास्नी राम्री भए पनि आँखाको तारो
सुन नल्याए स्वास्नीले आफौलाई मार्ली भन्ने डर
सुन ल्याए डाकाले स्वास्नीलाई मार्ला भन्ने डर
सदुपयोग गर्न जाने
सुन अमरावती, स्वास्नी भगवती
नजाने सुन काल, स्वास्नी अनिकाल
हे सुन, तेरो बैगुन
किन्दा मसक्क, बेच्दा ठसक्क, पैसा भसक्क
दिए जाती नदिए नजाती
कुरा सुन्न पर्छ अनेक भाती
लोग्नेको मन स्वास्नीमाथि
स्वास्नीको मन सुनमाथि
हातमा बाला, घाटीमा माला, नाकमा ताला
शिरमा शिरबन्दी,
दर्जीले सिए लगाउछु भन्छिन् सुनकै चौबन्दी
सुन भनेको स्वास्नी रहेछ
स्वास्नी भनेको सुन रहेछ
जोसँग सुन छ त्यसको राम्रो घर हुन्छ
जोसँग सुन छैन
त्यसकी स्वास्नी पोइल जाने डर हुन्छ

सुनकै दरीमा सुत्न पर्ने भएर सुन्दरी भनेको होला
सुनको फुल पार्न सक्ने भए त
सुनचरी भने पनि हुन्थ्यो
नपत्याए हेर्नुस्
मान्छे र्हेयो सत्तरी वर्षकी थोती
सुनैसुनले तानेको छ कानको लोती
केटीहरूले नाक–कानमा लगाएको सुन
सुत्दाखेरि पनि छोड्दैनन्
घाटीमा लगाउन पाए भने
पुस–माघमा पनि ओढ्ने ओढ्दैनन्
सधौ स्वास्नीको मुखबाट सुनकै चर्चा
सुन्दा–सुन्दा कानै सुन्निने गरी
जबर्जस्ती सुन्नै पर्ने भएर सुन भनेको हो कि !
यो सुन भन्ने वस्तु र स्वास्नी भन्ने प्राणी देख्दा
अब त मलाई सुन्तला नङ्ग्याउँदा पनि
गहना खोल्या जस्तो लाग्छ
भैंसी कराउँदा पनि स्वास्नी बोल्या जस्तो लाग्छ
सँधै सिक्रीको फिक्री, स्वास्नीको जिक्री
आनन्दसँग बस्न पनि रहर भो
सुनसँग स्वास्नीको सहवास देख्दा
कतै सुत्केरी हुादा पनि सुनकै छोरा पाउँछिन् कि भन्ने डर भो !

खै कुन्नि महाकविले पनि सुनमा के देख्नुभएछ
सुन र स्वास्नीकै कथामा ‘मुनामदन’ लेख्नुभएछ
हुन त
स्वास्नीविनाको सुन पनि के काम हुन्छ त्यो डल्लो
सुनविनाकी स्वास्नी पनि त्यस्तै हुन्छ खल्लो
लोग्ने स्वस्थ छउन्जेल
सुनको तिलहरी, मङ्गलसूत्रजस्ता माला बनाउछन्
लोग्नेलाई रोग लाग्यो भने
तुरुन्त मासेर बाला बनाउछन्
रोगी लोग्ने कैले मर्छ भर हुन्न
बाला बनाए पछि उनीहरूलाई डर हुन्न
त्यसैले स्वास्नीसँग सुनको परिणाम मिलेन भने
त्यसको घरजम बेहाल हुन्छ
सुन धातुमा गहना उपसर्ग लगाएर
स्वास्नी प्रत्यय जोडेपछि लोग्ने हरिकङ्गाल हुन्छ !

स्वास्नीलाई सुन
नक्कली दिउँ के काम त्यो आाखाको छारो
सक्कली दिउँ दिन सजिलो माग्न गाह्रो
घरखर्चलाई पैसा चाहिदा मैले यस्तो भोग्या छु
एक तोलाको चुरा बेच्न तीनचोटि ढोग्या छु
फगत उनकै इच्छामा
मेरो तलब सबै सुनलब भयो
सञ्चयकोष सुनक्रयकोष भयो
ओभर टाइम सुनभरटाइम भयो
अरू स्रोतहरू सबै डामाडोल भयो
स्वास्नीकै रिक्वेस्टमा गोल्डक्वेस्ट खेलो
त्यो पनि गोल भयो
तै पनि सुनले ढकमक्क पारो
घाटीमा सुन, टाउकामा सुन, छातीमा सुन
नाडीमा सुन, औालामा सुन, गोडामा सुन
कम्मरमा सुन, नाक छेडेर सुन, कान छेडेर सुन
जता छेड्यो सुनैसुन
अब त खुसी भइन् होला भनेर
अब सुन किन्यो भने कहा लगाउने हगि भनेको त ?
दुई तोला किन्दिनुस् न
एउटा आाखाले हेर्छु
अर्को आाखा छेड्छु भन्छिन्
हेर्नुस्, सुन र स्वास्नीको सम्बन्ध अविछिन्न छ‘
तर खास गुण चौ भिन्न–भिन्न छ
सुन काट्न मिल्छ, स्वास्नी काट्न मिल्दैन
सुन साट्न मिल्छ, स्वास्नी साट्न मिल्दैन
स्वास्नीले भात पकाउँछे, सुनले भात पकाउन्न
सुन बैङ्कमा राखे पैसा आउँछ
स्वास्नी बैङ्कमा राख्दा पैसा आउन्न
हामी स्वास्नीको सौखिनतामा
जीवनको जोखिमता भिरेर
पुरुषत्वको हलाल गर्दैछौ
स्वास्नीहरूको वास्तविक पति त सुन नै रहेछ
हामी त सुनलाई स्वास्नी र
स्वास्नीलाई सुन मिलाइदिने दलाल मात्रै हौ
अब त मलाई ईश्वरले के चाहिन्छ भने
अर्को जन्ममा सुन बनाइदेऊ भन्छु
पोतेको लुङमा उनिन पाउँ
स्वास्नीको छातीमा झुन्डिन पाउँ
सिद्धियो कविता अब हास्ने
जय जय सुन जय स्वास्नी !

हल्लै हल्लाको देश

भूपि शेरचन
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।
                           (२०२४-रूपरेखा)

Wednesday, December 9, 2015

युवाहरुको विश्वकपः चुनौती र अवसर

रबिन मानन्धर
नेपाली राष्ट्रिय टोलीको निरन्तर खस्किँदो प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मुहारमा छाएको न्याउरोपनलाई केही हदसम्म भएपनि खुशीमा परिवर्तन गर्ने आशा लिन सकिन्छ, नेपाली क्रिकेटका १९ वर्ष मुनिका खेलाडीहरुबाट ।

आउँदो विश्वकपलाई मध्यनजर गर्दै हेर्ने हो भने समूह चरणको खेलमा ग्रुप अफ डेथमा परेको छ, नेपाल । टेस्ट मान्यता प्राप्त अष्ट्रेलिया, न्यूजिल्याण्ड र भारत जस्ता देशका १९ वर्ष मुनिका खेलाडीहरुसँग नेपालले समूह चरणमा नै प्रतिस्पर्धा गर्नेछ । अघिल्लो १० विश्वकप मध्ये नेपालले ६ पटक सहभागिता जनाइसकेको छ । जसमा सन् २००६ मा श्रीलंकामा भएको विश्वकपमा प्लेट च्याम्पियनसीपको उपाधि जितेको थियो । यो नै १९ वर्ष मुनिको क्रिकेटमा नेपालको ठूलो उपलब्धी हो ।

यसअघि सन् २००४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्लेट समूहको तेस्रो स्थान सम्म पुग्न सफल भएको थियो भने सन् २००२ मा न्यूजिल्याण्डमा भएको विश्वकपमा प्लेट रनर अप भएको थियो । सन् २००० मा श्रीलंकामा भएको विश्वकपमा आठौं स्थान, सन्. २००८ मा मलेशियामा भएको विश्वकपमा दशौं र सन् २०१२ मा अष्ट्रेलियामा भएको विश्वकपमा १३ औं स्थानसम्म पुग्न सफल भएको थियो ।

पहिलो विश्वकप सन् १९८८ मा अष्ट्रेलियामा हुँदा नेपाली टोली अयोग्यमा परेको थियो भने सन् १९९८ मा दक्षिणअफ्रिकामा हुँदा छनौट चरण पार गर्न सकेको थिएन । त्यस्तैं, सन् २०१० र अघिल्लो विश्वकप सन् २०१४ मा यूएईमा हुँदा पनि नेपाली युवा टोलीले छनौट चरण पार गर्न सकेको थिएन ।

दुई महिना अघि मलेशियामा सम्पन्न छनौट चरणमा नेपाल समूह तालिकामा पहिलो हुँदै छनौट भएको थियो । छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा युगााण्डालाई १ सय ७१ रनले पाखा लगाएको थियो भने तेस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेलमा पुनः आयरल्याण्डसँग खेलेको नेपालले ३ विकेटको जित हात पार्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।

छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको लागि सुनिल धमला नायक बनेका थिए । उनले ५ खेलमा ४२.५० रनको औसतले १ सय ७० रन बनाएका थिए भने उन्लाई पछ्याउने क्रममा कप्तान राजु रिजालले ४ खेलमा ४१.७५ को औसतले १ सय ६७ रन बनाएका थिए । त्यस्तै, बलिङतर्फ प्रतियोगिताभर प्रेम तामाङले ३३ ओभरमा ११ विकेट लिए भने आरिफ सेखले ४१.४ ओभरमा १० विकेट लिएका थिए । कप्तान राजु रिजाल र आरिफ सेफ नेपालको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् भने सुशिल कँडेलको बलिङमा उनले थोरै रन दिएकोमा चर्चा बटुलेका थिए । ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेको नेपालको विश्वकपमा केही हलचल ल्याउन सक्ने आशा गर्न सकिन्छ ।

नेपाली युवा टोलीको उत्कृष्ट ब्याटिङतर्फ सन् २००६ को विश्वकपमा आयरल्याण्ड बिरुद्ध ८ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको छ भने व्यक्तिगत स्कोरतर्फ सन् २०१२ को विश्वकविमा नामिबिया बिरुद्ध प्रदिप ऐरीले ७६ बलमा अविजित ९८ रन बनाएको छ । त्यस्तै, बलिङतर्फ सन् २०१२ को विश्वकपमा पपुवा न्यूगिनीबिरुद्ध राहुल विश्वकर्माले ६ ओभर २ बलमा ३ रन खर्चेर ६ विकेट लिएको रेकर्ड रहेको छ । १९ वर्ष मुनिको एसीसी इलाइट कपमा सन् २००१ देखि सन् २००७ सम्म चारपटक लगातार कब्जा जमाएको नेपाली युवा टोली पछिल्लो समय केही खराब प्रदर्शनमा रहेपनि हालै सकिएको विश्वकप छनौटको उत्कृष्ट प्रदर्शनले आशा फेरि पलाएको छ ।

विभिन्न चरण पार गर्दै आगामी सन् २०१६, जनवरी २२ बाट बंगलादेशमा शुरु हुने विश्वकपमा नेपालको लागि थप चुनौती बनेको छ, समूह । ग्रुप अफ डेथको नामले चिनिने समूहमा परेको नेपालको लागि अझ उत्कृष्ट प्रदर्शन गर्ने अवसर समेत जुटेको छ । अष्ट्रेलियासँग ३ पटक र भारतसँग १ पटक खेलेको नेपालले कुनै खेलमा जित हात पारेको छैन भने न्यूजिल्याण्डसँग खेलेको १ पटक भने नेपालले जित दर्ता गरेको रेकर्ड छ ।

विश्वकप कप अघि नेपालले जनवरी २३ मा पाकिस्तानसँग र २५ मा श्रीलंकासँग अभ्यास खेल खेल्नेछ भने जनवरी २८ मा न्यूजिल्याडसँग, जनवरी ३० मा अष्ट्रेलिया र फेब्रुअरी १ मा भारतको सामना गर्नेछ । भारतसँग खेलिने अन्तिम खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट च्यानलले दिने बताएको छ । चुनौती ठूलो छ, अनि अवसर पनि राम्रो छ, युवामाथिको भरोसा छ ! जय नेपाली क्रिकेट !!
@nprowin007

Monday, November 16, 2015

बा ले घडी किनेका छैनन् !!

समर्पण श्री
 कयौँ साल भो
बा ले घडी किनेका छैनन्
फाटेको सुरुवाल पनि टाल्दै टाल्दै
इज्जत धानेका छन्
*****
बा टोपी महिलियो
मैले भने
छाड्,
“यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु”
****
बा स्वाभिमान को प्रतिक हुन्
हर दिन माटो खाए् र
साँझ सन्तानको पेट पालेका छन्
****
लेखपढ गरेका छैनन्
तर सबै बुझेका छन्,तिम्रो र हाम्रो परिवेश
****
लाखोैँ समय भोगेका मेरा बा
समयभन्दा बलिया छन् रे
त्यसैले,
कयौँ साल भो
मेरा बा ले घडी किनेका छैनन्

बा ले बुझेका छन्
मान्छे ले बनाएको भगवान प्रति
मान्छे रुष्ट छ
तरपनि पुज्छ, ढोग्छ, विलौना गर्छ
सजिव भित्र नअटेको भगवानलाई ??
बा आफुलाई हुेर्छन्
र आफैँलाई देउता मान्छन्
किनकी मेरा बा धरति हुन्
कुनैदिन आकाशभित्र पनि प्यारा हुन्छन् !
कयौँ साल भो
बा ले घडी किनेका छैनन्
लाग्छ
समय भन्दा बा कयौँ सालअघि रहेछन

हामी जति बुझेपनि
बा अनि बा को समयलाई बुझ्दैनौ !
बा समय हेर्दैनन्
किनकी कयौँ साल भो
बा को हातमा घडी छैन् !
सुने थ्यौँ
जब बा समयभन्दा अगाडी दगु्रे
बा ले घडी बेचिदिए
तर भ्रम रहेछ बा.... !
.सन्तान व्यूँताउन चन्द्र ,
,किन अस्थाए यसरी ?
सूर्य किन निभेका यसरी?
दियो मा तेल सकि नसकी
किन बतास चलिदिएको यसरी ?
सिकिन भन्दाभन्दै पनि
जोड घटाउ र भाग ग¥यौ
किन बा ? आफ्नो समय वेचेर
हाम्रो उमेर बढायौ??
बा ,बल्ल बुझ्यौँ !!!
कयौँ साल तिमलिे ले घडी नबान्नुको रहस्य........!!!

Sunday, August 2, 2015

के नै पो जलेको रैछ र !

