Wednesday, August 26, 2020

तबसम्म कोरोना अन्त्य हुँदैन

आजको वैज्ञानिक युगमा पनि वितेको सात महिनामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पत्ता लगाउन सकिएको छैन । विश्वमा करोडौंको संख्यामा संक्रमित भइसकेका छन् भने लाखौंको संख्यामा मानिसहरुको मृत्यु समेत भइसकेको छ । यस्तो अवस्थामा नेपालमा हाल बन्दाबन्दीको अवस्था भएपनि विश्वको तुलनामा नेपालमा संक्रमण नियन्त्रण र रोकथाममा सफलता पाउन सकेको छैन |

Add caption

कोरोना भाइरस के हो ?

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस भनी नामाकरण गरेका हुन् ।

भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो । चीनको वुहान शहरनजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा सन् २०१९ डिसेम्बरमा पहिलो पटक यसको संक्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । 


कोरोनाभाइरस संक्रमण कसरी हुन्छ ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।

नेपाल र कोरोना भाइरस

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक सन् २०२० जनवरी २३ मा संक्रमण देखिएको थियो । यसपछि सन् २०२० को मार्च महिनाबाट छिमेकी देश भारतमा संक्रमितको संख्यामा वृद्धि भएपछि खुल्ला नाकाको कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा वृद्धि हुन गएको हो । यसपछि मार्च २२ बाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो भने मार्च २४ बाट देशभर बन्दाबन्दीको सरकारले घोषणा गरे ।

बन्दाबन्दीको समयमा अत्यावश्यक सामान ढुवानीको सवारी साधनमा लुकेर आउने र एम्बुलेन्सको दुरुपयोग गर्नेहरुको कारणले मानिसको आवतजावत रोकिएको थिएन । यस्तै, भारतबाट नेपालको तराई भु–भागमा प्रवेश गर्नेको संख्यामा समेत अत्याधिक मात्रामा वृद्धि हुन गयो । करीब ८० दिनका बन्दाबन्दीमा तराई क्षेत्रमा अलिक बढी मात्रामा संक्रमित देखिएकोले मन्त्रीपरिषद्को निर्णयले संक्रमित क्षेत्रलाई सिल गर्ने र अन्य जिल्लामा बन्दाबन्दीको अन्त्यको घोषणा गरे । एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको कोभिड प्रोटोकपको आधारमा जीवनयापन गर्ने सरकारले सबैलाई आग्रह गरेका थिए ।


तबसम्म कोरोना अन्त्य हुँदैन

नेपालमा जब बन्दाबन्दीको अन्त्य घोषणा गरे, त्यसपछि राजधानी फर्किनेको संख्या पुनः वृद्धि हुन गयो । नेपालको साक्षरता प्रतिशतलाई हेर्ने हो भने सन् २०१८ मा आएर वल्र्ड डाटा एट्लासका अनुसार ६७.९ प्रतिशत रहेको छ । यहाँ ६७.९ प्रतिशत साक्षरता भएपनि व्यवहारमा लागु गर्ने ३० प्रतिशतको हाराहारीमा होलान् । मानिसहरुमा चेतनास्तरको कमी एकातिर छ भने सरकारले कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम ल्याउन सकेको छैन ।

जब बन्दाबन्दीको अन्त्य भयो, तब कोरोनाको अन्त्य भएको थिएन । मानिसहरुको आवतजावत रोकिएन, भीडभाड गर्न कम गरिएन, कोभिड प्रोटोकललाई कसैले अनुशरण गरेन, माक्स मुख छोप्न भन्दा हातमा बोक्न र चिउँडो छोप्न प्रयोग गरियो । बेलाबेला हात धुनुपर्ने कुरालाई मनन गर्न कसैले सकेनन् । आफैले आफ्नो स्वास्थ्य माथि खेलबाड गर्न नेपालीलाई गरिबीले पेल्न थालेको थियो । सरकारले साना मजदुरहरुलाई राहतको कुनै प्याकेज व्यवस्था गर्न सकेनन् । कतिपय स्थानमा आत्महत्या गर्नेको समाचार पनि बाहिर नआएको होइन । ‘गोर्खालीको छोरालाई केही हुँदैन’ जस्ता अहमताले अगाडि बढेको नेपालीलाई अन्तत पुनः कोरोना संक्रमितको बढ्दो संख्याले चुनौती दिएको छ ।

