Tuesday, July 28, 2020

म त ८४ भएछु

समय पनि कति छिटै
बित्दोरहेछ है?
अस्तिजस्तो लाग्छ
तिमी र म
जवानीको नशामा मातेको।
तर आज
न तिमी छौ, न मेरो जोस।
हेर त कतिछिटै
म त ८४ भएछु।
आजभोलि त मेरो बोली
सुनिदिने पनि कोही छैन,
त्यसैले त आज म
माल्यार्पण गरी झुन्ड्याएको तिम्रो तस्वीर
अगाडि उभिएर बोल्दै छु,
तिमीलाई केही सुनाउन खोज्दै छु,
झर्को नमानी सुनिदेऊ है !
हिजो कोखाई-कोखाई
भन्दै खुवाएर हुर्काएको छोरोले
आज बाउ चिनेन।
सायद पढेलेखेको भएर होला
आज उसले गाउँ चिनेन,
बुहारीपनि पढेलेखेकी नै खोजेछ,
त्यसैले होला आज उसले
म अनपढको ठाउँ चिनेन।
तर
प्राय शान्त रहने मेरो फोन
कहिलेकाही कराउँछ,
अनि पल्लाघरे कान्छोले सिकाएझैं
म फोनको हरियो बटनमा थिचिदिन्छु!
त्यसपछि छोराको आवाज सुनिन्छ-
"बा! ढोग गरेँ"
पालैपालो
छोराबुहारी र नाति बोल्छन् ।
सायद उनीहरू पढेलेखेका
भएर होलान्
म बुढोलाई अर्तीउपदेश
दिदै बिदा हुन्छन् ।
कहिलेकाहीँ त लाग्छ -
"सायद छोरोले मलाई जवान नै देख्यो,
र त केहीगर भनी उपदेश दिएर गयो!
हुनसक्छ म अँझै जवान नै छु ।"
अनि मेरो रुञ्चे मन फुरुक्क फुर्किन्छ,
त्यसपछि म
यकिन गर्न ऐनासामु उभिन्छु
र हेर्छु आफूलाई... टुलुटुलु।
तर होइन रहेछ
म त बूढो भएछु ।
आँखाको बाध फुटेर
निरन्तर भल बगिरहेकाले
आज गालामा थुप्रै कुलेसाहरू बनेछन।
दारीजुँघा, कपाल सबै झरेछन,
छाला चाउरी परेछन ।
ओहो! म त ८४ भएछु।
अँ ....साँच्ची !
भगवान त महान हुनुहुन्छ,
उहाँले कोरिदिएका भावीरेखा
नराम्रा त कहाँ थिएहोला र...है?
उबेला त मेरो साथमा
तिमी थियौ, परिवार थियो
सबैले बा..बा.. भन्दै
मलाई नै खोज्थे,
सबै मेरैसामु झुमिन्थे।
हेर त म कति भाग्यमानी थिए।
तर आज सबै हस्तरेखा मेटिएछन
सायद जवान छदा समाएका
ती कोदालोका बिडले
मेरो भाग्यरेखा चोरेर लगेछ।
जेहोस् अब म पनि
कति चाहिँ बाँच्छुहोला र ?
आशा गरौं त्यो परलोकमा
हाम्रो भेट छिटै नै हुनेछ ।
अब तिमीसामु आउने
मेरा दिनहरू नजिकिदै छन्
किनकि
हेर्दाहेर्दै म पनि बूढो भएछु,
बुढी! आज त मेरो जन्मदिन,
म त ८४ भएछु ।
-कौशल काफ्ले
तिनपाटन-२, सिन्धुली

Tuesday, May 12, 2020

एक सर्काे माया

“धुम्रपान तथा सुर्तिसेवनले फोक्सोको क्यान्सर हुन्छ” बारम्बार यहि पढ्छु र उडाउँछु सेतो धुँवा । अन्धकार कोठाभित्र एकान्तमा मनको बोझलाई त्यही धुँवाले थिच्दैछु । खिल्लीको टुप्पोको आगोलाई हेर्दै तान्दैछु “एक सर्काे” ।