स्कूलको आज अन्तिम दिन । उसले सोध्यो, ‘के छ अबको नयाँ सोच ?’ मैले भनें, ‘खासै केही छैन, सायद कुनै जागिर खोज्छु, अनि काम गर्छु ।’

कक्षामा पढाइको कुरामा सबैभन्दा अब्बल भएपनि नजिकको साथी ऊ मात्रै थियो, जिवन । कक्षा ८ मा अर्काे स्कूल छाडेर मेरै स्कूलमा भर्ना भएको थियो । सबैसँग जिस्किने, सबैसँग मिठो बोल्ने । एकदिन जिवन स्कूल नआउँदा सबैबीच चर्चा हुन्थ्यो, उसको । लाग्छ, ऊ स्कूल नआएपनि हामीबीच नै छ । ऊ मेरै बेन्चमा बस्थ्यो तरपनि हामीबीच बोलचाल कमै हुन्थ्यो । कक्षामा सबैले मलाई पढन्ते भनेर चिन्थ्यो, सायद त्यसैले गर्दा होला, सबैले मलाई घुसघुसे भन्थ्यो ।

बिस्तारै बिस्तारै, जिवन मेरो नजिक हुन थाल्यो । उसले नै मलाई कक्षामा अरु साथीहरुसँग घुलमिल हुन सिकायो । साँच्चिकै आज कक्षामा सबैसँग बोल्दा, लाग्छ जिवनले साँच्चिकै मलाई नयाँ जिवन दिएको छ । पढ्नमा अल्छी गर्ने जिवन, प्रायः मेरै कापी लगेर नोट साथ्र्याे । कहिलेकाहीँ अल्छी लाग्छ क्यारे उसलाई, सिधैं मलाई भन्थ्यो, ‘आजको नोट मेरो कापीमा सार्दे न ल ?’ म पनि झर्काे नमानि गरिदिन्थें ।

यसरी शुरु भएको हाम्रो मित्रता आज स्कुले जिवनको अन्त्यसम्म आइपुगेको छ । म आफ्नै गाउँको कलेजमा +२ पढ्ने निर्णय गरेको छु । तर, जिवन शहर जानेछ । परीक्षाको समयदेखि नतिजा नआएसम्मको खाली समयमा हामी सबै साथी घुम्न जाने भयौं । जान त हामी रमणिय ठाउँहरमा घुम्न गयौं तर, कहिलेपनि बिर्सन नसक्ने क्षण जिवनले त्यतिबेला बनायो, जतिबेला उसले कक्षामा भएको सबै साथीहरुको अभिनय गरेर देखाउन थाल्यो ।

उ राम्रो कलाकार थियो, कक्षामा । शुक्रबारको दिन कक्षामा पढाइ नहुँदा, कोही गीत गाउने, कोही चुट्किला भन्ने, कोही कथा सुनाउने गथ्र्याे तर, ऊ मात्र एक यस्तो विद्यार्थी थियो, जो प्रत्येक शुक्रबार एकजना शिक्षकको अभिनय गरेर देखाउँथ्यो । साँच्चै, उस्मा अभिनय गर्नसक्ने क्षमता देखेर हामी सबै छक्क पथ्र्याै ।

सँधै शिक्षकशिक्षिकाको अभिनय गर्ने जिवनले आज हाम्रै बानीव्यहोरा, चालचलन, हाउभाउ हामीलाई नै अभिनय गरेर देखाउन थाल्यो । हामीबीचको मित्रता झन् गाढा हुदै गयो ।

बिदाको समय सक्कियो । नतिजा पनि आयो । स्कुलबाट विशिष्ट श्रेणीमा मसँगै अरु ३ जना उत्तीर्ण भयौं । जिवन, पहिलो श्रेणीमा उत्तीर्ण भयो । मैले उसलाई सहानुभूति देखाउँदै भनें, ‘प्रथम श्रेणी पनि ठीकै हो नि, हरेक नखा ल । अनि शहर गएर मलाई नबिर्सिएछ ।’ यस्तो सहानुभूति देखाउने मू्र्ख मै हुँला, ऊ ‘साले ! तेरो २% मलाई देको के बिग्रिन्थ्यो ? ठीकै +२ मा तेरो भन्दा ४% बढी ल्याइन भने पख्लास्’ भन्दै मुस्कान भरिएको ओठले मलाई बधाई दिँदै थियो ।

भोलि जिवन शहर जाँदैछ । अनि, म कलेजमा बुझ्नको लागि । रातभर निन्द्राले छटपटाइरहेको थिएँ । मनमा उकुसमुकुस, उथलपुथल, खै के के हो के के । मात्र, जिवनको यादले सताउन थाल्यो । सँगै शहरमा गएर पढ्न रहर नभाको त कहाँ हो र ? तर, मेरो आर्थिक अवस्थाले दिँदैनथ्यो । रातभर रसाएका आँखा लिएर, बलेको मैनबत्तीलाई साथ दिँदै, कतिबेला भुसुक्कै निदाएछु ।

मैनबत्ती सक्किएर, आगो टेबलमा सल्किएछ । आगोले बिस्तारै घर पुरै भ्याउन लागिसकेछ । जब आफूले ओढेको सिरक बढी तातो भयो, बल्ल निन्द र होस दुवै खुल्यो, हेरें आगोले पुरै घेरिसकेछ । न माटोको घर, न ढलान गरेको घर । बाँस र काठको एउटा छाप्रोमा खरको छानो लगाएका थियौं, बाबा र मैले । आमाले म सानैहुँदा छाडेर जानुभयो । बाबा र म यही खरको छानोमा ओट लागेर बसेका थियौं । बाबाको परिश्रममा मैले पढेको थिएँ । आज आफूलाई पढेको मान्छे भन्न पनि लाज भएर आयो । आगोले क्षणभरमै सबै धुँवा बनेर उडायो, खरानी बनाएर माटोमा मिलाइदियो । बाबाको आँखामा आँशु रोक्न सकिनँ ।

सूर्यको पहिलो किरणसँगै सबै उजाड देखें । न त्यहाँ बाँस थियो न कुनै काठ, कुनै कपडा । खरको छानो, सुकेको बाँस अनि सुकेको काठ, बल्न कति नै बेर लाग्छ र, त्यो पनि छाप्रो । बचेका केही थियो भने फलामका भाँडाकुँडा, सिलाबरका भाँडाहरुपनि कच्याककुचुक थियो । आफ्नो गल्ती सम्झिँदै आफृुले आफैलाई गाली गर्नु सिवाय केही बाँकी थिएन ।

आफ्नो जिवन पुरै सक्केको आभाषमा पीडा पोख्दै थिए, मेरो आँखाहरु । बाबासँगको अंकमालमा झर्दै बग्दै थिए, आँशुका नदीहरु । परबाट देखें, आफ्नो जिवन, मेरो साथी जिवन । हस्याङ्गफस्याङ्ग गर्दै आयो । हुत्तिएर गएँ, आँशुको नदीको वेग बढ्दै गयो । जिवनको आँखामा आँखा जुढाउन सकिँन, जिवन ..... जि...वन.... । वश्! नाम मात्र लिन पनि गाह्रो भयो ।

उसको हातले मेरो हात थाम्दै, उसले सोध्यो, ‘सबै कुरा जलेको हो र ?’ मैले भनें, ‘छैन, यार । वश् बाबा र म बाँचेको छु ।’ तब उसले जोडले मलाई अँगालोमा च्याप्दै भन्यो, ‘अनि किन हरेश खान्छस् त ? के नै पो जलेको रैछ र ?’ वश्! यही वाक्यले हौसला थप्यो । (सन्दर्भः मित्रता दिवस)

@nprowin007


Monday, July 27, 2015

मृत्युको आभाष गर्न मन छ !

डर । मान्छे जब त्रसित हुन्छ, तब पैदा हुन्छ, डर । डर, के को ? गालीको । पिटाइको । अपशब्दको । सम्बन्ध टुट्नुको । इज्जत गुमाउनुको । यि मात्र हैनन्, डर त वश देखेकै भरमा पनि हुन्छ, कसैलाई पानीको वहाव । पहाडको उचाई । दू्रत गतिको सवारी । जंगली जनावर । पहिलो किसिमको डरले मानसिक सन्तुलनमा आँच पु¥याउँछ तर, यहाँ दोस्रो किसिमको डर, जुन मृत्युको कारण आउँछ ।

कसले देखेको छ यहाँ मृत्यु, आफ्नै नजरले । नाङ्गो आँखाले हामी अन्तरिक्षमा भएका भौतिक वस्तुलाई त नियालेर हेर्न सक्दैनौं भने मृत्यु त झन् भौतिक वस्तुको अन्त्य, त्यो पनि आफ्नै शरीरको । शरीर त के हो र ? क्षणभङ्गुर यो शरीर त कि माटोमा मिलिजान्छ, कि त आकाशमा उडिजान्छ । मृत्युलाई हाँसी हाँसी अपनाऊ वा दुःख, पीडामा भुलाइदेऊ, शरीरले साथ, मृत्युपछि अवश्य छाड्छ ।

मान्छे हुँ । संसारमा जन्मेका मान्छेहरु बिना गल्ती आज जुन स्थानमा छन्, त्यो स्थानमा पक्कै आएका होइनन् । मेरो गल्तीले कतिको मनमा कालो बादल छाएको होला, मेरो मृत्युले त्यो मनमा सेता बादलको आगमन हुन्छ होला, अनि वर्षिन्छन् होला पानी अनि देखिन्छन् होला इन्द्रेणी । तर, मेरो लागि आफ्नो मनमा स्थान दिनेको वर्षिन्छन्, अश्रुधारा । मेरो पार्थिव शरीरमा कति हान्छन् होला, मैले छाडेर गएको त्यो क्षण । मेरो नामलाई हावामा गुञ्जयमान गर्दै पुरै गाउँ थर्काउँछ होला । ओल्लो र पल्लो गाउँदेखि मेरो पार्थिव शरीर हेर्न भेला हुन्छन् होला । मेरा लागि झरेका ती आँशुले पनि शायद, मलाई सराप्छन् होला ।

त्यो खोला । जुन, खोलामा म नुहाउँथें । जुन खोलाको पानीमा म आफ्नो गर्मीपन भुलाउँथें । हो, त्यही खोलाको किनारमा राखिन्छ होला मेरो पार्थिव शरीर । पहेंलो वस्त्र धारण गराइदिन्छ होला । पार्थिव शरीर माथि फलामेऔजार राखिन्छ होला । अनि, टाउको र खुट्टामा दीयो बालिन्छ होला । बन्द आँखाले के नै पो देख्छ र? मेरा आँखा त शरीर चिसो, मुटुको धड्कन रोकिएसँगै नै बन्द भएका हुन् ।

हरिया दुई बाँसमा झुण्डयाई ल्याएको मेरो पार्थिव शरीरलाई खोलाको किनारमा राख्नेछ । वरिपरि मलाई आफ्नो मनमा राख्ने भन्दा रमिता हेर्नेहरु बढि हुनेछन् । सायद, त्यो भीडमा मलाई नचिन्ने पनि पक्कै हुनेछन् । कतिले मेरो जिवनको नितान्त अर्थ बुझाउनेछन् त कतिले मेरो बारेमा सोध्नेछन् । सायद, त्यही भीडमा मेरो पार्थिव शरीरलाई देखेर थुक्नेको पनि कमि हुनेछैन । अझ भनौं, त्यही भीडमा ढोंगी मलामीको पनि कमि हुनेछैन ।

त्यो ढुंगा र बालुवाको मैदानमा बनाइएको काठको थुप्रोमा मेरो पार्थिव शरीरलाई सुताउँदा, मलाई कुनै कष्ट हुनेछैन । त्यो खोलाको पानी मेरो मुखमा तर्काउँदा, मेरो घाँटीका प्वालबाट छिर्नेछैन । मेरो शरीरले धारण गरेको वस्त्र सबैको अगाडि फुकाल्दा, मलाई कुनै लाज हुनेछैन । सायद, जाने समयमा एकचोटी पनि जान्छु नभनि चटक्के बिर्सेंझै गरि जाँदा अझै कत्तिको मन दुख्छ होला । सलाईको काँटी बलेर औंलामा छुस्स पोल्दामात्र पनि पीडा हुने मलाई, मेरो पुरै शरीरलाई आगोले घेर्दासम्म म चुपचाप सहनेछु । मेरो शरीरको छाला, मासु, हड्डी गल्दासम्म पनि अझै म मौन रहनेछु । किनकी, मैले मृत्युसँग पराजय भोगेको छु ।

हो यस्तै हुनेछ मेरो मृत्युमा । तर, आजसम्म कसैले नदेखेको त्यो मृत्युको आभाष गर्न मन छ । मृत्युपछिको त्यो क्षणलाई नियालेर हेर्न मन छ । लचकदार सोफा र खाटमा समय बिताउने यो शरीर त्यो चितामा राख्दाको महसुस गर्न मन छ । वश्! मिल्ने भए एकपटक आफ्नो भौतिक शरीर धुँवासरि उडेर जाने गन्तव्य जान्न मन छ । मेरा लागि झरेका ती आँशुको प्रत्येक थोपाको हिसाब बुझाउन मन छ ।
वश्! मात्र एकपटक मृत्युको आभाष गर्न मन छ ।।

@nprowin007

Thursday, June 18, 2015

SLC Result :

सिम्बोलनम्बर कम्प्युटरले "Not Found" भन्यो, तब मेरा आँखा रसाए, मोतीका दाना जस्ता आँशुले कार्पेटमा दह बन्यो, थाम्न सकिन, भक्कानो फुट्यो। आँशुको दहमाथी पाइला राखें, उता पास भाको खुशी मनाउनेले आफैलाई गिज्याए झै लाग्यो । उनिहरूको हाँसोले मेरो मनमा तीर गाड्यो ।

गाडेको तीरलाई सहनशक्तिले निकाल्न खोजें, सन्त्वना आयो, "कम्प्युटरको भर छैन, जाम पत्रीका हेर्न" मनले राहत लियो, तर आश थिएन । मनको ढुकढुकी यति बढ्योकि हर्सपावर युनिटमा पनि नाप्नसकिन्न होला, रसाएको आँखा र तीर गाडेको मन, पत्रीका खोज्न हिडियो, कतै पाइन 

माख्लो चोकमा पत्रीका सकिएछ, तल्लो चोकमा केहीकेटाहरू लुछालुछ गर्दैथे। साथीले खोसेर ल्यायो, नम्बर खोजियो १ डिभिजनमा, भेटिएन। नम्बर छैन। म फेल भएं । वश! अब चिन्ता छ त केवल आमाको, कसरी मुख देखाउने। तेत्रो मिहेनत गरेर मलाई पढाए, आज मेरो यो गति, थुइक्क

फेलको चिन्ताले भन्दापनी आमाको अनुहारमा चमक गुमाउने डर भयो । अश्रुधाराको बेगसँगै बग्दै, हिक्क हिक्क आवाजमा सोध्छु, "भेटिस"? अझैपनी भेटिन भन्दैछ । म भन्छु, "छाड्दे यार, कम्प्युटरले नभेटेको तैले याँ कसरी भेट्छस त?" हिक्कहिकाउदै भन्छु, तर उ खोज्छ । आँखा अझै तीखो पार्दै खोज्छ ऊ । म अक्क न बक्कको हुन्छु । एउटै चिन्ता छ, "म फेल भएँ, आमालाई कसरी अनुहार देखाऊ?" सबै विषय राम्रो भाको थ्यो, मलाई चिन्ता ऐच्छिक गणितको थियो । जसोतसो पास त होला भन्ने आश थियो, अब त त्यो आस पनि मर्यो 


ऊ आँखा तिखार्दै खोज्दैछ। म आफ्नै धुनमा मुर्मुरिराछु । अचानक उस्ले भन्यो "काली त पास भैछे यार"। गाडेको मनको तीर झनै भित्र पस्यो। मनपराको मान्छे पास, म फेल । भगवान पनि म सँग रिसाए छन । न त आमा, बुबा न आफ्नो रोजेको मान्छे, कसैलाई मुहार देखाउन लायक भइन। हो आज मलाई झुण्डिन सहज लाग्यो । आमाबाबुको अनुहारको आँशु र मनपरेको मान्छेको अघि लाज मान्नु भन्दा मलाई आज झुण्डिन सहज लाग्यो । थुक्क। झुण्डिने त कायरले गर्छ। आँट छ, साहसीछस भने आमाको आँशुलाई प्रसाद मान, बाबुको गालीलाई आत्मबल मान । तब तैले सफलता आउछस।

