Tuesday, July 28, 2020

म त ८४ भएछु

समय पनि कति छिटै
बित्दोरहेछ है?
अस्तिजस्तो लाग्छ
तिमी र म
जवानीको नशामा मातेको।
तर आज
न तिमी छौ, न मेरो जोस।
हेर त कतिछिटै
म त ८४ भएछु।
आजभोलि त मेरो बोली
सुनिदिने पनि कोही छैन,
त्यसैले त आज म
माल्यार्पण गरी झुन्ड्याएको तिम्रो तस्वीर
अगाडि उभिएर बोल्दै छु,
तिमीलाई केही सुनाउन खोज्दै छु,
झर्को नमानी सुनिदेऊ है !
हिजो कोखाई-कोखाई
भन्दै खुवाएर हुर्काएको छोरोले
आज बाउ चिनेन।
सायद पढेलेखेको भएर होला
आज उसले गाउँ चिनेन,
बुहारीपनि पढेलेखेकी नै खोजेछ,
त्यसैले होला आज उसले
म अनपढको ठाउँ चिनेन।
तर
प्राय शान्त रहने मेरो फोन
कहिलेकाही कराउँछ,
अनि पल्लाघरे कान्छोले सिकाएझैं
म फोनको हरियो बटनमा थिचिदिन्छु!
त्यसपछि छोराको आवाज सुनिन्छ-
"बा! ढोग गरेँ"
पालैपालो
छोराबुहारी र नाति बोल्छन् ।
सायद उनीहरू पढेलेखेका
भएर होलान्
म बुढोलाई अर्तीउपदेश
दिदै बिदा हुन्छन् ।
कहिलेकाहीँ त लाग्छ -
"सायद छोरोले मलाई जवान नै देख्यो,
र त केहीगर भनी उपदेश दिएर गयो!
हुनसक्छ म अँझै जवान नै छु ।"
अनि मेरो रुञ्चे मन फुरुक्क फुर्किन्छ,
त्यसपछि म
यकिन गर्न ऐनासामु उभिन्छु
र हेर्छु आफूलाई... टुलुटुलु।
तर होइन रहेछ
म त बूढो भएछु ।
आँखाको बाध फुटेर
निरन्तर भल बगिरहेकाले
आज गालामा थुप्रै कुलेसाहरू बनेछन।
दारीजुँघा, कपाल सबै झरेछन,
छाला चाउरी परेछन ।
ओहो! म त ८४ भएछु।
अँ ....साँच्ची !
भगवान त महान हुनुहुन्छ,
उहाँले कोरिदिएका भावीरेखा
नराम्रा त कहाँ थिएहोला र...है?
उबेला त मेरो साथमा
तिमी थियौ, परिवार थियो
सबैले बा..बा.. भन्दै
मलाई नै खोज्थे,
सबै मेरैसामु झुमिन्थे।
हेर त म कति भाग्यमानी थिए।
तर आज सबै हस्तरेखा मेटिएछन
सायद जवान छदा समाएका
ती कोदालोका बिडले
मेरो भाग्यरेखा चोरेर लगेछ।
जेहोस् अब म पनि
कति चाहिँ बाँच्छुहोला र ?
आशा गरौं त्यो परलोकमा
हाम्रो भेट छिटै नै हुनेछ ।
अब तिमीसामु आउने
मेरा दिनहरू नजिकिदै छन्
किनकि
हेर्दाहेर्दै म पनि बूढो भएछु,
बुढी! आज त मेरो जन्मदिन,
म त ८४ भएछु ।
-कौशल काफ्ले
तिनपाटन-२, सिन्धुली

No comments:

Post a Comment