“खोई के छ यसमा ?” भन्छन् शरीर भित्रको फोक्सोमा कालो धुँवाका धब्बाहरु बनाउँछ, तरपनि मलाई भने यो जतिजति तान्दै गयो उतिति मनमा सन्तोष मिल्दै जान्छ । अझै तान्छु, अझै आनन्द आउँछ । जतिजति खिल्ली सानो हुँदै गयो, उतिउति नै मनको भारी हलुङ्गो हुँदै जान्छ । लाग्छ, सारा ब्रह्माण्डले मेरो मनलाई थिचिरहेको छ, त्यही ब्रह्माण्डलाई एक सर्काेले हलुङ्गो बनाइरहेछ । बाबाजीहरुले तान्ने तोपमा त अझै धेरै आनन्द मिल्छ रे भन्छन्, आजसम्म चाखेको त छैन तर बाबाजीहरुको हाउभाउ देख्दा त्यसरी नै टहल्न मन लाग्छ । तान्नेलाई स्वर्गीय आनन्द मिल्छ रे, नर्कमा बसेर स्वर्गीय आनन्द म पाऊँ कसरी ?

पाइला पाइलामा यहाँ ठेस लगाउन खुट्टा तेस्र्याउनेको भीडमा लडेको अवस्थामा उठाउने भन्दा सेल्फी क्लिकमा मस्त हुने दूनियाँमा कसैसँग केही गुनासो गर्नुछैन । आफ्नो जिन्दगीको बाटोमा आफै लड्दै उठ्दै हिँड्न सिकिरहेको म मा भगवानले खोट देख्यो या आफ्नाले, मैले खुट्याउन सकेको छैन । आफ्नाले भलो चाहँदैनन्, आफ्नाले नै हो घात गर्ने, पराईलाई त के थाहा कि मेरो कमजोर कडि ?

अरुले चुरोट तानेर धुँवा निकालेको देख्दा मलाई हेर्न खुब गज्जब लाग्थ्यो । मन्दिरमा छाडिएको गन्हाउने बोकाले समेत धुँवा निकालेको देख्दा झनै मज्जा लाग्थ्यो । पहिलो पटक हातमा गैंडा चुरोट लिएर आएँ । दुवैतिर फिल्टर थिएन, कसरी तान्ने, कहाँ आगो लगाउने थाहा थिएन । आफ्नाहरु त सँधै साथमा हुन्छन्, कहाँ आगो लगाउने ठ्याक्कै थाहा पाउँछन् र झोस्छन् । गैंडालाई मैले पहिले देखेको थिए तर चिनेको थिइन, यसैले कहाँ आगो लगाउने थाहा भएन । त्यो गैंडाको एकापट्टिको कुनामा सलाईको काँटीले आगो लगाएँ । डढेलो लागेको जस्तो गरी धुँवादार भयो, गैंडा । अर्काेपट्टिको कुनालाई मुखमा राखें र तानें...... उफ्फ् ! मुखमा त सुर्ति नै सुर्ति भयो । ‘छ्याः कस्तो तीतो’ भन्दै फ्याँकिदिएँ । यसपछि कहिल्यै चुरोट तान्ने कल्पना समेत गर्न सकिनँ ।

समय र परिस्थितिले मानिसलाई कहाँ पु¥याउँछ, थाहा छैन । जिन्दगीको गोरेटोमा अचानक भेट भयो, उनीसँग ।
उनको मुहारको चमकले जिन्दगीमा उज्यालो दियो, अन्धकार कोठामा बालिएको दियो झैं ।
उनको स्वर र मृदुभाषी लवजले कानमा कुहिन लागिसकेको पर्दापनि सुकिलो भएर आयो ।
पीडाका वहावहरुले बनेको समुद्ररुपी मनमा आशाका लहरहरु उर्लिन थाल्यो ।
दिन बित्दै गयो, साथ बढ्दै गयो ।
सपनाहरु बुन्दै गए, समयले आफ्ना बनाउदै गए ।
भगवानको कृपा म माथि छैन, या अरु कोही । समयले साथ छोड्यो, दिन बद्लिँदै गए । र, आज उनी थिइन् भन्नेमा पुग्यो ।

रातको जुनकिरी जस्तै भइन् उनी ।
कानमा राखिएको एअरफोन जस्तै भइन् उनी ।
आँखामा आउने खुशीको आँसु जस्तै भइन् उनी ।
मस्तिष्कमा आउने मीठो कल्पना जस्तै भइन् उनी ।
मनको समुद्रमा उर्लिएको छाल जस्तै भइन् उनी । अहिले यहाँ, भोलि कहाँ कहाँ ?