संक्रमितलाई समाजले देखाउने अमानवीय व्यवहार र स्वास्थ्यकर्मीहरु प्रति हेर्ने दृष्टिकोणले नेपाली समाजमा कोरोनाको संक्रमण चेन ब्रेक हुन्छ ? भन्ने कुरा नै अन्यौलमा पर्न थालिसेकको छ । बिहानको मर्निङ्ग वाक, साँझको इभिनिङ्ग वाक नगरी नहुने नेपालीको बानी, काम नभएसी लखरलखर साथीभाइसँग घुलमिल हुने, बन्दाबन्दीको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर नहिड्नु भन्दा पनि अनेकन बहानाले बाहिर निस्कने प्रवृत्ति हाबी देखिएको छ । अझ बाहिर निस्कदा मास्क आफ्नो स्वास्थ्य सुरक्षाको लागि लगाउनुपर्ने अवस्थामा सरकारले मास्क नलाउनेलाई कारवाही गर्ने भनी जबरजस्ती मास्क लगाउन भन्नुपर्ने अवस्था छ ।

सरकार पक्षले पिसिआर टेस्टलाई दू्रतगतिमा लान नसक्नु अर्का कमजोरी पक्ष हो । स्वाब संकलन गरी परीक्षणमा दिएको २÷३ दिन पछि रिपोर्ट आउनु, संक्रमित व्यक्तिको मृत्यु भएपछि रिपोर्ट आउनु र मलामीमाथि कन्ट्याक्ट टे«सिङ्ग गर्न बाध्य हुनु, यो त भयो नै अस्पतालहरुले सामान्य बिरामीलाई नहेर्ने, एउटा अस्पतालबाट अर्काे अस्पतालमा रिफर गर्दा घुम्दाघुम्दै बिरामीको मृत्यु हुनु जस्ता अमानवीय व्यवहार समाचारमा प्रकाशित भएका छन् ।

नेपालमा कोरोना संक्रमणको चेनब्रेक गर्न पुनः निषेधाज्ञा घोषणा अहिलेपनि जारी छ तर संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थामा हामी मानिसहरु आफै आफ्नो स्वास्थ्यप्रति सम्वेदनशील भएर आफु सजग नभएसम्म जतिसुकै बन्दाबन्दी र निषेधाज्ञाको घोषणा गरेपनि कोरोना संक्रमणको अन्त्य हुन त्यति सहज देखिँदैन । आफू सचेत होऔं, अरुलाई पनि सचेत गरांै । आफू संक्रमित हुनबाट बचौं र अरुलाई पनि संक्रमित हुनबाट बचाऔं ।