दुइमनको बीचमा फसेको मलाई राहतमिल्यो। गाडेको तीर आफै निस्कियो। दुखकोआँशु झट्टै सुखको आँशुमा परिणत भयो, जब मेरो नम्बर भेटियो। खुशीले उफ्रीए, नम्बर सेकेण्ड डिभिजनमा रैछ। झट्टै आमालाई फोन गरे "लड्डु लेर आइज ल" आमाले भन्नुभो । हामी उफ्रीँदै घर गयौं


THE END ‪#‎SLC_RESULT‬

Sunday, June 14, 2015

ए ! गर्मी

त्यो चिसो चिसो मन्द मन्द बतास ठीक लाग्न थाल्यो । बिहान उठ्दा महसुस गर्न सकिने हुस्सु र कुहिरो अनि ती शीतका थोपाको यादले सताउन थाल्यो । बिहान ९ बजे उठ्दा पनि लाग्छ, अझै मलाई सिरक नै प्यारो । तर, आज बिहान ९ बजे ब्युँझिदा पनि, सूर्य आफ्नै टाउको माथि पुगिसकेछ, अनि सिरक, कुरै नगरौं, कता हो कता ।

महिना दिनसम्म ननुहाउने, चिसोमा शरीर माड्न कति सकस हुन्थ्यो, तर तिमीले नै मलाई एकाबिहानै ‘हरहर महादेव’ भन्ने गरायौ । भित्रीगन्जी, त्यसको माथि टिसर्ट अनि अझै त्यसको माथि ज्याकेट । कम्मरमुनि पनि तीनपत्र, अण्डरवेयर – ट्राउजर – पाइन्ट । अझै, टाउकोमा टोपी र गलामा मफलर । यतिधेरै भारी बोक्दा पनि सकस नहुने त्यो चिसोलाई याद दिलाउन सक्ने रैछौ, तिमी । तिम्रो आगमनमा आज बाहिर हिँड्डुल गर्दा एकपत्रे र घरमा नाङ्गै बस्न बाध्य बनाएका छौ ।

वर्षामा मात्र साथ दिने छाता पनि तिम्रो ताप छेक्न यहाँ प्रयोग भएका छन् । तिम्रो तापलाई भूल्न यहाँ एमोनिया ग्याँस उत्पादनसँगै पेयपदार्थ बिकेका छन् । तिम्रो तातोले आउने नूनिलो पानीको गन्ध मेटाउन, नानाथरी अत्तर छर्न थालेका छन् । तिम्रो तापले छाला कालो हुने डरले कैयौं क्रिम बिक्रि भएका छन् । तिम्रै कारणले आउने खटिरा निको पार्न, कैयन पाउडर बिकेका छन् । हुँदा हुँदा अहिले खाना रुच्न छाडेको छ । काम गर्ने जाँगर हराएको छ । तिमीले पछ्याइरहँदा आज छहारी खोज्दै हिँड्न परेको छ ।

तिम्रो आगमनमा झाडापखाला र हैजाका सरुवाध्यक्ष झिंगाले दिउँसै आक्रमण गर्छ । डेंगु, कालाजार जस्ता रोगका प्रतिपादक लामखुट्टेले रातमा आक्रमण गर्छ । तिन्लाई रोक्नकै निम्ति कैयन् पदार्थमाथि कालाबजारी भइरहेको छ । रातमा भर्खरै नुहाएर सुते पनि तिम्रो यादले पूरै ओछ्यान भिजिसकेको हुन्छ । तिम्रो कारण म बिरानो ठाउँमा यसै नढलौं भने कति बोतल पानी पिउनु परेको छ, के गर्नु यहाँको मान्छे पनि तिमी जस्तै निर्दयी भइसकेका छन् ।

गाउँघरमा सबैलाई बिहान झिसमिसेमै मेला पठाएका छौ रे । दिउँसो सबैलाई बातमार्ने समय दिँदै छहारीमा ल्याएका छौ रे । बालबच्चाहरुलाई सुन्दर नदीमा फाल हान्न बाध्य बनाएका छौं रे । सुन्छु, तिम्रै कारण महिलाहरु बिहान कि त साँझ पानी लिन डाँडा चढ्नु परेको छ रे । तराईतिर पनि तिमीले दुःख दिन थालेका छौ रे । सुन्छु, विद्यार्थीहरुलाई पढ्न अनि गरिखानेलाई काम गर्न बिहान र साँझको समय दिएका छौ रे । दिउँसो त तिम्रै कारण घरबाहिर निस्कन पनि हम्मेहम्मे पर्छ रे । कतिपय ठाउँहरुमा त तिम्ले आफ्नो शक्ति देखाउँदै कतिपयलाई स्वर्ग पठाएका छौं रे । अझ शहरमा त झन् कुरै नगरौं, तिम्रै कारण लुगा छोटिँदै गएको छ रे ! सेता साप्रा, वक्षस्थलको उँचो भाग र नाभिक्षेत्र स्पष्ट प्रदर्शन हुन थालेको छ रे ! कतिले त दिउँसै झुलको लुगापनि सिलाउन भ्याएको छ रे ! जे गर्छाै तिम्ले नै गर्छाै, अचम्म छौ तिमी पनि ।

धोएको लुगा पनि एकघण्टा भित्रै कति मजाले सुकाइदिएको छौं, एउटै भएपनि फाइदा त दियौ तर प्रत्येक दिन लगाको लुगा १० मिनेट भिजाउँदा भने मन खल्लो हुन्छ । टाउकोमा तेल लगाउनै पाइएको छैन, मुहारमा कुनै क्रिम दल्नै परेको छैन, तिम्रो कारण नूनिलो पानीको मूल जताततै फुटिरहेकै छ । दिनभर लगाएको लुगा बेलुका आफैलाई दूर्गन्धित लाग्छ । अझ कतै जुत्ता फुकालेर भित्र जान परोस्, मोजापनि सँगै फुकालेर अझै मिल्ने भए खुट्टा धोएरै प्रवेश गर्नपर्छ, हैन भने आफ्नै इज्जतको धज्जी उड्ने भएको छ ।

बिहानको खाना दिउँसै खान नहुने बनाका छौ । कहीकतैको यात्रामा आफै बाधा बनेका छौ । बच्चाहरुलाई आपसमा खेल्न भन्दा नदीसँग जोडेर राखेका छौ । बृद्धबृद्धालाई हावा हम्केर बस्न बाध्य बनाएका छौ । वयस्कहरुलाई जंगल पस्ने बाटो देखाएका छौं । काम गरि खानेलाई दिनदिनै नुहाउन बाध्य बनाएका छौ । हरेक प्राणीले तिमीलाई धिक्कार्ने समय आउँदा आउँदै पनि तिमी आफ्नो मर्जिमा रन्किरहेका छौं । वाह !

तिम्रै कारण कुनै दिन आकाशको चराहरुपनि फ्याट्फ्याट् खस्ने दिन नआओस् । तिम्रै कारण जमिनमा धाँजाहरु फुट्ने दिन नआओस् । अब त चाँडै बिदा लिने कोशिस गर, हैन भने हाम्रो आत्माहरुले पनि तिम्लाई धिक्कार्ने समय नजिकिँदै आएको छ । सुन्छु, कहिँकतै मूर्तिमा समेत पसिना आयो रे, लाग्छ यो पनि तिम्रो नै कुनै योजना हुनुपर्छ । वश् ! अति गर्नु अत्याचार नगर्नु रे ! अब तिम्लाई पनि भन्न मन छ, सोध्न मन पर्छ र तिमीसँगै बाजी थाप्न मन छ ।
ए ! गर्मी .... सक्छौं भने अब जाडोमा आएर देखाऊ ।।

Wednesday, February 18, 2015

सोच

“ह्याँ यार .... ढिलो भैसक्यो, जाउँ न भन्या, घर जाने हैन ?” च्याँखेले भन्यो । “हो हो ल जाउँ न त साह्रै अबेर भो घरमा फेरि कराउँछ” उता सुसेले भन्दै थियो । तर, म भने आफ्नै ध्याउन्नमा थिएँ । सबैलाई घर जान ढिला भैसकेको थियो, मलाई भने घरै जान नपरोस् झैं लाग्दैछ । सबैजना उठेर जान ठिक्क पर्दै थियो, च्याँखेले सोध्यो “ओई तँ घर नजाने ?” मैले भनें “यति छिटो के घर जानु ? घर गयो कि सँधै को त्यहि कचकच, कचकच सुन्नुपर्छ, एकछिनमा जान्छु, तिमारुलाई ढिला भए जा न त ।” मेरो अनुमति पछि सबैजना त्यहाँबाट हिँड्यो, म एक्लिएँ ।

एउटा क्यान्सर पाइप मगाएँ र सल्काएँ अनि बनाएँ धुवाँको शहर । कोर्न थालें, त्यसमा आफ्नो चित्र । अनि देखें, आफ्नै अनुहार । “छिः कस्तो नराम्रो”, आफ्नै अनुहार पनि गल्ली गल्ली भौतारिँदै हिड्ने भुस्याहा कुकुरको झैं लाग्यो । प्रतिविम्वित अनुहारलाई थुकें, पुछ्न थालें फेरि । मनमा धुँवाले डेरा जमाउँदै गयो, दिमागले नानाभाती कुराहरु टहल्दै गयो । अनि बिस्तारै आफ्नो कदमलाई ढोकातिर लगें र लागें आफ्नो बाबुको घर ...।

पुग्ने बित्तिक्कै कचकच शुरु भयो आमाको । चुपचाप, भिजेको बिरालो झैं लुसुक्क आफ्नो डेरामा गएँ । कोही कसैसँग बोलचाल भएन । खाना खान बोलायो, मनले मानेन । तरपनि खाना पस्किएपछि नखाउँ अर्को कचकच सुन्छुपर्छ भन्दै भान्छातिर लागें । पस्किएको खानालाई पाचन प्रक्रियामा हाल्न हात उठाउँदै थिएँ । “जहिले यसरी हुन्छ छोरा ? हेर् तँ सँगैको त्यो रामेश्वरको छोरा कहाँ पुगिसक्यो । कत्ति कमाई धमाई छ । अनि त्यो बच्चा बेलामा सँधै स्कुल जान तँलाई लिन आउने सुरजलाई हेर् । आज बाइक लिएर हिँडेको छ । तेरै उमेरका सबैजनाले कत्ति प्रगति गरिसक्यो । अनि तँ भने चैं सँधै यस्तो तालले हुन्छ ?” बुबाको कचकच शुरु भयो ।

यता आमा भन्दै थिइन् “खाने बेलामा त नकराउनु ।” “कराएको हो त ? मैले त सम्झाएको । अनि यि महाशयलाई अरु बेला घर भेट्नै गाह्रो छ, ऐले नभनेर कैले भन्ने ?” बुबाको रिस अझ बढ्दै गयो ।

एक गाँसमा मुखमा थियो त्यो पनि चपाउन मन लागेन । आमा मेरो पक्षमा बुबासँग कराउन थाल्नुभयो, बुबाको रिस सिमाना नाघ्दै थियो । “तिम्रै मायाले पुल्पुल्याएर राख, अनि गर्छ यसले प्रगति । को को कहाँ कहाँ पुगिसक्यो, कस्तो कस्तो प्रगति गरिसक्यो । पल्लाघरे कान्छासाउको छोरा विदेशमा छ । वर्षैपिच्छे लाखौं घर पठाउँछ । हाम्रो भने यस्तो गति छ । के गरि खाला यस्ले ?” बुबाको रिसले अनुहार पुरै डल्ले खोर्सानी खाए झैं भइसक्यो । यता आमा एकशब्द बढी बोल्यो भने बुबा झन् रिसाउनुहुन्छ भन्दै चुपचाप छेवैमा बसिरह्यो, भन्दै हुनुहुन्थ्यो “खाना खा ।”

खानलाई पनि मन चाहियो नि । मनै नभईकन खाएको खाना मुखमा पुगेपनि मेरा यि दाँतहरुले कसरी पो चपाउँलान् र ? मेरो मन, मस्तिष्कले अनुमति नदिएसम्म । उता बुबाको कचकचले कान पाकिसक्यो, यता आमाको मायाले मन पाकिसक्यो । आमाको अनुहार हेर्छु, आमाको मन राख्न खाउँ झैं लाग्छ । उता बुबाको प्रत्येक शब्दले मनभित्र वाँण हानिरहेको छ, लगातार लगातार । अनि मुखैमा भएको एक गाँस चपाउन पनि ढुंगा झैं साह्रो लाग्दैछ ।

“अनि के महाशय ? यसरी नै बित्छ जिन्दगी ? केही काम धन्दा गर्ने विचार छैन ?” प्रश्न गर्न शुरु गर्नुभयो बुबाले । “कि बिहे गर्छस्, बिहे गरेपछि त केही सुद्धी आउँलान् कि तेरो ? हैन भने कि विदेश जाने ? नभए सानो तिनो काम खोज् । यो पाराले तेरो जिन्दगी बन्दैन । सँधै तेई आवारा केटाहरुसँग घुम्दै तेरो पुरै जिन्दगी कट्छ ?” प्रश्नपछि प्रश्न गर्दै प्रश्नको बाढी नै आयो । बाढी थेग्न म सँग केही आधार पनि छैन । त्यहि बाढीमा डुबेर आफ्नो अस्तित्व मेट्न पनि चाहन्छ । के गरुँ ? कसो गरुँ ? को मनसायमा जुरुक्क उठें र लागें आफ्नो बाटो, बाढीको बाटोलाई अर्कैतिर छाडेर ।

“ऊ ऊ ऊ .... केई भन्दै हुँदैन अब गयो” रिसले रातोपिरो भएका बुबा, खाना छाडेर बर्बराउँदै आफ्नो कोठातिर लाग्यो । आमाको आँखाबाट भने पुरै नूनिलो पानीको वर्षात् हुन थाल्यो । पस्किएको खाना पनि नखाई हिँडेकोमा आमा पनि बर्बराउँदै रुन थालिन् । कसरी पो सम्झाउनु, के पो गरुँ ? कुन आधारमा आमाको आँशु पुछ्न जाउँ, कुनै आधार छैन । लाग्न थाल्यो, बाँच्नुको कुनै अस्तित्व छैन । आफ्नो शरीर आफैलाई बोझ लाग्न थाल्यो । मरेरै समस्याको समाधान खोज्ने युक्ति त आयो । फेरि सोचें, थुइक्क म नामर्द त होइन नि ।

रात छिप्पिँदै गयो । टहटह जूनको उज्यालो कोठाभित्र छर्लङ्गै थियो । झ्यालमा आएर बाहिरी दृश्य हेरें, पुरै अन्धकार थियो । मैले आफ्नो फोक्सो पनि त्यस्तै भयो होला भनि सोचें । मनमा अनेक कुराहरु खेल्यो । अब केही गर्नुपर्छ भन्ने मनसाय आयो । अनि फेरि त्यसमै निराशा पनि, गर्ने कसरी ? भन्ने प्रश्नले । बगलीमा भएको एउटा क्यान्सर पाइप निकालें । आफ्नो मनलाई शान्त बनाएँ । भोलिको दिनबाट मैले आफु बाँच्नुको कारण खोज्ने निधो गरें । कुनै सानो तिनो काम गर्ने र कामको खोजीमा हिँड्ने सोच लिएर त्यो मध्यरातमा आफ्नो शरीरका प्रत्येक अंगलाई आराम दिने प्रयत्न गरें । तर, पनि सोच घुमिरहेछ मस्तिष्कमा .... फनफनी फनफनी ।

