Monday, July 27, 2015

मृत्युको आभाष गर्न मन छ !

डर । मान्छे जब त्रसित हुन्छ, तब पैदा हुन्छ, डर । डर, के को ? गालीको । पिटाइको । अपशब्दको । सम्बन्ध टुट्नुको । इज्जत गुमाउनुको । यि मात्र हैनन्, डर त वश देखेकै भरमा पनि हुन्छ, कसैलाई पानीको वहाव । पहाडको उचाई । दू्रत गतिको सवारी । जंगली जनावर । पहिलो किसिमको डरले मानसिक सन्तुलनमा आँच पु¥याउँछ तर, यहाँ दोस्रो किसिमको डर, जुन मृत्युको कारण आउँछ ।

कसले देखेको छ यहाँ मृत्यु, आफ्नै नजरले । नाङ्गो आँखाले हामी अन्तरिक्षमा भएका भौतिक वस्तुलाई त नियालेर हेर्न सक्दैनौं भने मृत्यु त झन् भौतिक वस्तुको अन्त्य, त्यो पनि आफ्नै शरीरको । शरीर त के हो र ? क्षणभङ्गुर यो शरीर त कि माटोमा मिलिजान्छ, कि त आकाशमा उडिजान्छ । मृत्युलाई हाँसी हाँसी अपनाऊ वा दुःख, पीडामा भुलाइदेऊ, शरीरले साथ, मृत्युपछि अवश्य छाड्छ ।

मान्छे हुँ । संसारमा जन्मेका मान्छेहरु बिना गल्ती आज जुन स्थानमा छन्, त्यो स्थानमा पक्कै आएका होइनन् । मेरो गल्तीले कतिको मनमा कालो बादल छाएको होला, मेरो मृत्युले त्यो मनमा सेता बादलको आगमन हुन्छ होला, अनि वर्षिन्छन् होला पानी अनि देखिन्छन् होला इन्द्रेणी । तर, मेरो लागि आफ्नो मनमा स्थान दिनेको वर्षिन्छन्, अश्रुधारा । मेरो पार्थिव शरीरमा कति हान्छन् होला, मैले छाडेर गएको त्यो क्षण । मेरो नामलाई हावामा गुञ्जयमान गर्दै पुरै गाउँ थर्काउँछ होला । ओल्लो र पल्लो गाउँदेखि मेरो पार्थिव शरीर हेर्न भेला हुन्छन् होला । मेरा लागि झरेका ती आँशुले पनि शायद, मलाई सराप्छन् होला ।

त्यो खोला । जुन, खोलामा म नुहाउँथें । जुन खोलाको पानीमा म आफ्नो गर्मीपन भुलाउँथें । हो, त्यही खोलाको किनारमा राखिन्छ होला मेरो पार्थिव शरीर । पहेंलो वस्त्र धारण गराइदिन्छ होला । पार्थिव शरीर माथि फलामेऔजार राखिन्छ होला । अनि, टाउको र खुट्टामा दीयो बालिन्छ होला । बन्द आँखाले के नै पो देख्छ र? मेरा आँखा त शरीर चिसो, मुटुको धड्कन रोकिएसँगै नै बन्द भएका हुन् ।

हरिया दुई बाँसमा झुण्डयाई ल्याएको मेरो पार्थिव शरीरलाई खोलाको किनारमा राख्नेछ । वरिपरि मलाई आफ्नो मनमा राख्ने भन्दा रमिता हेर्नेहरु बढि हुनेछन् । सायद, त्यो भीडमा मलाई नचिन्ने पनि पक्कै हुनेछन् । कतिले मेरो जिवनको नितान्त अर्थ बुझाउनेछन् त कतिले मेरो बारेमा सोध्नेछन् । सायद, त्यही भीडमा मेरो पार्थिव शरीरलाई देखेर थुक्नेको पनि कमि हुनेछैन । अझ भनौं, त्यही भीडमा ढोंगी मलामीको पनि कमि हुनेछैन ।

त्यो ढुंगा र बालुवाको मैदानमा बनाइएको काठको थुप्रोमा मेरो पार्थिव शरीरलाई सुताउँदा, मलाई कुनै कष्ट हुनेछैन । त्यो खोलाको पानी मेरो मुखमा तर्काउँदा, मेरो घाँटीका प्वालबाट छिर्नेछैन । मेरो शरीरले धारण गरेको वस्त्र सबैको अगाडि फुकाल्दा, मलाई कुनै लाज हुनेछैन । सायद, जाने समयमा एकचोटी पनि जान्छु नभनि चटक्के बिर्सेंझै गरि जाँदा अझै कत्तिको मन दुख्छ होला । सलाईको काँटी बलेर औंलामा छुस्स पोल्दामात्र पनि पीडा हुने मलाई, मेरो पुरै शरीरलाई आगोले घेर्दासम्म म चुपचाप सहनेछु । मेरो शरीरको छाला, मासु, हड्डी गल्दासम्म पनि अझै म मौन रहनेछु । किनकी, मैले मृत्युसँग पराजय भोगेको छु ।

हो यस्तै हुनेछ मेरो मृत्युमा । तर, आजसम्म कसैले नदेखेको त्यो मृत्युको आभाष गर्न मन छ । मृत्युपछिको त्यो क्षणलाई नियालेर हेर्न मन छ । लचकदार सोफा र खाटमा समय बिताउने यो शरीर त्यो चितामा राख्दाको महसुस गर्न मन छ । वश्! मिल्ने भए एकपटक आफ्नो भौतिक शरीर धुँवासरि उडेर जाने गन्तव्य जान्न मन छ । मेरा लागि झरेका ती आँशुको प्रत्येक थोपाको हिसाब बुझाउन मन छ ।
वश्! मात्र एकपटक मृत्युको आभाष गर्न मन छ ।।

@nprowin007