Tuesday, July 28, 2020

म त ८४ भएछु

समय पनि कति छिटै
बित्दोरहेछ है?
अस्तिजस्तो लाग्छ
तिमी र म
जवानीको नशामा मातेको।
तर आज
न तिमी छौ, न मेरो जोस।
हेर त कतिछिटै
म त ८४ भएछु।
आजभोलि त मेरो बोली
सुनिदिने पनि कोही छैन,
त्यसैले त आज म
माल्यार्पण गरी झुन्ड्याएको तिम्रो तस्वीर
अगाडि उभिएर बोल्दै छु,
तिमीलाई केही सुनाउन खोज्दै छु,
झर्को नमानी सुनिदेऊ है !
हिजो कोखाई-कोखाई
भन्दै खुवाएर हुर्काएको छोरोले
आज बाउ चिनेन।
सायद पढेलेखेको भएर होला
आज उसले गाउँ चिनेन,
बुहारीपनि पढेलेखेकी नै खोजेछ,
त्यसैले होला आज उसले
म अनपढको ठाउँ चिनेन।
तर
प्राय शान्त रहने मेरो फोन
कहिलेकाही कराउँछ,
अनि पल्लाघरे कान्छोले सिकाएझैं
म फोनको हरियो बटनमा थिचिदिन्छु!
त्यसपछि छोराको आवाज सुनिन्छ-
"बा! ढोग गरेँ"
पालैपालो
छोराबुहारी र नाति बोल्छन् ।
सायद उनीहरू पढेलेखेका
भएर होलान्
म बुढोलाई अर्तीउपदेश
दिदै बिदा हुन्छन् ।
कहिलेकाहीँ त लाग्छ -
"सायद छोरोले मलाई जवान नै देख्यो,
र त केहीगर भनी उपदेश दिएर गयो!
हुनसक्छ म अँझै जवान नै छु ।"
अनि मेरो रुञ्चे मन फुरुक्क फुर्किन्छ,
त्यसपछि म
यकिन गर्न ऐनासामु उभिन्छु
र हेर्छु आफूलाई... टुलुटुलु।
तर होइन रहेछ
म त बूढो भएछु ।
आँखाको बाध फुटेर
निरन्तर भल बगिरहेकाले
आज गालामा थुप्रै कुलेसाहरू बनेछन।
दारीजुँघा, कपाल सबै झरेछन,
छाला चाउरी परेछन ।
ओहो! म त ८४ भएछु।
अँ ....साँच्ची !
भगवान त महान हुनुहुन्छ,
उहाँले कोरिदिएका भावीरेखा
नराम्रा त कहाँ थिएहोला र...है?
उबेला त मेरो साथमा
तिमी थियौ, परिवार थियो
सबैले बा..बा.. भन्दै
मलाई नै खोज्थे,
सबै मेरैसामु झुमिन्थे।
हेर त म कति भाग्यमानी थिए।
तर आज सबै हस्तरेखा मेटिएछन
सायद जवान छदा समाएका
ती कोदालोका बिडले
मेरो भाग्यरेखा चोरेर लगेछ।
जेहोस् अब म पनि
कति चाहिँ बाँच्छुहोला र ?
आशा गरौं त्यो परलोकमा
हाम्रो भेट छिटै नै हुनेछ ।
अब तिमीसामु आउने
मेरा दिनहरू नजिकिदै छन्
किनकि
हेर्दाहेर्दै म पनि बूढो भएछु,
बुढी! आज त मेरो जन्मदिन,
म त ८४ भएछु ।
-कौशल काफ्ले
तिनपाटन-२, सिन्धुली

Tuesday, May 12, 2020

एक सर्काे माया

“धुम्रपान तथा सुर्तिसेवनले फोक्सोको क्यान्सर हुन्छ” बारम्बार यहि पढ्छु र उडाउँछु सेतो धुँवा । अन्धकार कोठाभित्र एकान्तमा मनको बोझलाई त्यही धुँवाले थिच्दैछु । खिल्लीको टुप्पोको आगोलाई हेर्दै तान्दैछु “एक सर्काे” ।

“खोई के छ यसमा ?” भन्छन् शरीर भित्रको फोक्सोमा कालो धुँवाका धब्बाहरु बनाउँछ, तरपनि मलाई भने यो जतिजति तान्दै गयो उतिति मनमा सन्तोष मिल्दै जान्छ । अझै तान्छु, अझै आनन्द आउँछ । जतिजति खिल्ली सानो हुँदै गयो, उतिउति नै मनको भारी हलुङ्गो हुँदै जान्छ । लाग्छ, सारा ब्रह्माण्डले मेरो मनलाई थिचिरहेको छ, त्यही ब्रह्माण्डलाई एक सर्काेले हलुङ्गो बनाइरहेछ । बाबाजीहरुले तान्ने तोपमा त अझै धेरै आनन्द मिल्छ रे भन्छन्, आजसम्म चाखेको त छैन तर बाबाजीहरुको हाउभाउ देख्दा त्यसरी नै टहल्न मन लाग्छ । तान्नेलाई स्वर्गीय आनन्द मिल्छ रे, नर्कमा बसेर स्वर्गीय आनन्द म पाऊँ कसरी ?