बिहान सबेरै उठेर बजारतिर लागें । बच्चाहरु पत्रपत्रिका साइकलमा राखेर कुदेको देखें । भन्दै थियो, आजको ताजा खबर आजको ताजाखबर । ताजाखबरको व्यापार गर्दै आफ्नो जिविका गुजार्न बाध्य बालकहरु देखें । अलि पर गएँ, तरकारी बजारमा बिहानैदेखि तरकारीको मोलमोलाई गर्दै रहेछन् त्यस्तै, सातआठ वर्षका बालबालिकाहरु । अभिभावकहरु पनि थिए सँगै । कसैको डोकोभरि गोलभेडा थियो त कसैको डोकोभरी सागपात । बिहानै बिहानै यस्तो दृश्य मैले पहिलो पटक देखेको थिएँ । तरकारी बजारमै बसेर सबैको गुजारालाई नियाल्न थालें । कृषिप्रधान देश भएर हो कि जस्तो पनि लाग्यो, एक क्षण त । सबैजना विभिन्न किसिमका तरकारीको बिक्रि गर्दै आफ्नो जिविकोपार्जन गरिरहेका थिए । उनीहरुको आफ्नो बाँच्ने आधार कृषि रहेछ, यस्तै लाग्यो ।

रिक्सा चलाउनेहरु कसरी आफ्नो रिक्सा भरौं र सामान पुर्याएर पैसा लिउँ भैरहेको देखें । लोकल बसतिर नजर लगाएँ त्यस्तै, कसरी आफ्नो गाडी भरौं भन्ने समस्या पर्दै थियो, गाडीका स्टाफहरुलाई । पत्रपत्रिका बेच्नेहरु नयाँ नयाँ बहाना बनाउँदै पत्रिका बेच्न मस्त थिए । एकजना त मेरो अगाडी पनि आइपुग्यो, भन्दै थियो “ऋतिक रोशनसँग डिभोर्स गरेर सुजेन अर्काेसँग मस्त भनेर लेखेको छ, पढ्नुस् न दाई, एउटा लिइदिनुस् ।” “कत्ति हो ?” मैले सोधें । उसले भन्यो “पाँच रुपियाँ ।” एउटा पत्रिका लिएँ र पढ्न थालें । पाएँ, त्यो केटोले जति भनेको थियो, त्यति नै मात्र लेखेको रहेछ तर त्यही थोरै कुरालाई धेरै अक्षरहरुमा भने ढालेका रैछन् ।

बाटोमा आफ्नो गन्तव्य खोज्दै हिँडे । रसआवर शुरु भए जस्तो लाग्यो । बाटोमा मानिसका चाप देखेर आफुले टेक्नलाई ठाउँ पनि नपाएको महसुस हुन थाल्यो । यता हेर्छु सबका सब हतारमा छन्, उता हेर्छु सबका सब हतारमा छन् । बिहानी शत्रको कलेज छुट्ने, विद्यालय जाने समय, त्यति नै बेला । विद्यालय, कलेज पोशाकका युवायुवतीहरु आआफ्नै समूह बनाएर ख्यालठट्टा गर्दै हिँडिरहेछन् । अफिस जाने प्रत्येकलाई आफु छिटो अफिस पुग्न अरुको वास्तै नगरि कुदिरहेछन् । एकछिन टक्क अडिएँ र चारैतिर नजर लगाएँ । अनि सम्झें, यो संसारको सबैभन्दा फुर्सदिलो मान्छे म पो रहेछु ।

एकजना फुच्चे “दाई एक रुपियाँ” भन्दै आइपुग्यो । लुगा हेरें, कत्ति महिना पो भयो होला नधोएको, सायदै वर्षदिनै पो भयो कि ! नाकमा सिँगानको टाटो त्यस्तै देखिन्थ्यो, लुगा पनि ठाउँठाउँमा च्यातिएको । आफैलाई उकुसमुकुस भएर आयो । चानचुन हेरें, रहेनछ, पाँचको नोट दिएर पठाएँ । ‘यसरी पनि किन जिउँछन् मान्छे, केही काम गरेर खानू नि, यसरी चल्ने जिन्दगी पनि जिन्दगी हो र ?’ झैं लाग्न थाल्यो ।

एउटा पसलमा लागें । रामैं चिनजान थियो । सँगै बसेर चिया पिउँदै गफ्फिन थालें । सोध्यो “अनि के छ त विचार अब ?” मैले भनें “खोई दाई ! म त जिउने आधार खोज्दै हिँडेको ।” उसले सोध्न थाल्यो “पायौ त ?” “कहाँ पाउनु र खै ? सबैजना आआफ्नै तरिकाले जिएका छन्, के गरुँ के गरुँ चै भइराख्या छ” आफ्नो दुःखेसो पोख्दै भनें । “अब के भन्नू र तिम्लाई खै, व्यापार व्यवसाय गर भनूँ भने मेरो पनि उस्तै समस्या भइसक्यो, आज होला छैन भोलि होला छैन, बैंकबाट लिएको ऋणको ब्याज तिर्न पनि धौ धौ भइसक्यो” आफ्नो दुःखेसो उल्टो म माथि पोख्न थाल्यो । आआफ्नो दुःख एकअर्कालाई सुनाउँदै दिन त्यहीँ बित्यो । उसले सुनाएको एउटा कुराले बाँच्ने आधार खोज्न अझै गाह्रो बनायो “मान्छेहरु अरुले यति र उति प्रगति गर्यो भनेर देख्छन् तर तिन्लाई के थाहा र प्रगति गर्दा पनि कत्ति दुःख भोग्यो र प्रगति पछि पनि कत्ति दुःख खाँदैछ भनेर !”

मनलाई प्रश्नको वाणले हान्न थाल्यो । दिमाग चलमलाउन छाड्यो । कछुवा गतिमा घर फर्किएँ, बाटोमा केटाहरु गफ्फिँदै थिए “हैन ओ ... लागम् या विदेशतिर, यो नेपालमा बसेर त खै कैले प्रगति हुने भएन । बाहिर भए आनन्द छ दरो कमाई हुन्छ, यता आएर शानले बस्न पाउँछ ।” अर्काे केटा भने विदेश जान मन नभएर होला, भन्दै थियो “विदेश विदेश भनेर विदेश जाँदै रुखमा फलेको पैसा टपक्क टिपेर आउने हैन क्यार ! विदेश गएर राम्रो ठाउँमा बसी राम्रो कमाई गर्न भाग्य चाहिन्छ ।” उनीहरु वहस गर्दै थियो, विदेश जाने कि नजाने भनेर । एउटा विदेश जान जोड दिँदै थियो र अर्को नजाने पक्षमा, वादविवाद चर्किँदै गयो । “विदेश जाने र नजाने कुरामा किन वहस गर्छौं, मन भए जानू, मन नभएर नजानू तर भाग्यमा छ भन्दैमा डोकोमा दूध राखेर अड्दैन भनेर थाहा नै होला” बीचैमा आफ्नो नायकको भूमिका देखाउन टम्सिएँ म । “हामी बीचको कुरामा तँपाई को ? हामी जेसुकै गरुँ तँपाईलाई के ? जानूस् आफ्नो बाटो” एउटा खाउँला झैं गरेर भन्यो । त्यसपछि, यूवाहरुको रगत तातो हुन्छ भन्दै आफ्नो बाटो लाग्नू वेश लाग्यो ।

बाँच्ने आधार खोज्ने मेरो सोचले आज पुरै शहर डुलायो तर पाइँन । बाटोमा बच्चादेखि बृद्धबृद्धासम्मले आफ्नो जिविकोपार्जन गर्ने अनेकन उपाय देखाए, तर मैले रोज्न सकिँन । न त नराम्रो काम गर्ने सोच आयो न त राम्रो काम खोज्ने सोच । कहीँ कतै गएर पनि आफ्नो भविष्यको बाटो रोज्न सकिँन । पत्रपत्रिका बेच्न जाउँ, बुबाको इज्जतको ख्याल गरें । मागेर खाउँ, हातखुट्टा सबै सद्दे छन् । कुनै तल्लो वर्गको काम गर्न बुबाको इज्जतले नदिने, अनि माथिल्लो वर्गको काम गरौं, अनुभव माग्ने । आजसम्म कुनै काम नै गरेको छैन भने म कहाँबाट ल्याउँ अनुभव ? जन्मिने बित्तिकै त पक्कै आउँदैन । कुनै व्यापार व्यवसाय गरुँ, पूँजी कस्ले दिने ? कुनै पनि क्षेत्र आफ्नो लागि हो भन्ने सोचमै आएन । लाग्छ, एउटा दलदलमा फस्दैछु, आफ्नो शरीरलाई त्यहाँबाट निकाल्न नसक्ने भए झैं । अन्तिम सोच, विदेश जाने आयो तर फेरि त्यही केटाको शब्दले मनलाई घोच्यो, “विदेशमा पैसाको रुख छ र? टपक्क टिपेर आउन ?”

लाचार भएर आफ्ना थाकेका खुट्टाहरुलाई बुबाको घरतिर बढाउँदै थिएँ । घरअघि पुगें, ढोकामै ठेस लागेर लडें । “ऊ .... आफ्नै शरीरलाई ठेगानमा राख्न सक्दैन, के भविष्य बनाउँलान् यस्ले” भन्दै बुबा भित्रबाट कराउन थाल्नुभयो । आमाले मलाई उठाउन मेरो अघि आउनुभयो र भन्नुभयो “बुबाको कुराले मन नदुखाएस्, उठ् अब !” उठ्न खोजें तर सकिन । आफ्नै शरीरको शक्ति कम भएको भान भयो, आफ्नै शरीरलाई उठाउन हरप्रयास गरें, तर सफल भइँन । आमाका दुईहातले मलाई उठाउन खोज्यो, आमाको सहाराले म बिस्तारै उठ्दै थिएँ तर आफैले आफैलाई सम्हालिन सकिँन, लडें फेरि । आमाले “उठ् .. उठ् ....” भन्दै थियो । तर, मेरो शरीर चलमलाउन सकेन, म लडिरहें .... । आमाको स्पर्शले मेरा लाचार नजरहरु आमातिर फर्किए, आमा भन्दै हुुनुहुन्थ्यो, “उठ् अब कत्ति सुतेको ? बिहानको १० बजिसक्यो ।”