यस्तै बीचमा कोदोको झोलमा अल्झियो जिन्दगी । त्यो सोमरस, जसले मनको छाललाई रोक्दैथियो, जसले आँखाका आसुँलाई रोक्दै थियो, जसले कानमा गुन्जिएको मीठो धुनलाई रोक्दै थियो । पीडालाई पीडा पाउनले मात्र बुझ्छ भनेझैं रसमा साथ दिनेले हातमा खिल्ली थमायो र भन्यो “मित्र ! पीडा तिम्रो आँखामा झल्किएको छ । पीडा बाँड्नु मन हल्का हुन्छ ।” खोई ! के भयो मनमा, सबै पीडा पोखिदिएँ । नभन्दै मनको बोझको तौल घटेको महसुस भयो । “यो रससँग यसलाई स्वाट्ट पार, मन शान्त हुन्छ” भन्दै सुर्य लक्जरी किंग्सको बट्टा अगाडि सारिदियो । बिना हिच्किचाहट मैले खिल्ली हातमा लिएँ । “मनमा पीडा दिने सम्झनु यसलाई र उही सम्झिएर आगो लगाइदिनु, झनै आनन्द आउँछ” उनले सलाई काँटी बाल्दै आगो अगाडि ल्याएर भने । तानें मैले त्यो खिल्लीको धुँवा, साँँच्चै यो पटक भने मैले स्वर्गीय आनन्द महसुस गरें ।

“एक सर्काे”, “अब एक सर्काे” र “यो अन्तिम....” जस्ता वाक्यहरु उसको मुखमा रुमल्लिरहेको थियो । मेरो मन त्यही वाक्यमा विलिन हुँदै गर्दा कतिबेला सुर्य पनि विलिन भएछ पत्तै पाएन ।

माया गर्दा खुशी हुन्छ भन्थे, यथार्थ पीडा भोग्दैछु ।
मायामा संसार रंगिन हुन्छ भन्थे रंगविहिन देख्दैछु ।
मायामा सबैकुरा बिर्सिन्छ भन्थे, आज त्यसैलाई बिर्सन सेतो धुँवा उडाउँदैछु ।
मायामा मन शान्त रहन्छ भन्थे, शान्ति खोज्न सल्काउँदैछु ।
हो,
त्यही मायामा सारा संसार भुलाएको थिएँ । आज त्यसैलाई भुल्न सेतो धुँवामा हराउने कोशिस गर्दैछु ।

उनको नयनको नशामा हराएको म,
उनको सुस्केरामा लठ्ठीएको म,
उनको सासमा मदहोस भएको म,
उनको स्पर्शमा विलिन भएको म,
उनको शब्द शब्दमा जिन्दगी देखेको म,
उनको चालमा मुकदर्शक भएको म,
उनको मायामा गगनचुम्बी आभाष बोकेको म,
एक क्षण,
एक पल,
एक शब्द,
एक समय,
एक परिस्थितिले गर्दा नै आज उनको यादमा “एक सर्काे माया” उडाउँदैछु । यो प्रत्येक खिल्ली हातमा लिँदा “चुरोट खाने मान्छे मनपर्दैन” भन्ने उनको वाक्य मानसपटलमा घुमिरहन्छ, प्रत्येक खिल्ली सल्काउँदा “जिन्दगीभर चुरोट चाहीँ नखानु ल” भन्ने उनको वाक्यले चस्स घोच्छ । अनि, प्रत्येक पफमा उडाएको सेतो धुँवाले “तिमी रहन्नौं त के भो र ? खिल्ली त मसँगै हुन्छ” जस्ता वाक्य तिमीलाई सुनाउन मन लाग्छ । तिम्रो यादलाई जलाउनकै लागि भएपछि आज तिम्रै यादमा तान्दैछु प्रिय ! “एक सर्काे माया” ।