पाइला पाइलामा यहाँ ठेस लगाउन खुट्टा तेस्र्याउनेको भीडमा लडेको अवस्थामा उठाउने भन्दा सेल्फी क्लिकमा मस्त हुने दूनियाँमा कसैसँग केही गुनासो गर्नुछैन । आफ्नो जिन्दगीको बाटोमा आफै लड्दै उठ्दै हिँड्न सिकिरहेको म मा भगवानले खोट देख्यो या आफ्नाले, मैले खुट्याउन सकेको छैन । आफ्नाले भलो चाहँदैनन्, आफ्नाले नै हो घात गर्ने, पराईलाई त के थाहा कि मेरो कमजोर कडि ?

अरुले चुरोट तानेर धुँवा निकालेको देख्दा मलाई हेर्न खुब गज्जब लाग्थ्यो । मन्दिरमा छाडिएको गन्हाउने बोकाले समेत धुँवा निकालेको देख्दा झनै मज्जा लाग्थ्यो । पहिलो पटक हातमा गैंडा चुरोट लिएर आएँ । दुवैतिर फिल्टर थिएन, कसरी तान्ने, कहाँ आगो लगाउने थाहा थिएन । आफ्नाहरु त सँधै साथमा हुन्छन्, कहाँ आगो लगाउने ठ्याक्कै थाहा पाउँछन् र झोस्छन् । गैंडालाई मैले पहिले देखेको थिए तर चिनेको थिइन, यसैले कहाँ आगो लगाउने थाहा भएन । त्यो गैंडाको एकापट्टिको कुनामा सलाईको काँटीले आगो लगाएँ । डढेलो लागेको जस्तो गरी धुँवादार भयो, गैंडा । अर्काेपट्टिको कुनालाई मुखमा राखें र तानें...... उफ्फ् ! मुखमा त सुर्ति नै सुर्ति भयो । ‘छ्याः कस्तो तीतो’ भन्दै फ्याँकिदिएँ । यसपछि कहिल्यै चुरोट तान्ने कल्पना समेत गर्न सकिनँ ।

समय र परिस्थितिले मानिसलाई कहाँ पु¥याउँछ, थाहा छैन । जिन्दगीको गोरेटोमा अचानक भेट भयो, उनीसँग ।
उनको मुहारको चमकले जिन्दगीमा उज्यालो दियो, अन्धकार कोठामा बालिएको दियो झैं ।
उनको स्वर र मृदुभाषी लवजले कानमा कुहिन लागिसकेको पर्दापनि सुकिलो भएर आयो ।
पीडाका वहावहरुले बनेको समुद्ररुपी मनमा आशाका लहरहरु उर्लिन थाल्यो ।
दिन बित्दै गयो, साथ बढ्दै गयो ।
सपनाहरु बुन्दै गए, समयले आफ्ना बनाउदै गए ।
भगवानको कृपा म माथि छैन, या अरु कोही । समयले साथ छोड्यो, दिन बद्लिँदै गए । र, आज उनी थिइन् भन्नेमा पुग्यो ।

रातको जुनकिरी जस्तै भइन् उनी ।
कानमा राखिएको एअरफोन जस्तै भइन् उनी ।
आँखामा आउने खुशीको आँसु जस्तै भइन् उनी ।
मस्तिष्कमा आउने मीठो कल्पना जस्तै भइन् उनी ।
मनको समुद्रमा उर्लिएको छाल जस्तै भइन् उनी । अहिले यहाँ, भोलि कहाँ कहाँ ?