राजधानी यात्रा

बिहानीपखको सुर्यको स्पर्श मलाई सँधै मिठो लाग्छ । त्यही किरणसँग मैले कैयौं समय बिताएको छु, तर आज केही फरक महसुस भइरहेछ । किन किन आज घामको तापले त्यति न्यानोपन दिन सकिरहेको छैन । सबै सँधै एकैनासको कहाँ पो हुन्छ र ? यसैमा चित्त बुझाएँ र राजधानी जाने तयारीमा लागें ।
उही त हो, लोकल बस अनि अफिस टाइम् । मसँगै बसस्टपमा कुरिरहेथे, कोही बनेपा, कोही साँगा, कोही भक्तपुर त कोही राजधानी छिर्नको लागि । ऊ बेला बुढापाकाले भन्ने गरेको नेपाल, म पनि धेरै समयपछि जाँदै थिएँ । बसस्टपमा धेरै किसिमका मानिस देखें, लठ्ठी टेक्दै गरेका बुढापाका, जो भीड गाडी चढ्न नसकी खाली गाडीको पर्खाइमा थियो । स्कुल कलेज पढ्ने युवतीहरु गाडी रोक्ना साथ चढ्न आतुर भएर पखाईमा थियो भने युवाहरु गाडीको ढोकैमा भएपनि झुण्डेर यात्रा गर्न बाध्य थिए । आइमाइ, केटाकेटीहरु सके चढ्ने, नसके अको पर्खने । आएको गाडी छोड्नुपर्दाको पीडा उसैको अनुहारले बताउँथ्यो, कि उसलाई कति ढिलो भइसकेको छ । अनि ठेलम्ठेल गरेर भित्र जाँदा भने पीडा बिर्सेर उसको मुहारमा हाँसोले ठाम् ओगट्छ । यसरी म पनि ढोकामै झुण्डिन विवश भएँ ।
हात फतक्क गल्यो । पैसा उठाउने सहचालक त परिन नि झुण्डेरै यात्रा गर्नलाई त । ढोकाबाट आवाज आयो, “अलि भित्र जानुस् न, एक पाइला ।”
एकातिरबाट सुनियो, “यो भिन्दा भित्र काँ जानु ? ठाउँ छैन ।”
फेरि ढोके आवाज, “उ त्याँ छ नि (नभएको ठाउँ देखाउँदै) एकपाइला सर्नु न, ढोकामा धेरै भयो ।”
कुन्नि कताबाट आवाज आयो, “भाई पछाडी ढोका राख्नु, अगाडिबाट चढ्दै पछाडीबाट झर्दै गर्छन् ।”
बस रोकियो । ढोकामा भएकालाई नि ठेल्दै अर्काे एकजना कोच्न थाले, भन्दै थिएँ, “दाई अलि भित्र जानुस् न । दिदी अलि उता सर्नुस् न ।”
यो अवस्थाले लाग्यो, यी सवारीका कर्मचारी कस्ता ? यात्रुजति सबै गुन्द्रुक हुन् र ? अचार बनाउन कोच्या ? नभा ठाउँमा कसरी सर्नु ? ठाउँ नहुँदा नहुँदै पनि एकजना चढाउन गाडी रोकि भित्र जानु भन्ने कस्ता ? यावत् प्रश्नले मेरो मनमा बिझिरह्यो ।
बल्ल तल्ल ढोकाभन्दा केही पर पुगें । कुन चाहिँको हिलले कुल्चियो र भनें, “दिदी तपाइको हिलले कुल्च्यो ।”
माफ मागेर खुट्टा सार्नु त कता हो कता, “नीजि कार हो र नकुल्चिन ?” भनेर उल्टै आँखा तर्दै अलिक पर छिचोल्यो ।
बनेपा आइपुग्दा नपुग्दै ढोके आवाज फेरि आयो, “काठमाडौं जाने मात्र बसौं है, झर्नेले हातहातमा पैसा बोकेर आम् ।”
लाग्छ आफु चढेको बसलाई जति हतार अरु कसैलाई पनि छैन । करीब आधाजति यात्रु बनेपामै ओर्लिए । सिट खाली भयो । महिला र अपांग सुरक्षित सिटमा आफू के बस्नु भनि पछाडी गएँ । तर वास्तविकता खाली सिट कसले पो छाड्थ्यो र ? आफूलाई अन्तिम क्याबिन सिट मनपर्ने भएर पो पछाडी गएको त ।
आफूभन्दा अगाडि एकजोडी आएर बस्यो । मुहारमा चमक थियो, लाग्योः भर्खरको नयाँ जोडी रैछ । बस अलिक पर गुड्यो, अनि रोकियो । एकजना झ्याप मुडमा बोल्दै आयो,
“विश्वास नगर, एकअर्काको विश्वास नगर (केटीतिर इंगित गर्दै भन्यो) धोका दिन्छे यसले, धोकेवाज हो केटीहरु, बेलैमा होस् गर धोका पाउँलास् ।”
दुवैको अनुहार रातोपिरो भयो । झ्याप मान्छे गाडीबाट ओर्लियो । ती जोडी हेराहेर भए । केटाले सोध्यो, “को हो चिन्छौ ?”
केटीले भनिन् “अहँ चिन्दिन ।”
आखिर को रैछ त्यो मान्छे, गाडीमा कसैले पनि चिनेन । तर, अगाडीबाट आवाज आयो, “कुन केटीले धोका दिएर यो हाल भाको होला यसको, त्यही भएर जोडी देख्नै नहुने भएर होला ।”
आ... जे होस् भन्दै बगलीबाट हेडसेट झिकें र सुन्दै बाहिरको दृश्यमा आँखा भिजाउन थालें ।
पैसा उठाउँदै आयो, सहचालक । सहचालक त भन्न नमिल्ने हो, तर पनि यहाँ सहचालक बाहेक अन्य शब्द प्रयोग गरेमा फेरि मानहानी हुन सक्ला ।
“कहाँसम्म हो ?”
“सुर्यविनायक” जोडीमध्येको केटाले बोल्यो “कति हो ? कार्ड छ ।”
“१२ रुपिँया एकजनाको”
५० को नोट झिकेर दियो । सहचालक २० र ५ को नोट फिर्ता दिँदै “चानचुन छैन ल” भन्दै मतिर बढ्यो ।
“कहाँसम्म ?”
“रत्नपार्क, कार्ड छ, कति हो ?” एकैपटकमा सोधें ।
“२७”
यताउता सबै हेरें चानचुन रैनछ मसँग, २० र ५ को नोट दिएर भनें “चानचुन रैनछ २५ ले हुन्न ?”
“हुन्न दाई, चानचुन होला हेर्नुस् ।”
पर्सदेखाउँदै भनें, “पाँचसय र हजारको मात्र छ । २५ ले भैहाल्छ नि ।”
“कहाँ हुनु ? हुन्न । बरु ५ सय दिनुस् म साटिदिन्छु ।”
उसले ५ सयकै नोट साट्यो ।
दिनुपर्दा १ रुपिँयालाई चानचुन सम्झेर छैन भन्नेले २ रुपिँयाको लागि मेरो ५ सयको नोट साट्यो । यस्तो छ व्यवहार, बसस्टाफहरुको । धन भनेपछि महादेवको तीन नेत्र खुदल्छ भन्ने कुरा यहाँ साबित भएँ झैं लाग्यो ।
सम्झिएँ, ऊ बेलाको बाजेको कुरा । २ रुपिँया बोकेर नेपाल गएको । खाना र खाजामा ५० पैसा सकियो रे अनि एकरात उतै बिताउन १ रुपिँयामा कोठा पाएको रे । भोलिपल्ट फर्किँदा साँगामा पुगेर २० पैसाको टन्न पेटभरि दहीचिउरा खाएका रे । फर्किँदा ३० पैसा बगलीमै फर्कियो रे । यस्तो छ परिवर्तन.... आफ्नै बाजे र नातिको समयमा, गर्ने के ?
शहिदगेट मै झरें । न्युरोड हुँदै बसन्तपुर दरबार लागें । बाटोमा हर्नको आवाजले कान पाक्यो, धुँवाले नाक खिरायो, अनि बाटोमा आम्माम्मा के सारो छोटो लुगा हो, सेता सेता साप्रा टलक्क टलक्क टल्किन थाल्यो । शहरीकरणले बाटोमा हिँड्न गाह्रो भएको अवस्थामा यी आँखामा छारो हाले । तरुनीलाई म सँधै आँखाको छारो भन्ने गर्छु, किनकी आँखामा बिझाइहाल्छन्, के गर्नु ?
पश्चिमी मुलको फेशनको बढ्दो विकासले गर्दा होला, बाटो हिँड्दापनि केटीहरुतिर आँखा लान गाह्रो भो । कोही सेता साप्रा तेस्र्याउँदै त कोही वक्षस्थलको उँभो भाग देखाउँदै । आम्माम्मा चस्मा कस्तो हो ? आँखा भन्दा त कति ठूला कति, नापेर साध्यै छैन । त्यो त भयो भयो, एउटी पहेंलो पोशाकमा स्कुटी पिँपपिँप पार्दै आउँदै थिइन्, अगाडी परेको थें म । स्कुटीमा कति छोटा लुगा लगाका ए, हावाले फर्लक्क पार्यो भने सत्यानाश । के भका आजकालका तरुनी ??
बसन्तपुर, असन हुँदै भोटाहिटीबाट रत्नपार्क फर्किएँ । सबैठाउँको काम सकेर आउँदा करीब ५ बजेको थियो । आकाशे पुलमा थिएँ, हेरें एकछिन काठमाडौं शहर । बाटोमा चिल्ला चिल्ला गाडी गुडिरहेथे तर त्यही गाडी गुड्ने बाटोमाथि रहेको पुलमा असहाय, अशक्तहरु १÷२ का सिक्का र ५ का नोटसँग रमाइरहेका थिएँ । बाटोमा हेरें सबका सब हतारिरहेछन्, रोडमा हेरे उस्तै गतिमा सवारीसाधन ।
मौनतासँगै रत्नपार्क आइपुगें । प्यास लाग्यो र पानी किनें, मिनरल वाटर बोटलको रु.२० । पानी समेत किनेर खानुपर्ने अनि मल निकाल्न पनि पैसै तिर्नुपर्ने, ए काठमाडौं । पानी एक घुट्को पिएँ, थोरै प्यास मेटे झैं भयो, दोस्रो घुट्को लगाको .... सबै बाहिरै निस्कियो, के साह्रो तीतो पानी हो । तीतपाते नै मिसाए झैं, बोटलै फ्याँकिदिएँ ।
रत्नपार्कमा एकजना भन्दै थियो “बनेपा पनौती एक्सप्रेस बीचमा ओर्लने नचढ्नु ।”
चढ्न लाको थिएँ सोधिहाल्यो, “कहाँ ?”
“बनेपा” मैले भनें ।
बाटो छाडिदियो ।
बिस्तारै घामको मधुरो किरणसँगै दिनभरिको पसिनाको गन्धलाई साथमा लिएर राजधानीलाई बाईबाई गर्दैथिएँ । कोटेश्वरबाट गाडी भीड भयो । उभिएकी तर अलिक बिरामी जस्ती देखिने केटी आएर सिधै मलाई आग्रह गरिन्, “दाई मलाई अलिक गाह्रो भयो, झ्यालपट्टी छाडिदिनुहुन्छ ?”
“बिरामी जस्तो देखिन्छौं नि ! के भयो ?” मैले भनें ।
“अँ अलि अलि ।”
मैले सिट छाडिदिएँ ।
सिटमा बसेपछि पर्सबाट मोबाइल झिकेर चलाउन थालिन् । ओर्लने ठाउँसम्म उनलाई लिनको लागि कसैलाई बोलाउन फोन गरेकी होलिन् । बिरामी छिन् उनी, त्यसैले भन्ठानेको के खाएर हुन्थ्यो, फोनमा त मज्जाले हाँसी हाँसी बात मार्न थालि भन्दै थिई, “मैले सिट पाएँ ।”
समाप्त

गुणस्तरीय शिक्षाका लागि एकसाथ अघि बढौं

शिक्षा शब्द ‘क्षा’ धातुमा ‘अ’ प्रत्यय मिलेर बनेको हो । शिक्षाको अर्थ हुन्छ, सिकाउनु । सामान्य रुपमा नै शिक्षा भन्नाले सिक्नु, सिकाउनु, ज्ञान आर्जन गर्नु, अध्ययन गर्नु भन्ने बुझिन्छ । शिक्षा जुनसुकै तरिकाले पाउन सकिन्छ । बाल्यकालमा आमाको काखबाट शुरु भएको शिक्षा आर्जन समाज, घरपरिवार, साथीभाइ, विद्यालयबाट समेत पाउन सकिन्छ ।
कुनै पनि विषयको ज्ञान आर्जन गर्नु मात्र नभई व्यवहार, सीप सिकाउनु पनि शिक्षा हो । मानिसको चेतनालाई अभिबृद्धि गर्ने माध्यम नै शिक्षा हो । मानिसलाई समाजमा चिनाउने, सबैकुरामा परिपक्व बनाउँदै लैजानेसँगै दक्ष जनशक्तिको रुपमा तयार पार्ने शिक्षा नै हो । शिक्षा विद्यालयमा अध्ययन गरेर, घरपरिवारमा छलफल गरेर पाउन सकिन्छ भने समाजमा स्थापित हुन गरिने संघर्षबाट समेत शिक्षा आर्जन गर्न सकिन्छ ।
विश्वका सम्पन्न मुलुकहरुलाई हेर्ने हो भने सबैभन्दा ठूलो बजेट शिक्षालाई छुट्याएको देखिन्छ । यसैकारणले पनि होला ती मुलुकहरु विकसित भएका । शिक्षाबिना मानिसको चेतनास्तर कम हुन्छ । मानिसको उत्पादनशीलमा कमी हुन्छ । त्यसैले शिक्षामा लगानी गरेर उल्लेख्य प्रगति गरेका मुलुकहरु अहिले विश्वसामु सम्पन्न देशको रुपमा परिचित छन् ।
शिक्षा सबैका लागि अनिवार्य छ । अहिलेको शिक्षा, परीक्षामुखी मात्र नभई दक्ष जनशक्तिको उत्पादन गर्नेमा केन्द्रीत हुनुपर्ने आजको आवश्यकता हो । आजको शिक्षा त्यस्तो हुनुपर्छ, जसले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्छ । आजको शिक्षा भनेको समाजमा रुपान्तरण ल्याउन सक्ने किसिमको हुनुपर्छ । आजको शिक्षा राष्ट्रप्रति जिम्मेवारी, समाजप्रति उत्तरदायी हुनुपर्छ ।
नेपालको अन्तरिम संविधान २०६३ मा पनि शिक्षालाई मौलिक हकका रुपमा स्पष्ट पारेको छ । अन्तरिम संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क माध्यमिक तहसम्मको शिक्षा पाउने हक भएको उल्लेख गरिएको छ । यसैले पनि प्रत्येकले शिक्षा पाउनु नैसर्गिक अधिकार हो । देशको मुहार फेर्न सक्ने एकमात्र हतियार भनेको शिक्षा हो । देशलाई सम्पन्नताको स्थितिमा लान महत्वपूर्ण भूमिका खेल्ने नै शिक्षा भएकोले राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्छ । कुनै पनि आमहड्तालले विद्यालयलाई क्षति पुग्नु हुँदैन । कुनै पनि विद्यालय, शिक्षकशिक्षिका, शिक्षासेवी लगायत सरोकारवालाहरु कुनैपनि पार्टीको पक्षमा हुनुहुँदैन । विद्यालयका विद्यार्थीलाई सडकमा उतार्ने, आन्तरिक कलहमा विद्यालयमा तालाबन्दी गर्ने, राजनैतिक भागवण्डाका कारण विद्यालय बन्द हुने, विद्यालयका शिक्षकहरुलाई पार्टीको सदस्यता दिलाउने लगायतका कार्यहरु बन्द हुनुपर्ने देखिन्छ ।
वि.सं. २०२८–२०३२ को राष्ट्रिय शिक्षा पद्दतीमा शैक्षिक विकासका लागि नीजिकरणमार्फत शिक्षालाई खुल्ला पनि गरियो । वि.सं. २०४६ को राजनैतिक परिवर्तनसँगै शिक्षा विकासको लागि नीजि विद्यालयहरु खोल्न शुरु भयो । सामुदायिक शिक्षण संस्थाको तुलनामा नीजि शिक्षण संस्थाहरुले शिक्षामा पु¥याएको योगदान प्रशंसनिय छ । नेपालको अहिले स्थितिमा नीजि शिक्षण संस्थाहरुले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको लागि दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा अहम् भूमिका निर्वाह गरिरहेका छन् । नीजि विद्यालयहरुमा लाखौं, करोडौंको लगानी रहेको हुन्छ । जसको कारणले उचित व्यवस्थापन, समयसापेक्ष अध्ययनअध्यापन, उचित शैक्षिक वातावरण, दलगत राजनीतिकरणको अभाव रहेका हुन्छन् । यसको अलावा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीको उचित सिकाइको साथसाथै अनुशासित बन्न सिकाइरहेका हुन्छन् । नीजि विद्यालयमा नियमितता हुने गरेको छ भने नयाँ नयाँ प्रविधिहरु आएसँगै प्रयोग समेत गरेको पाइन्छ । नीजि विद्यालयले विद्यार्थीलाई मात्र हैन शिक्षकशिक्षिकालाई समेत अनुशासित बनाएका हुन्छन् । विद्यार्थीको चेतनास्तर बृद्धि गर्न मात्र नभई अतिरिक्त क्रियाकलापहरु समेत उचित व्यवस्थापनका साथ संचालन गरिरहेका छन् ।
यहाँ नीजि विद्यालय नै राम्रा भन्न खोजिएको भने पक्कै होइन । सामुदायिक तथा सरकारी विद्यालयका तुलनामा नीजि विद्यालय केही कदम अगाडी भने पक्कै रहेको छ । तर, कहिँकतै भने सामुदायिक विद्यालयपनि नमुनाका रुपमा देखा परेका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुपनि नीजि विद्यालयसँग प्रतिस्पर्धामा उत्रन थालिसकेका छन् । अहिलेको अवस्थामा नतिजालाई नै गुणस्तर मान्ने गरेको पाइन्छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, उत्कृष्ट अंक ल्याउने, प्रथम श्रेणी ल्याउने, विशिष्ठ श्रेणी ल्याउनेलाई गुणस्तरको हिसाबले हेर्ने गरिएको छ, तर शिक्षाको गुणस्तर त्यसरी मापन गर्नु कत्तिको उचित हो ? विद्यालयको गुणस्तरको मापन नै गर्ने हो भने पाठ्यक्रम, भौतिक पक्ष, शिक्षा प्रणाली, पाठ्यपुस्तक, शिक्षकशिक्षिका, शैक्षिक सामग्री आदिको मुल्यांकन गर्नु जरुरी छ ।
नेपालको सन्दर्भमा शिक्षा गुणस्तर कमि हुनुमा धेरै समस्या रहिआएका छन् । विद्यालयमा उचित शैक्षिक वातावरण नहुनु, शिक्षण तालिम कम हुनु, प्रभावकारी निरीक्षण नहुनु, वित्तीय अभाव, प्रशासनिक जटिलता, शिक्षकशिक्षिकाहरु व्यावसायिक विशेषताले पूर्ण हुन नसक्नु, पाठ्यपुस्तक समयमा उपलब्ध नहुनु लगायतका समस्याहरु रहेको विभिन्न अनुसन्धानले बताउँछ । शिक्षा क्षेत्रमा विकासको फड्को मार्ने हो भने राज्यले शिक्षा क्षेत्रलाई छुट्याएको बजेट प्रतिशतमा बृद्धि गर्न आवश्यक देखिन्छ ।
गतवर्षको प्रवेशिका परीक्षाको नतिजा हेर्ने हो भने पनि नीजिको तुलनामा सामुदायिक तथा सरकारी विद्यालयको नतिजा पछाडी रहेको देखिन्छ । सरकारी विद्यालयमा धेरैको संख्यामा विद्यार्थीहरु परीक्षामा असफल हुनुको कारण आखिर के हो त ? यसको बारेमा खोजीनीति नै गर्ने हो भने विभिन्न समस्याहरुको पहिचान गर्न सकिन्छ । बन्द हड्तालले पूर्ण रुपमा विद्यालय संचालन हुन नसक्नु, दरबन्दी अनुसार शिक्षक नपुग्नु, कतै खेताला शिक्षक त कतै राजनैतिक हस्तक्षेपले विद्यालयलाई असर पारिरहेको देखिन्छ । पाठ्यपुस्तक समयमा नपुग्नु जस्ता कारणले पनि नतिजामा असर पारिरहेको छ ।
सरकारले शिक्षा नीतिमा विभिन्न अभियानहरु नै चलाएको छ । जस्तो कि, सबैका लागि शिक्षा, अनिवार्य शिक्षा, महिला शिक्षा, एक बालक एक ल्यापटप, अनाथ बालबालिकाका लागि विशेष शिक्षा लगायतको अभियान संचालन गर्दै आएको छ । नेपालको साक्षरता दरलाई हेर्ने हो भने वि.सं. २००७ सालमा २ प्रतिशत साक्षर रहेको थियो । शिक्षामा नीजिकरण लागू भएपछि वि.सं. २०६८ सालमा आएर ६५ प्रतिशत साक्षर छन्, नेपालमा ।
हालसालैमात्र काभ्रे जिल्लामा साक्षरता अभियान संचालन भैरहेको छ । जिल्लाबाटै निरक्षर उन्मुलन गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालय लगायत सरोकारवालाहरु लागिपरेका छन् । चालु आ.व. ०७०÷०७१ भित्र काभ्रेपलाञ्चोक जिल्लालाई निरक्षर उन्मुलन गर्ने लक्ष्य लिइएको छ । उक्त अभियान असम्भव त पक्कै छैन तर पहिले पहिलेको अभियान झैं यस अभियानमा पनि सरकार चुक्ने हो भने फेरि पनि प्रश्नचिन्हहरु खडा हुनसक्छन् ।
यसैले, शिक्षालाई गुणस्तर बनाउने र निरक्षरतालाई उन्मुलन गर्न चालिएका कदमहरुलाई सफल बनाउन र योजनालाई कार्यान्वयन गर्न सबै पक्ष हातमा हात मिलाएर अघि बढ्नुपर्छ । हैन भने फेरि पनि शिक्षा एउटा बहसको विषय मात्र हुनसक्छ, कोही कसैको कमाउने थलो बन्न सक्छ..... अनि फेरि प्रश्न चिन्ह खडा हुनसक्छ, “शिक्षा के र कस्का लागि ?”

