Thursday, June 18, 2015

SLC Result :

सिम्बोलनम्बर कम्प्युटरले "Not Found" भन्यो, तब मेरा आँखा रसाए, मोतीका दाना जस्ता आँशुले कार्पेटमा दह बन्यो, थाम्न सकिन, भक्कानो फुट्यो। आँशुको दहमाथी पाइला राखें, उता पास भाको खुशी मनाउनेले आफैलाई गिज्याए झै लाग्यो । उनिहरूको हाँसोले मेरो मनमा तीर गाड्यो ।

गाडेको तीरलाई सहनशक्तिले निकाल्न खोजें, सन्त्वना आयो, "कम्प्युटरको भर छैन, जाम पत्रीका हेर्न" मनले राहत लियो, तर आश थिएन । मनको ढुकढुकी यति बढ्योकि हर्सपावर युनिटमा पनि नाप्नसकिन्न होला, रसाएको आँखा र तीर गाडेको मन, पत्रीका खोज्न हिडियो, कतै पाइन 

माख्लो चोकमा पत्रीका सकिएछ, तल्लो चोकमा केहीकेटाहरू लुछालुछ गर्दैथे। साथीले खोसेर ल्यायो, नम्बर खोजियो १ डिभिजनमा, भेटिएन। नम्बर छैन। म फेल भएं । वश! अब चिन्ता छ त केवल आमाको, कसरी मुख देखाउने। तेत्रो मिहेनत गरेर मलाई पढाए, आज मेरो यो गति, थुइक्क

फेलको चिन्ताले भन्दापनी आमाको अनुहारमा चमक गुमाउने डर भयो । अश्रुधाराको बेगसँगै बग्दै, हिक्क हिक्क आवाजमा सोध्छु, "भेटिस"? अझैपनी भेटिन भन्दैछ । म भन्छु, "छाड्दे यार, कम्प्युटरले नभेटेको तैले याँ कसरी भेट्छस त?" हिक्कहिकाउदै भन्छु, तर उ खोज्छ । आँखा अझै तीखो पार्दै खोज्छ ऊ । म अक्क न बक्कको हुन्छु । एउटै चिन्ता छ, "म फेल भएँ, आमालाई कसरी अनुहार देखाऊ?" सबै विषय राम्रो भाको थ्यो, मलाई चिन्ता ऐच्छिक गणितको थियो । जसोतसो पास त होला भन्ने आश थियो, अब त त्यो आस पनि मर्यो 


ऊ आँखा तिखार्दै खोज्दैछ। म आफ्नै धुनमा मुर्मुरिराछु । अचानक उस्ले भन्यो "काली त पास भैछे यार"। गाडेको मनको तीर झनै भित्र पस्यो। मनपराको मान्छे पास, म फेल । भगवान पनि म सँग रिसाए छन । न त आमा, बुबा न आफ्नो रोजेको मान्छे, कसैलाई मुहार देखाउन लायक भइन। हो आज मलाई झुण्डिन सहज लाग्यो । आमाबाबुको अनुहारको आँशु र मनपरेको मान्छेको अघि लाज मान्नु भन्दा मलाई आज झुण्डिन सहज लाग्यो । थुक्क। झुण्डिने त कायरले गर्छ। आँट छ, साहसीछस भने आमाको आँशुलाई प्रसाद मान, बाबुको गालीलाई आत्मबल मान । तब तैले सफलता आउछस।

दुइमनको बीचमा फसेको मलाई राहतमिल्यो। गाडेको तीर आफै निस्कियो। दुखकोआँशु झट्टै सुखको आँशुमा परिणत भयो, जब मेरो नम्बर भेटियो। खुशीले उफ्रीए, नम्बर सेकेण्ड डिभिजनमा रैछ। झट्टै आमालाई फोन गरे "लड्डु लेर आइज ल" आमाले भन्नुभो । हामी उफ्रीँदै घर गयौं


THE END ‪#‎SLC_RESULT‬

Sunday, June 14, 2015

ए ! गर्मी

त्यो चिसो चिसो मन्द मन्द बतास ठीक लाग्न थाल्यो । बिहान उठ्दा महसुस गर्न सकिने हुस्सु र कुहिरो अनि ती शीतका थोपाको यादले सताउन थाल्यो । बिहान ९ बजे उठ्दा पनि लाग्छ, अझै मलाई सिरक नै प्यारो । तर, आज बिहान ९ बजे ब्युँझिदा पनि, सूर्य आफ्नै टाउको माथि पुगिसकेछ, अनि सिरक, कुरै नगरौं, कता हो कता ।

महिना दिनसम्म ननुहाउने, चिसोमा शरीर माड्न कति सकस हुन्थ्यो, तर तिमीले नै मलाई एकाबिहानै ‘हरहर महादेव’ भन्ने गरायौ । भित्रीगन्जी, त्यसको माथि टिसर्ट अनि अझै त्यसको माथि ज्याकेट । कम्मरमुनि पनि तीनपत्र, अण्डरवेयर – ट्राउजर – पाइन्ट । अझै, टाउकोमा टोपी र गलामा मफलर । यतिधेरै भारी बोक्दा पनि सकस नहुने त्यो चिसोलाई याद दिलाउन सक्ने रैछौ, तिमी । तिम्रो आगमनमा आज बाहिर हिँड्डुल गर्दा एकपत्रे र घरमा नाङ्गै बस्न बाध्य बनाएका छौ ।