यस्तै बीचमा कोदोको झोलमा अल्झियो जिन्दगी । त्यो सोमरस, जसले मनको छाललाई रोक्दैथियो, जसले आँखाका आसुँलाई रोक्दै थियो, जसले कानमा गुन्जिएको मीठो धुनलाई रोक्दै थियो । पीडालाई पीडा पाउनले मात्र बुझ्छ भनेझैं रसमा साथ दिनेले हातमा खिल्ली थमायो र भन्यो “मित्र ! पीडा तिम्रो आँखामा झल्किएको छ । पीडा बाँड्नु मन हल्का हुन्छ ।” खोई ! के भयो मनमा, सबै पीडा पोखिदिएँ । नभन्दै मनको बोझको तौल घटेको महसुस भयो । “यो रससँग यसलाई स्वाट्ट पार, मन शान्त हुन्छ” भन्दै सुर्य लक्जरी किंग्सको बट्टा अगाडि सारिदियो । बिना हिच्किचाहट मैले खिल्ली हातमा लिएँ । “मनमा पीडा दिने सम्झनु यसलाई र उही सम्झिएर आगो लगाइदिनु, झनै आनन्द आउँछ” उनले सलाई काँटी बाल्दै आगो अगाडि ल्याएर भने । तानें मैले त्यो खिल्लीको धुँवा, साँँच्चै यो पटक भने मैले स्वर्गीय आनन्द महसुस गरें ।

“एक सर्काे”, “अब एक सर्काे” र “यो अन्तिम....” जस्ता वाक्यहरु उसको मुखमा रुमल्लिरहेको थियो । मेरो मन त्यही वाक्यमा विलिन हुँदै गर्दा कतिबेला सुर्य पनि विलिन भएछ पत्तै पाएन ।

माया गर्दा खुशी हुन्छ भन्थे, यथार्थ पीडा भोग्दैछु ।
मायामा संसार रंगिन हुन्छ भन्थे रंगविहिन देख्दैछु ।
मायामा सबैकुरा बिर्सिन्छ भन्थे, आज त्यसैलाई बिर्सन सेतो धुँवा उडाउँदैछु ।
मायामा मन शान्त रहन्छ भन्थे, शान्ति खोज्न सल्काउँदैछु ।
हो,
त्यही मायामा सारा संसार भुलाएको थिएँ । आज त्यसैलाई भुल्न सेतो धुँवामा हराउने कोशिस गर्दैछु ।

उनको नयनको नशामा हराएको म,
उनको सुस्केरामा लठ्ठीएको म,
उनको सासमा मदहोस भएको म,
उनको स्पर्शमा विलिन भएको म,
उनको शब्द शब्दमा जिन्दगी देखेको म,
उनको चालमा मुकदर्शक भएको म,
उनको मायामा गगनचुम्बी आभाष बोकेको म,
एक क्षण,
एक पल,
एक शब्द,
एक समय,
एक परिस्थितिले गर्दा नै आज उनको यादमा “एक सर्काे माया” उडाउँदैछु । यो प्रत्येक खिल्ली हातमा लिँदा “चुरोट खाने मान्छे मनपर्दैन” भन्ने उनको वाक्य मानसपटलमा घुमिरहन्छ, प्रत्येक खिल्ली सल्काउँदा “जिन्दगीभर चुरोट चाहीँ नखानु ल” भन्ने उनको वाक्यले चस्स घोच्छ । अनि, प्रत्येक पफमा उडाएको सेतो धुँवाले “तिमी रहन्नौं त के भो र ? खिल्ली त मसँगै हुन्छ” जस्ता वाक्य तिमीलाई सुनाउन मन लाग्छ । तिम्रो यादलाई जलाउनकै लागि भएपछि आज तिम्रै यादमा तान्दैछु प्रिय ! “एक सर्काे माया” ।