नेपाली क्रिकेट र विश्वकप यात्रा

विश्वकप प्रतियोगितामा सहभागिता जनाउने इच्छा सायदै कुन चाहिँ देशको नहोला ? विश्वमाझ आफ्नो देशलाई चिनाउन भएपनि विश्वकपमा सहभागीता जनाउनु हरेकको इच्छा रहेको हुन्छ । यस्तैमा, यो वर्ष नेपाली क्रिकेट टोलीले पनि टीट्वाण्टी विश्वकपमा सहभागिता जनाएको छ । सहभागिता मात्र हैन, नेपाली क्रिकेटको प्रदर्शनले पनि धेरै नेपालीको मन जित्न सफल भएको छ ।
सन् १९२० मा राणाकालीन समयमै नेपालमा भित्रिएको क्रिकेटले यस वर्ष विश्वकप प्रतियोगितामा सहभागिता जनाएको छ । सन् १९४६ मा क्रिकेट विकासको लागि क्रिकेट एशोसियसन अफ नेपालको शुरुवात भएको थियो । तत्कालिन समयमा राणाहरुले मात्र खेल्ने गरेको क्रिकेट अन्ततः सन् १९५१ मा राणाशासनको अन्त्यसँगै सर्वसाधारणले पनि क्रिकेट खेल्न पाएको थियो । जसकारण, क्रिकेट एशोसियसन अफ नेपाल, सन् १९६१ मा आएर नेपाल खेलकुद् परिषद्को एक हिस्सा बनेको थियो । राष्ट्रियस्तरमा क्रिकेटको विकास गरिने भनिएपनि सन् १९८० सम्म भने काठमाडौंमा मात्र सिमित थियो । सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को सदस्यता पाएको नेपालले सन् १९९० बाट क्षेत्रीयस्तरमा विभिन्न प्रतियोगिताहरु आयोजना गर्न थालियो ।
सन् १९९६ मा मलेशियामा आयोजना भएको एसीसी ट्रफीमा सहभागिता जनाउँदै पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा खेल खेलेको नेपाल उक्त प्रतियोगितामा चौथो भएको थियो । सन् १९९८ को एसीसी ट्रफीको आयोजना गरेको नेपालले उक्त प्रतियोगितामा भने कुनै उपलब्धी हासिल गर्न सकेको थिएन ।
सन् २००० मा आएर १९ वर्षमुनिको विश्वकपमा सहभागीता जनाएको नेपालले आठौं स्थानमा हासिल गरेको थियो । सोही वर्ष नेपाली सिनियर टोली भने युएईमा भएको आइसीसी ट्रफीको सेमिफाइनलसम्म पुगेको थियो । सन् २००२ मा नेपालले एसीसी ट्रफीको दोस्रो स्थानमा चित्त बुझाएको थियो । सन् २००४ मा पहिलो पटक फस्ट क्लास क्रिकेट खेलेको नेपालले आइसीसी इन्टरकन्टिनेन्टल कपमा पनि सेमिफाइलनमै चित्त बुझाएको थियो ।
सन् २००६ मा म्यानम्यारलाई १० ओभर १ बलमा मात्र १० रनमा समेटेर नेपालले १० विकेटको जित निकाल्दा विश्व चकित भएको थियो । सोही वर्ष मलेशियामा भएको एसीसी ट्रफीको फाइनलमा अफगानिस्तानसँग पराजित नेपालले सन् २००६ को एसीसी प्रिमियर लिग भने जितेको थियो । सन् २००८ मा डिभिजन ५ को वल्र्ड क्रिकेट लिग  खेलेको नेपाल अफगानिस्तानसँग पराजित भएपछि सन् २०११ को विश्वकप खेल्नबाट बञ्चित भएको थियो । सन् २०१० मा डिभिजन चारमा उक्लिएको नेपाल सन् २०१२ मा डिभिजन तीनमा उक्लिएको थियो । डिभिजन तीनमा उक्लिन अमेरिका बिरुद्धको खेलमा सुभाष खकुरेल र डेनमार्क बिरुद्धको खेलमा अनिलकुमार मण्डलले शतक पूरा गरेका थिए भने बसन्त रेग्मी म्यान अफ ट टुर्नामेन्ट भएका थिए ।
सन् २०१२ को इलाइट एसीसी ट्रफीको फाइनलमा युएईसँग बराबरी भएपछि ट्रफी बाँडेको थियो । नेपालले सन् २०१३ को एसीसी टीट्वाण्टी कपको फाइनलमा अफगानिस्तानसँग पराजित भएपनि आईसीसी टीट्वाण्टी विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउन सफल भएको थियो । युएईमा छनौट चरण खेलेको नेपालले प्रतियोगितामा तेस्रो स्थान हात पार्दै सन् २०१४ मा  बंगलादेशमा आयोजना भएको विश्वकपमा सहभागीता जनाउन पाएको थियो ।
बंगलादेशमा भएको टीट्वाण्टी विश्वकपमा नेपालले पहिलो खेलमा हंगकंगलाई ८० रनले पराजित गरेको थियो । जसमा, नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हंगकंगलाई ६९ रनमा समेटेर नेपालले ८० रनको जित निकालेको हो । नेपालको तर्फबाट म्यान अफ द म्याच शक्ति गौचनले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए भने बसन्त रेग्मीले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । जुन, टीट्वाण्टी विश्वकपमा नयाँ रेकर्ड समेत हो ।
दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । नेपालले ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । बंगलादेशले २ विकेटको क्षतिमा उक्त विजयलक्ष्य हासिल गर्यो । पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा भने बलिङ पक्षलाई राम्रो बनाउन सकेन, नतिजा पराजित भयो । आइसीसीले टेस्ट मान्यता दिएको राष्ट्रहरुसँग नेपालले खेलेको यो नै पहिलो खेल हो ।
नेपालले विश्वकपको क्वालिफाइङ्ग राउण्डको अन्तिम खेलमा अफगानिस्तानसँग ऐतिहासिक जितको नतिजा निकालेको थियो । हालसम्मको खेलहरुमा सँधै अफगानिस्तानसँग पराजित भएको नेपालले उक्त खेलमा भने ९ रनको जित पारेको थियो । पहिले ब्याटिङ आमन्त्रण पाएको नेपालले ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । जसको लागि सुभाष खकुरेलले ५६ रन बनाउँदै नेपालको तर्फबाट विश्वकपमा पहिलो पटक अर्धशतक बनाउने पहिलो खेलाडी समेत बनेका थिए ।
जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३२ रन बनाउनसक्यो । नेपालको लागि जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । जसकारण, उनी म्यान अफ द म्याच समेत भए ।
क्वालिफाइ समूह चरण ए मा परेको नेपालले दुई खेलमा जित निकाले पनि दुई खेलमै जित हात पारेको आयोजक बंगलादेश नेट रनरेटको आधारमा सुपर दशमा प्रवेश गरेको थियो । जसकारण, नेपाल विश्वकपबाट बाहिरियो । स्मरण रहोस्, नेपालले टीट्वाण्टी विश्वकपमा सहभागीता जनाएको यो नै पहिलो पटक हो ।
नेपालले विश्वकपमा गरेको प्रदर्शन उत्कृष्ट रह्यो । दुई खेलमा जित र एक खेलमा पराजित भएपनि धेरै नेपालीको मन जित्न भने नेपाली क्रिकेट सफल रह्यो । पारस खड्काको कप्तानीमा विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले ब्याटिङ पक्षमा पनि धेरै सुधार देखाएको छ । निर्धारित २० ओभर पुरै खेल्नु नेपालको लागि राम्रो पक्ष हो । आइसीसीबाट टेस्ट मान्यता पाएको बंगलादेशसँगको प्रदर्शनलाई पनि नराम्रो मान्न सकिन्न । नेपालको बलिङ पक्ष त झन् उत्कृष्ट नै देखियो । शक्ति गौचन र बसन्त रेग्मीले नयाँ रेकर्ड समेत कायम गरेका थिए । विश्वकपमा नेपाली क्रिकेट टोलीले फिल्डिङ पनि उत्तिकै राम्रो गरेको थियो भने सागर पुनको फिल्डिङले धेरैको मन जित्न सफल भएको थियो ।
यसका साथै नेपालले हालै मात्र मलेशिया सम्पन्न भएको एसीसी प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेको छ । लिग फम्र्याटमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो । लिग तालिकाको शीर्ष चारमा स्थान बनाउन सफल भएको नेपालले आगामी डिसेम्बर महिनामा युएईमा हुने एसीसी च्याम्पियन्सीपमा समेत सहभागीता जनाउने भएको छ ।
स्मरण रहोस्, एसीसी प्रिमियर लिगमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो भने एसीसी च्याम्पियन्सीपमा समेत पहिलो पटक छनौट भएको हो । त्यस्तै, सन् २०१५ मा हुने आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा सहभागिता जनाउँदैछ ।
सिमित स्रोत साधनमा पनि नेपाली क्रिकेट टोलीले विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो । यसको श्रेय कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत सम्पूर्ण टोली मात्र हैन, प्रशिक्षक पुबुदु दायानायकेलाई पनि उत्तिकै श्रेय जान्छ । यसरी नेपाली क्रिकेट टोलीले एकपछि अर्काे फड्को मार्दै गएको अवस्थामा नेपाल सरकारले खेलकुद विकासको लागि भावीयोजना बनाउनु र पूर्वयोजनाहरु कार्यान्वयन गर्नु अति आवश्यक देखिएको छ । कुनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेवापत सरकारले नगद पुरस्कारको व्यवस्था गरेको छ । तर, यतिले मात्र पुग्दैन । आगामी दिनमा खेलाडीहरु खेलजिवनबाटै बाँच्न सक्ने आधारको निर्माण गर्दै भाविपुस्तालाई खेलप्रति आकर्षित गर्नु नेपाल सरकारको दायित्व समेत बन्दछ ।

नेपालको अन्तर्राष्ट्रिय रेकर्डहरुः
  • सन् २००८ को आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ५ मा नेपालको तर्फबाट मेहबुब आलमले मोजाम्बिकबिरुद्धको खेलमा ७ ओभर ५ बलमा १२ रन खर्चेर १० विकेट लिएका थिए । लिमिटेड ओभरमा खेलमा १० विकेट लिने पहिलो खेलाडीबनेसँगै गिनिज वल्र्ड रेकर्डमा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए ।
  • सन् २०१२ मा आइसीसी वल्र्ड लिग डिभिजन चारमा मलेशियाबिरुद्धको खेलमा नेपालको तर्फबाट शक्ति गौचनले १० ओभरमा ८ मेडियन सहित मात्र २ रन खर्चेर ३ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा ०.२० को इकोनोमि रेट बनाएर गौचनले नयाँ इतिहास बनाएका थिए ।
  •  सन् २००६ को एसीसी ट्रफीमा म्यानम्यारलाई १० ओभर १ बलमा मात्र १० रनमा समेटिएको थियो । म्यानम्यारको कुनैपनि खेलाडीले एक रनभन्दा बढी रन बनाउन सकेको थिएन । नेपालले ११ रनको विजयलक्ष्य मात्र २ बलमा भेट्टाएको थियो ।
  •  एकदिवसीय क्रिकेटमा सन् २००३ मा एसीसी इमर्जिङ नेशन प्रतियोगितामा भुटानबिरुद्ध ८ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । जुन, नेपाली क्रिकेटको हालसम्मको एकदिवसीयमा सर्वाधिक रन हो ।
  •  टीट्वाण्टी क्रिकेटमा सन् २०१३ मा एसीसी टीट्वाण्टी कप प्रतियोगितामा सिंगापुरबिरुद्ध ५ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । जुन, नेपाली क्रिकेटको हालसम्मको टीट्वाण्टीमा सर्वाधिक रन हो ।

Monday, February 16, 2015

सम्झौता [भाग–६, अन्तिम]