वर्षामा मात्र साथ दिने छाता पनि तिम्रो ताप छेक्न यहाँ प्रयोग भएका छन् । तिम्रो तापलाई भूल्न यहाँ एमोनिया ग्याँस उत्पादनसँगै पेयपदार्थ बिकेका छन् । तिम्रो तातोले आउने नूनिलो पानीको गन्ध मेटाउन, नानाथरी अत्तर छर्न थालेका छन् । तिम्रो तापले छाला कालो हुने डरले कैयौं क्रिम बिक्रि भएका छन् । तिम्रै कारणले आउने खटिरा निको पार्न, कैयन पाउडर बिकेका छन् । हुँदा हुँदा अहिले खाना रुच्न छाडेको छ । काम गर्ने जाँगर हराएको छ । तिमीले पछ्याइरहँदा आज छहारी खोज्दै हिँड्न परेको छ ।

तिम्रो आगमनमा झाडापखाला र हैजाका सरुवाध्यक्ष झिंगाले दिउँसै आक्रमण गर्छ । डेंगु, कालाजार जस्ता रोगका प्रतिपादक लामखुट्टेले रातमा आक्रमण गर्छ । तिन्लाई रोक्नकै निम्ति कैयन् पदार्थमाथि कालाबजारी भइरहेको छ । रातमा भर्खरै नुहाएर सुते पनि तिम्रो यादले पूरै ओछ्यान भिजिसकेको हुन्छ । तिम्रो कारण म बिरानो ठाउँमा यसै नढलौं भने कति बोतल पानी पिउनु परेको छ, के गर्नु यहाँको मान्छे पनि तिमी जस्तै निर्दयी भइसकेका छन् ।

गाउँघरमा सबैलाई बिहान झिसमिसेमै मेला पठाएका छौ रे । दिउँसो सबैलाई बातमार्ने समय दिँदै छहारीमा ल्याएका छौ रे । बालबच्चाहरुलाई सुन्दर नदीमा फाल हान्न बाध्य बनाएका छौं रे । सुन्छु, तिम्रै कारण महिलाहरु बिहान कि त साँझ पानी लिन डाँडा चढ्नु परेको छ रे । तराईतिर पनि तिमीले दुःख दिन थालेका छौ रे । सुन्छु, विद्यार्थीहरुलाई पढ्न अनि गरिखानेलाई काम गर्न बिहान र साँझको समय दिएका छौ रे । दिउँसो त तिम्रै कारण घरबाहिर निस्कन पनि हम्मेहम्मे पर्छ रे । कतिपय ठाउँहरुमा त तिम्ले आफ्नो शक्ति देखाउँदै कतिपयलाई स्वर्ग पठाएका छौं रे । अझ शहरमा त झन् कुरै नगरौं, तिम्रै कारण लुगा छोटिँदै गएको छ रे ! सेता साप्रा, वक्षस्थलको उँचो भाग र नाभिक्षेत्र स्पष्ट प्रदर्शन हुन थालेको छ रे ! कतिले त दिउँसै झुलको लुगापनि सिलाउन भ्याएको छ रे ! जे गर्छाै तिम्ले नै गर्छाै, अचम्म छौ तिमी पनि ।

धोएको लुगा पनि एकघण्टा भित्रै कति मजाले सुकाइदिएको छौं, एउटै भएपनि फाइदा त दियौ तर प्रत्येक दिन लगाको लुगा १० मिनेट भिजाउँदा भने मन खल्लो हुन्छ । टाउकोमा तेल लगाउनै पाइएको छैन, मुहारमा कुनै क्रिम दल्नै परेको छैन, तिम्रो कारण नूनिलो पानीको मूल जताततै फुटिरहेकै छ । दिनभर लगाएको लुगा बेलुका आफैलाई दूर्गन्धित लाग्छ । अझ कतै जुत्ता फुकालेर भित्र जान परोस्, मोजापनि सँगै फुकालेर अझै मिल्ने भए खुट्टा धोएरै प्रवेश गर्नपर्छ, हैन भने आफ्नै इज्जतको धज्जी उड्ने भएको छ ।

बिहानको खाना दिउँसै खान नहुने बनाका छौ । कहीकतैको यात्रामा आफै बाधा बनेका छौ । बच्चाहरुलाई आपसमा खेल्न भन्दा नदीसँग जोडेर राखेका छौ । बृद्धबृद्धालाई हावा हम्केर बस्न बाध्य बनाएका छौ । वयस्कहरुलाई जंगल पस्ने बाटो देखाएका छौं । काम गरि खानेलाई दिनदिनै नुहाउन बाध्य बनाएका छौ । हरेक प्राणीले तिमीलाई धिक्कार्ने समय आउँदा आउँदै पनि तिमी आफ्नो मर्जिमा रन्किरहेका छौं । वाह !

तिम्रै कारण कुनै दिन आकाशको चराहरुपनि फ्याट्फ्याट् खस्ने दिन नआओस् । तिम्रै कारण जमिनमा धाँजाहरु फुट्ने दिन नआओस् । अब त चाँडै बिदा लिने कोशिस गर, हैन भने हाम्रो आत्माहरुले पनि तिम्लाई धिक्कार्ने समय नजिकिँदै आएको छ । सुन्छु, कहिँकतै मूर्तिमा समेत पसिना आयो रे, लाग्छ यो पनि तिम्रो नै कुनै योजना हुनुपर्छ । वश् ! अति गर्नु अत्याचार नगर्नु रे ! अब तिम्लाई पनि भन्न मन छ, सोध्न मन पर्छ र तिमीसँगै बाजी थाप्न मन छ ।
ए ! गर्मी .... सक्छौं भने अब जाडोमा आएर देखाऊ ।।