त्यसपछि म छाँगोबाट खसेझैं भयो । मलाई यो संसार देखाउने बुबा अब हाम्रो सामु रहनुभएन । म आफ्नो सामान प्याक गर्नथालें कि म घर जानको लागि ।
यत्तिकै फोन आयो उनको । अनि मैले उनलाई मेरो सबैकुरा बताएँ, म भोलि बिहान ५ बजेको बसमा जान्छु । अनि उनले आफुपनि जाने कुरा बतायो तर मैले मानिन । उनी जिद्दि छे, जे भन्छे सो गर्छे । त्यो रातभर निन्द्रा लागेन, यही सोचें कि कतिबेला ५ बज्छ र म जान्छु । रातभर एउटै कुरा मनमा थियो, मैले अन्तिम पल्ट पनि आफ्नो बुबासँग कुरा गर्न पाइन, म कस्तो अभागी ।
भोलिपल्ट बिहान ४ बजे नै ढोकामा ढकढक्यो । ढोका खोली हेरें, उनी आएकि रहिछिन् म सँगै गाउँ जानको लागि । आइसकेको मान्छेलाई किन फर्काउनु अनि म र उनी आफ्नो घरतिर लागें । करीब १ महिना गाउँमा बसेर आयौं । बुबाको सबैकाम सकेर आएका थियौं ।
एकदिन उनको बुबाले हाम्रो बारेमा थाहा पाउनुभयो । अनि उनले धेरै गाली खाइन् कि हामी बीचको जात मिल्दैन, त्यसमाथि पनि म शहरमा कोठा लिएर बस्ने मान्छे । उनको बुबाले अरु केटा हेरेको छ, त्यही केटासँग बिहे गर । यो कुरा उनले मलाई सुनाइन् । के गर्ने मैले सोच्न सकिन, त्यसपछि एउटा कुराको छिनोफानो भयो, सम्झौता............। उनले मसँग सम्झौता गरिन् ।
उनले भनिन्,‘तिमी ट्यालेन्ट छौं, तिमीले चाह्यो भने जे पनि गर्न सक्छौं, म मेरो घर त्यागेर आउन तयार छु, वश तिमी मलाई अपनाउछौं या अपनाउँदैनांै ?’ आफुले मन पराएको मान्छे कसरी अरुसँग जाओस् । अनि मैले भनें,‘ठीक छ म गर्छु तिमी जे भन्छौं म गर्न तयार छु ।’ त्यसपछि उनले भनिन्, ‘अबको ५ वर्षभित्र मलाई ल्याउने तयारी गर, जुन दिन तिमी मलाई ल्याउन तयार हुन्छौं, त्यो दिन म सबै त्यागेर आउँछु ।’ अनि मैले उनको कुरामा सहमति जनाए । ५ वर्षभित्र उनलाई ल्याउने कुराको सम्झौता भयो, यदि मैले उनलाई ५ वर्षभित्र ल्याउन सकिन भने उनी बुबाको कुरा मान्नुपर्ने बाध्यता सुनायो ।
मेरो दिनहरु परिवर्त भयो । पहिला पढ्ने मात्र थियो, अब त म काम खोज्नतिर लागें । करीब करीब १ महिनापछि एउटा जागिर पाएँ । आफ्नो कमाईहरु जम्मा गर्न थालें । लाग्न थाल्यो, अब त मेरो जीवन सम्झौताले घेरिएको छ । उनले म सँग गरेको सम्झौताले मेरो जीवन नै परिवर्तन हुन थाल्यो । थाहा छैन किन हो ? न त म उनलाई छोड्न न सक्छु न त यस्तो तरिकाले ५ वर्षमा म सम्पन्न नै हुन्छु । करीब १ वर्ष बित्यो, १ वर्षको अवस्थामा आएको परिवर्तनमा मैले सोचें, म उनलाई छाडिदिन्छु, उनको बुबाआमाको मन दुखाउनु मलाई उचित लागेन । त्यसमाथि मेरो पढाइपनि मैले छाडिसके, जागिरले गर्दा ।
एकदिन मैले उनलाई बोलाएर सबैकुरा उनलाई भन्ने विचार गरें । सोही अनुसार उनलाई मैले एकदिन स्मारक पार्कमा बोलाएँ र भनें,‘१ वर्षको स्थिति हेरें, अब त लाग्न थाल्यो, कि म तिम्रो लागि उपयुक्त छैन, फेरि तिमी पनि आफ्नो बुबाआमालाई रुवाएर जाने ? मैले भनेको कुरा मान्छांै भने बुबाले भनेको केटासँग बिहे गर, सायद उ त धनी पनि होला, कमसेकम म जस्तो गरीब त छैन पक्कै पनि । मैले भन्दा पनि धेरै माया गर्छ होला । तिम्रो हरेक इच्छा आकांक्षाहरु पूरा गर्छ होला ।’ अनि उनले भनिन्,‘मलाई केही कुराको मतलब छैन, मात्र म तिमीलाई चाहन्छु, म अरुसँग बिहे गर्न सक्दिन, मेरो मन मान्दैन ।’
अनि मैले सोधें,‘त्यसो भए म सँग किन सम्झौता ग¥यौं त ? कि मैले ५ वर्षमा सम्पन्न गर्नसकिन भने तिमी अरुसँग जान्छौं भनेर ?’ अनि उनले मलाई भनिन्,‘यो त एउटा भनाई मात्र हो, यस्तो सम्झौता मात्र हो कि तिमी आफ्नो खुवी नलुकाओस् भनेर, वश तिमी सम्पन्न होस् न होस् म ५ वर्षपछि तिम्रो जीवनमा आउँछु, तिमीसँग जीवन बिताउन, बरु जति नै दुःख पाओस् म तिमीसँग आउँछु ।’
यसरी उनले मलाई सम्झाइन् । करीब २ वर्षपछि उनले गरेको सम्झौताको कारण म आफ्नो खुट्टामा उभिएको छु । आज उनी मसँग छिन्, हाम्रो सानो परिवार खुशी छांै । पूर्ण रुपमा सम्न्न छ छैन तर खानलाउन धौधौ पर्दैन, कारण उनले गरेको सम्झौता । भन्छन् मान्छेले कोही केटाको जीवन परिवर्तन हुन्छ वा कसैले जीवनमा सफलता पाउँछ भने त्यसमा केटीको हात हुन्छ रे । यस्तै भयो मेरो जीवनमा पनि, कारण उनीसँग गरेको सम्झौता ।
समाप्त
यस कथाका पात्र तथा घटना सबै काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ ।

सम्झौता [भाग–५]

‘हेलो !’ मैले भनें । उताबाट मलाई सोध्यो,‘हजुर रोहन दाई हो ?’, अनि मैले भनें,‘हजुर म रोहन नै हो ?’ त्यसपश्चात उनले मलाई भनें,‘एकजना दिदी अहिले अस्पतालमा हुनुहुन्छ मैले उहाँको मोबाईलमा तपाईको नम्बर देखेर कल गरेको ।’ अनि मैले सोधें,‘को हुन् उनी ?’ उनले भनें,‘खै थाहा भएन, तपाई आउनु न अस्पतालमा ।’
त्यसपछि मैले मेरो अवस्थाको बारेमा सबै कुरा भनें अनि त्यो खबर मैले श्वेतालाई दिए,‘श्वेता मलाई एकजना दाईले कल गर्नुभएको थियो, एउटी केटी अस्पतालमा छें रे बेहोस अवस्थामा मेरो नाम मोबाईलमा देखेर कल गरेको रे, जाउ त दिदी हुनसक्छ ।’
अब मेरो मनमा अनेकौं कुराहरुले बास गर्न थाल्यो । लाग्न थाल्यो, मेरो कारणले उनी त्यो अवस्थामा छें । अचानक ड्राईभर दाई र प्रहरी भ्यानमा बसेर आउनुभयो । प्रहरीको जमात नै जम्मा भयो र हाम्रो ट्रकलाई घेर्न थाल्यो अनि ड्राईभर दाईले इन्जित स्टार्ट गर्नुभयो र बिस्तारै बिस्तारै प्रहरीको घेराउ सहित त्यो बजार पास गराउनुभयो । प्रहरीको स्कर्टिङ्गमा हामी त्यो बजारबाट निस्कियौं ।
अनि मैले त्यो दाईलाई सोधें,‘यस्तो अवस्थामा जबरजस्ती प्रहरी परिचालन गरेर गाडी किन ल्याउनुभएको ?’ अनि उनले जवाफ दिए,‘यसमा अक्सिजनको सिलिण्डरहरु छ, अस्पताल लानु पर्ने, जसरी भएपनि आज पुग्नु छ भनेर मलाई फोन आइसक्यो त्यही भएर प्रहरी चौकीमा गएर सबै कुरा मिलाएर गाडी स्कर्टिङ्गमा निकालेको ।’
अनि मैले उनलाई कुन अस्पताल भनेर सोधेको थिएँ गाडी पनि त्यही अस्पतालमा जाने रहेछ, जहाँबाट मलाई फोन आएको थियो ।
त्यसपछि हाम्रो गाडी तेज रफ्तारमा गुडिरहेको थियो । बाटोमा गइरहँदा कहाँ भन्ने बित्तिकै फोन लाग्छ र मिस्ड कल नोटिफिकेशन आइरहेको थियो, म्यासेजमा । टावर पनि कम थियो । एकपटक बल्लबल्ल फोन आयो, त्यो पनि केही बुझिएन । श्वेताले मात्र मलाई ४०÷५० पटक फोन गरिसकिछे । मैले पनि यताबाट फोन ट्राई गरिरहेथें । बल्ल बल्ल शहर नजिक आएपछि उनलाई फोन लाग्यो र मैले सोधें,‘को रहेछ उनी ?’ अनि श्वेताले भनिन्,‘दिदी हुनुहुँदो रहेछ, बेहोस छे, तपाई कति बेला आइपुग्नु हुन्छ ?’ अनि मैले भने,‘म त्यही अस्पतालको सामान ल्याएको गाडीमा छु, अब २०÷३० मिनेटमा आइपुग्छु ।’
जे होस् त्यो केटी स्मृति रहिछिन् । डर थियो मनमा कता जाने ? कसरी खोज्ने ? कहाँ गइन् ? भन्ने चिन्ता थियो, अब त दूर भयो । तरपनि उनी बेहोस छिन्, यो कुराले मनमा अशान्ति थियो । जे भए पनि म भगवान्लाई पुकार्दै थिएँ । म उनलाई सम्झिदै उनकै दुनियाँमा हराईसकेको थिएँ । मेरो मन, मष्तिस्कमा उनकै अनुहारको झझल्को आइरहेथ्यो । अचानक गाडीले ब्रेक लगायो..... म अगाडी ठोक्किन पुगें, अनि होसमा आएँ ।
अस्पताल आइपुगेको रहेछ । म हत्त न पत्त उनको रुम खोज्न थालें । रुम बाहिर उनको परिवार थिए, निराश मुद्रामा अनि म पुगें, श्वेता मेरो अघि आइन् र भनिन्,‘दिदीको स्थिति नाजुक छ रे’ भन्दै रुन थालिन् । उनीसँगसँगै सबैजनाको आँखामा आँशुको ओइरो लाग्यो । मैले उनीहरुलाई सम्झाउन थालें । आफ्नो मन पनि त रोइरहेको छ र पनि ठाम्दै उनीहरुको आँशुलाई पनि रोक्न खोजिरहेथें ।
एकैछिनमा डाक्टर आउनुभयो र मैले सोधें,‘के भएको हो ? स्थिति के छ ?’ अनि डाक्टरले भनें,‘रातभरिको चिसो, केही नखाएको मान्छे, त्यसैले कमजोरी हो तर होस नआएसम्म केही भन्न सकिँदैन ।’
अचानक भित्रबाट नर्स दौडेर डाक्टरकोमा आया र भन्यो,‘सर उसलाई होस आयो ।’
अब भने मेरो मन पनि खुशी भयो । डाक्टर भित्र गए । हामी भने बाहिर नै थियौं । केहीबेर पछि डाक्टरले आएर भने,‘रोहन भनेको को हो ?’ अनि मैले भनें,‘हजुर म नै हो ।’, ‘तिमीलाई भित्र बोलाएको छ’ भन्दै डाक्टर आफ्नो बाटो लागे । अनि म भित्र गएँ ।
जब म भित्र गएँ, मेरो खुट्टाहरु कामिरहेका थिए । मैले उनको आँखामा हेर्न सकेको थिइन, कारण म दोषी थिएँ, अनि उनले मलाई भनिन्,‘अझै पनि तिमी मलाई स्विकार्दैनौं ?’ यस्तो अवस्थामा छिन्, के गरुँ थाहा थिएन अनि मैले भने,‘ओ के बाबा ! ओ के आई लभ यू टु ।’ त्यसपछि उनको परिवार भित्र आए, म बाहिर गएँ ।
त्यहीदिन हामीले उनलाई घर लिएर गयौं । घरपुगेर म फर्किने बेला मैले उनको बाबालाई ‘धेरै कर नगर्नु, जिद्दि छे, उनलाई मनाउने कोशिस गर्नु’ भन्दै म आफ्नो बाटो लागें ।
अचानक घरबाट फोन आयो र सोध्यो,‘किन नआएको ?’ मैले भनें,‘हेर्नु न कलेजमा काम प¥यो, म पर्सीतिर आउछु ।’ अनि मलाई फोनमा भन्यो,‘किन ढिला ? बुबाले हामीलाई छाडेर जानुभईसक्यो, कहिले आउने तिमी ?’
क्रमशः

सम्झौता [भाग–४]

बिहानी पख मिर्मिरे उज्यालो भयो । एक्कासी मलाई के भयो थाहा छैन, मैले गाडी रोक्न लगाएँ ।
‘ड्राइभर दाई, गाडी रोक्नु न’ मैले भनें । त्यसपश्चात दाईले गाडी रोक्नुभयो अनि मैले म जान्न भन्दै उनीहरुलाई त्यहाँबाट जान आग्रह गरें । मलाई त्यो सुनसान सडकमा छाडी उनीहरु आफ्नो गन्तव्यतिर लागे ।
त्यो सुनसान सडक, झिसमिसे उज्यालो । बिहान त हुन हुन लागेको थियो तरैपनि अलिक अँध्यारो नै थियो । शहरतिर आउने गाडी आएको थिएन ।
एक्लो थिएँ म र पनि मलाई एक्लोपनको महसुस भएन । खै किन हो ? तर लाग्छ आफुलाई कुनै कुराको चिन्ता धेरै भयो भने एक्लोपनको महसुस पनि नहुँने रहेछ । एक्लै थिएँ, कानमा एअरफोन लगाएँ अनि गीत सुन्दै शहर तर्फ आफ्नो खुट्टाहरुलाई लम्ब्याएँ । यसरी नै म आफ्नै धुनमा हिडिँरहेको थिएँ, मनमा एउटै कुरा लिएर, उनी कहाँ छिन्, के गर्दै छिन् ?
मैले मोबाईलको किप्याडमा औंलाहरु चलाएँ र डायल गरें, उनको बहिनीको नम्बरमा ।
‘हेला ’ दाई पुग्नुभयो ?’ बहिनीले भनिन् । मैले भने,‘छैन, म त बाटोमै छु, शहर फर्किन लागेको, अनि तिम्री दिदी आईन् ?’ उनले भनिन्,‘छैन कता गईन् कता, भोलि खोज्न जान्छौं भनेर सोचिरहेको ।’ अनि मैले ल ल हुन्छ, म पनि आईपुग्छु अब ३÷४ घण्टामा त्यही भनेर फोन राखिदिएँ ।
मेरो कारणले उनी घर गइनन् खै किन हो ? अब त लाग्न थाल्यो कि म पनि उनलाई माया गर्छु, नत्र भने मलाई किन यति धेरै गाह्रो भो, बुबा बिरामी हुँदा पनि घर नगई किन म शहरतिर नै फर्किँदैछु त ? सायद मेरो मनले पनि उनलाई रोज्छ होला, उनको आँशु, उनको पीडा, उनको दुःख, मेरो मनले सहन सक्दैन होला । सायद...।
यस्तै यस्तै सोचाईमा म डुबिरहेथें । अचानक हर्न बज्यो । मैले यसो आफ्नो आँखालाई त्यो गाडीभएतिर मोडें, अनि मैले गाडी रोक्ने ईशारा गरें ।
गाडी रोक्यो, । मलाई सोध्यो,‘किन भाई, कहाँ जाने हो ?’ मैले भनें, ‘म शहरतिर जाने हो, तपाई कता हो नि ?’ उनले पनि शहरतिर नै जाने बताए अनि म त्यही ट्रकमा चढें । ट्रक पुरै सामानले भरिएको थियो, के थियो त्यो त थाहा भएन ।
त्यसपछि हामी हाम्रो गन्तव्यतिर जाँदै थियौं । करीब बिहानको ६ बजेको थियो । एउटा बजारक्षेत्रमा पुग्यौं, पुरै बिद्यार्थीहरुको जमात थियो । हातमा ठूलो ठूलो डण्डा समातिरहेको । कोही के कोही के भनिरहेको थियो । तरपनि बुझिने भाषामा आज उक्त शहर बन्द भन्दै थिएँ ।
हाम्रो गाडी पनि त्यही नजिक पुग्यो । एकजना विद्यार्थी आयो र भन्यो,‘आज राजमार्ग बन्द हो दाई गाडी साइड लाउनु ।’ अनि ड्राइभरले भन्यो,‘हैन हस्पिटलको गाडी हो, गाडी नरोकौं न हामीलाई जान देउ ।’
तब केही विद्यार्थीहरु आए र ड्राइभरसँग कुराहरु गर्न थाले । के कुरा त्यो त थाहा भएन, ड्राइभर दाई अचानक ओर्ले र अरु विद्यार्थीको जमातमा गए । धेरैबेरको कुरा पछि ड्राइभर दाई आए र उनले गाडी पार्किङ साइडमा पार्क गरे । उनले भने,‘हिजो यहाँ बसले मान्छे हान्यो रे अनि आज बिहान म¥यो रे, त्यही भएर क्षतिपूर्ति माग गर्दै आज बन्द रे, गाडी नजाने भो ।’
आफूलाई त जसरी भएपनि जानु छ । त्यसपछि मैले सोधें,‘कहिले खुल्छ त ? अरु केही उपाय छ दाई ?’ उनले भने म एकछिन चौकी गएर आउँछु तिमीहरु बस्दै गर, केही त होला नि ?’
त्यसपछि ड्राइभरदाई चौकीतिर लागे । म र गाडीको स्टाफ भने गाडीमा नै थियौं । करीब करीब २ घण्टा बित्यो, ड्राइभर दाई आउनुभएन । म के गरुँ त्यो पनि थाहा छैन । जानको लागि कुनै गाडी पनि छैन, अनि हिडेर जानु त्यो पनि असम्भव । अनेक कुराहरु मन थुपार्दै, खेलाउँदै त्यो जमातलाई हेरिरहेथें ।
अचानक मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो.......।

क्रमशः बाँकी सम्झौता भाग ५ हेर्नुहोला ।

सम्झौता [भाग–३]

जब म आफ्नो कोठामा आइपुगें तब, खै किन हो किन मेरो मन निराश थियो । सायद, उनलाई त्यस्तो अवस्थामा छोडेर आ’कोेले पो हो कि !
मोबाइल झिके अनि नम्बर डायल गरें,“तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाईलको स्विच अफ गरिएको छ ।”
मोबाईल पनि अफ छ अब के गर्ने ? मेरो मनमा बेचैनी छाउन थाल्यो । लाग्छ, मेरो मनलाई एउटा ठूलो ढिक्को पहाड आएर थिचिरहेको छ । मनमा अनेकौ कुराहरु खेल्न थाल्यो । मेरो मन दोधारमा छ, एउटा मनले भन्छ उनको प्रस्ताव स्विकार, त अर्काे मनले भन्छ, हुन्न तेरो मात्र होइन उसको पनि भविष्यसँग तैले खेलवाड गर्छस् । के गर्ने सोच्न सकिरहेको छैन, के निर्णय लिने ?
अचानक नयाँ नम्बरबाट कल आउँछ.......।
‘हेलो’ मैले भनें । उताबाट हस्याङफस्याङ गर्दै आवाज आउँछ,‘रोहन हो ?’ अनि मैले आफु रोहन भएको कुरा बताए । तब उनले एक्कासी यस्तो खबर दियो कि म झसंग भए,‘तपाईको बुबा सिकिस्त हुनुहुन्छ, तपाईलाई झट्टै गाउँ आउनु रे!’ यति भन्नासाथ उनले फोन राखिदिइन् ।
के गर्नु अब त गाउँ जानैप¥यो, आफुलाई जन्म अनि कर्म दिने बुबा बिरामी हुनुहुन्छ । त्यसपछि म आफ्नो कुनै पनि पर्वाह नगरी म त्यही रात आफ्नो अवश्यकीय सामान लिँदै रात्रीबसमा आफ्नो घरतर्फ लागें ।
रातभरी गाडीमा निन्द्रा पनि लागेन । सबैजना भिडियो हेरिरहेथें, गाडीमा । आफु भने सोचमा डुबको थिएँ ।
सोचिरहें, उनले मलाई के सोच्लिन् ? उनको त्यो अवस्थामा मैले उनलाई छाडेर आएँ, म गाउँ गएको कारण उनले आफु पो ठान्ने हुन् कि ! मैले भन्न पनि पाइन म गाउँ जाने खबर, फेरी उनी जिद्दि छे, रिसाहा छे, केही नराम्रो काम पो गर्लान् कि भन्ने डर पनि भयो । के गर्ने भनेर म सोच्न सकिन । आफ्नो मनलाई अरु कतै भुलाउने खोजें, कति पटक त फिल्म हेरेर भुल्न खोजें तर सकिन । मेरो मन मानेन अरु कुरा सोच्न, मात्र उनलाई नै सम्झिरहें । खै किन हो ? घरमा बुबा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर घरतिर लागे तापनि मलाई उनको याद किन आउँछ ?
यस्तै यस्तै कुरा मनमा खेलाउँदै थिए तब एक्कासी मेरो हात मोबाइलतिर गयो र डायल ग¥यो, उनकी बहिनी स्वेताको नम्बरमा .......।
‘हेलो रोहन दाई’ उताबाट आवाज आयो । एकैपटकमा फोन उठाएकोले म अचम्म भएँ त्यो पनि मध्यरातको १ बजे । अनि मैले सोधें,‘सुतेको छैन ?’ ‘कहाँ निन्द्रा लाग्नु, हेर्नु न दिदीको अत्तोपत्तो छैन, कहाँ गएको होला, मोबाइल पनि घरमै छोडेको छ’ स्वेताले भनिन् । अब त झन् मेरो मन एकदमै दोधारमा प¥यो यति रातिसम्म पनि घर आएको छैन भन्दा ।
अनि मैले उनलाई सोधें,‘कति बेलादेखि आएको छैन, अनि किन घरमा केही किचकिच परेको थियो कि ?’ उनले भनिन्,‘खासै त केही हैन, बाबाले बिहेको कुरा गर्नुभएको थियो अनि बिहानै कसैलाई केही नभई घरबाट निस्कनुभएछ, सबै चिनेजानेकोमा फोन गरिसकें कसैलाई पनि थाहा छैन रे, के गर्ने के गर्ने ?’
मैले सोधें,‘अनि मलाई किन फोन नगरेको त ?’ उनले भनिन्,‘म तपाईको कोठामा गएको थिएँ, घरबेटीले बुबा बिरामी भएको खबर पाएर गाउँ हिड्यो भन्नुभयो, त्यही भएर फोन नगरेको ।’, ‘ल ल भईहाल्यो, धेरै चिन्ता नगर भोलि त आइहाल्छ होला नि, बुबाआमालाई पनि चिन्ता नलिनु भन्दिनु ल !’ भन्दै मैले उनलाई सान्त्वना दिदैं फोन राखिदिएँ ।
अब त म झन् बढी सोचमा डुब्न थालें । अब के गर्ने ? उता बुबा बिरामी हुनुहुन्छ यता स्मृतिको अत्तोपत्तो छैन .... ।
क्रमशः बाँकी सम्झौता भाग ४ हेर्नुहोला ।

Sunday, February 15, 2015

सम्झौता [भाग–२]

‘ह्या ! के नचाहिने कुरा गरिरा’को भन्या ?’ मैले भनें । अनि उनले भनिन्,‘हैन म तिमीलाई चाहन्छु, म तिमीबिना बाँच्न सक्दिन, प्लिज मानन, यदि तिमीले मानेन भने मैले अरु सँग बिहे गरेर जानुपर्ने हुन्छ, जसलाई मैले चिनेकोसम्म पनि छैन ।’
त्यसपछि म केही बोल्न सकिन । आज पहिलो पटक मलाई यस्ता भईरहेको छ कि कुनै महाभारत पर्वत आएर मलाई थिचिरहेको छ । हनुमान नै भएको भए पनि पहाडलाई उचालेर फ्याल्थें तर के गर्नु म त परें एउटा साधारण व्यक्ति । यति धेरै गाह्रो भईरहेको छ कि म आफुले आफैलाई बचाउन पनि नसक्ने अवस्थामा पुगेको अनुभव भईरहेछ ।
उनी लगातार मेरो अगाडी बसेर रोई रहेकी छिन् । उनको आँखाबाट आँशु खसिरहेछ, लाग्छ असार–साउन भेल–बाढी जस्तै । उनको त्यो रुवाईलाई रोक्न मैले सकिन । जब जब म उनलाई केही कुरा भन्न खोज्छु उनी एउटै कुरा मात्र दोहो¥याईरहन्छिन् कि ‘पहिला भन तिमी मलाई मन पराउँछौ कि मन पराउँदैनौं ?’
कसरी भनुँ म उसलाई मन पराउँछु भनेर ? म त एउटा गरीब परिवारको मान्छे, उनी त धनी खानदानी केटी । त्यसमाथि पनि मेरो र उनको जात पनि मिल्दैन । मैले त उनलाई केवल एउटा राम्रो साथीको रुपमा मात्र सोचेको थिएँ, मैले कदापि पनि सोचिन कि म उनलाई आफ्नो जीवनसाथी बनाउँछु भनेर । तर, आज एक्कासी आएर मैले उनको प्रेमप्रस्ताव स्विकारें भने उनी आफ्नो परिवारबाट टाढा हुन्छिन् । जुन कुरा म चाहन्न ।
अनि मैले उनलाई भनें,‘हेर ! स्मृति म त गरीब परिवारको मान्छे, मेरो घर गाउँमा छ, म यहाँ मेरो पढाईको लागि आएको, अनि तिमी एउटा धनी खानदानी केटी, त्यसमाथि हामीबीचको जात पनि मिल्दैन, असम्भव कुरा नगर, बरु बिहे गर्न मन छैन भने तिम्रो बुबा–आमालाई म सम्झाउँछु ।’
अनि उनले भनिन्,‘ठिकै छ, त्यसो भए तिमी मलाई मन पराउँदैनौ हैन ? मेरो प्रस्ताव पनि स्विकार्दैनौ हैन ?’, ‘कसरी स्विकारांै, बेकारमा म तिम्रो परिवारबाट तिमीलाई अलग्याउन चाहन्न के ?’ मैले भनें ।
त्यसपछि उनी मसँग कुरा गर्न चाहिनन् । उनी रिसले आगो भईन्, यस्तो अवस्था आज मैले पहिलो पटक देखें । उनको अनुहार एकदमै रिसाहा देखिरहेको थियो । यो भन्दा अघि मैले उनी यतिधेरै रिसाएको आजसम्म देखेको पनि छैन ।
त्यसपछि एउटै बेन्चमा भएपनि उनी एकातर्फ त म एकातर्फ फर्किएर बस्यौं । मैले उनलाई कति सम्झाउने कोशिस गरें तर सकिन ।
अब त लाग्न थाल्यो कि मेरो कारण उनको जिन्दगी बिग्रिन सक्छ, अनि मैले धेरै बेर सोचें र एउटै निश्कर्ष निकाले कि म उनीबाट टाढा हुनुपर्छ । यदि म उनीबाट टाढा भईन भने न त उसले मलाई बिर्सन सक्छ न त उनी परिवारले भनेको ठाउँमा बिहे गरेर जान सक्छ ।
त्यसपछि मैले उनलाई भनें,‘ल भैगो सबै कुरा बिर्सिदेउ, म तिम्रो जीवनमा साथीको रुपमा आएको थिएँ, सधंै म तिमीलाई साथीको रुपमा नै हेर्छु, अब सम्झिउ कि मैले साथीको नाता तोडें, आजबाट तिमी आफ्नो बाटो लाग्छौ र म आफ्नो बाटो ।’
त्यति भन्नासाथ उनी डाँको छाडेर रुन थालिन् । मैले सोचे यहाँ बस्नु अब त्यति उचित छैन । त्यसपछि मैले उनलाई त्यो अवस्थामा छोडेर आफ्नो पाइलालाई अर्कैतिर मोडें.......।
क्रमशः बाँकी सम्झौता भाग ३ हेर्नुहोला ।

सम्झौता [भाग–१]

‘ओ मेरे दिलके चयन...........’
‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म सुतिरा’को ?’ उनले भनिन् । मैले सोधें,‘के छ भन ?’ अनि उनले भनिन्,‘अहिले ९ बजे मलाई शहिदस्मारक पार्कमा भेट ल, अहिले म राख्दिन्छु ।’ मैले सोधें,‘किन ?’ अनि उनले ‘भेटेर भन्छु’ भन्दै फोन राखिदिइन् ।
कस्तो मान्छे रहेछ, बिहानै फोन गरेर, निन्द्रा पनि पुगेको छैन, भै’गो अब त उठ्छु । अनि म आफ्नो नित्य कर्म तर्फ लागें । सबै काम सकिएर म किचेनमा लागें । के गर्नु शहरको ठाउँ त्यो पनि एक्लै छु, रुममा । खाना पकाउन पनि अल्छी लाग्यो, हप्तामा जम्मा १ दिन खाना खाइन्छ त्यो पनि मुड चल्यो भने मात्र । खैर होस् भन्दै एक कप कफी बनाईवरी पिएर आफ्नो बाटो लागें ।
बिहानको ठीक १० बजिसक्यो तर, उनी आइनन् । मैले कल गर्दा उनको फोनबाट एउटै रिप्लाई आउँथ्यो,‘माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको स्विच अफ गरिएको छ ।’
त्यसपछि म आफ्नो बाटो लाग्ने सोचेर पार्कको गेट तर्फ आफ्नो खुट्टाहरुलाई बढाए । यत्तिकै उनी हस्याङफस्याङ गर्दै आईपुगिन्,‘थ्याङ गड ! धन्न तिमी यही रहेछौं ।’ मैले सोधें,‘किन र के भो, किन यति हत्तारिँदै आएको, अनि मोबाईल किन स्विच अफ् ?’, ‘पख न एकछिन, सबै कुरा भन्छु म, कति धेरै प्रश्न एकैचोटी सोधेको, एकछिन त आराम गर्न देऊ’ – उनले भनिन् ।
त्यसपछि त्यो पीपलको रुख मुनि भएको पिङमा गएर बस्यौं । एकछिनको बसाईं पछि उनले मलाई भनिन्,‘तिमी त मेरो एकदमै मिल्ने साथी, तिमीलाई एउटा कुरा सोधौं ?’ ‘भनन के कुरा हो ?’ मैले भनें ।
अनि उनले भन्न थालिन्,‘तिमीले चिनेको एकजना केटी छ तर उसले तिमीलाई मन पराउँछ । अब त्यो केटीको बिहेको कुरा घरमा चलेको छ, त्यो केटी आएर तिमीलाई ‘म तिमीलाई मन पराउँछु’ भन्यो भने तिमी के गर्छाै ?’
यो त एकदमै सोच्नु पर्ने कुरा भो । कसरी भन्ने ? धेरै बेर सोचें अनि मैले उनलाई भनें,‘त्यस्तो हुन असम्भव पनि छ, उसले मलाई मन परायो त म के गर्नु मलाई पनि त मन पर्नु प¥यो नि ! म उसको प्रस्ताव स्विकार्दिन थिएँ ।’
उनले भनिन्,‘किन र ? तर उसले तिमीलाई मन पराएको छ, उ तिमी बिना बाँच्न पनि सक्दिन ।’, ‘मलाई पनि त मनपर्नु प¥यो भनेको, उसले मात्र मन पराएर म के गर्न सक्छु र ?’ मैले भनें ।
यसरी हामी बीच विवाद बढी रहेको थियो । अनि मैले उनलाई भनें,‘भयो यो कुरा सोच्नु नै बेकार, अनि म जस्तो मान्छेलाई कसले नै पो आएर यस्तो प्रस्ताव राख्छ र ? छोडिदेउ यो कुरा, भन अब के कुरा थियो तिम्रो मसँग गर्नुपर्ने ?’
त्यसपछि उनले आफ्ना नयनहरुबाट नुनिलो पानीको वर्षा गर्न थालिन् । खै किन हो ? त्यो त मैले बुझ्न सकिन । आज पहिलो पटक उनको अनुहारमा मैले यस्तो बादल लागेको देखें, लाग्छ मेघ गर्जनसँगै पानी पर्न लागिरहेछ । मैले उनलाई कति धेरै पटक बोलाएँ, तर उनी लगातार रोइनैरही ।
अब त अति भो भन्दै मैले उनलाई सोधें,‘हैन किन राई रा’को, के भो तिमीले कस्को कुरा गरेको त्यस्तो ? अनि किन मेरो कुरा सुनेर रोएको ?’
अनि उनले आफ्नो सुक्कसुक्क भाकामा भन्न थालिन्,‘त्यो अभागी केटी म नै हुँ ।’
क्रमशः........ (सम्झौता भाग २ हेर्नुहोला ।)