Showing posts with label समसामयिक. Show all posts
Showing posts with label समसामयिक. Show all posts

Wednesday, August 26, 2020

तबसम्म कोरोना अन्त्य हुँदैन

आजको वैज्ञानिक युगमा पनि वितेको सात महिनामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पत्ता लगाउन सकिएको छैन । विश्वमा करोडौंको संख्यामा संक्रमित भइसकेका छन् भने लाखौंको संख्यामा मानिसहरुको मृत्यु समेत भइसकेको छ । यस्तो अवस्थामा नेपालमा हाल बन्दाबन्दीको अवस्था भएपनि विश्वको तुलनामा नेपालमा संक्रमण नियन्त्रण र रोकथाममा सफलता पाउन सकेको छैन |

Add caption

कोरोना भाइरस के हो ?

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस भनी नामाकरण गरेका हुन् ।

भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो । चीनको वुहान शहरनजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा सन् २०१९ डिसेम्बरमा पहिलो पटक यसको संक्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । 


कोरोनाभाइरस संक्रमण कसरी हुन्छ ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।

नेपाल र कोरोना भाइरस

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक सन् २०२० जनवरी २३ मा संक्रमण देखिएको थियो । यसपछि सन् २०२० को मार्च महिनाबाट छिमेकी देश भारतमा संक्रमितको संख्यामा वृद्धि भएपछि खुल्ला नाकाको कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा वृद्धि हुन गएको हो । यसपछि मार्च २२ बाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो भने मार्च २४ बाट देशभर बन्दाबन्दीको सरकारले घोषणा गरे ।

बन्दाबन्दीको समयमा अत्यावश्यक सामान ढुवानीको सवारी साधनमा लुकेर आउने र एम्बुलेन्सको दुरुपयोग गर्नेहरुको कारणले मानिसको आवतजावत रोकिएको थिएन । यस्तै, भारतबाट नेपालको तराई भु–भागमा प्रवेश गर्नेको संख्यामा समेत अत्याधिक मात्रामा वृद्धि हुन गयो । करीब ८० दिनका बन्दाबन्दीमा तराई क्षेत्रमा अलिक बढी मात्रामा संक्रमित देखिएकोले मन्त्रीपरिषद्को निर्णयले संक्रमित क्षेत्रलाई सिल गर्ने र अन्य जिल्लामा बन्दाबन्दीको अन्त्यको घोषणा गरे । एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको कोभिड प्रोटोकपको आधारमा जीवनयापन गर्ने सरकारले सबैलाई आग्रह गरेका थिए ।


तबसम्म कोरोना अन्त्य हुँदैन

नेपालमा जब बन्दाबन्दीको अन्त्य घोषणा गरे, त्यसपछि राजधानी फर्किनेको संख्या पुनः वृद्धि हुन गयो । नेपालको साक्षरता प्रतिशतलाई हेर्ने हो भने सन् २०१८ मा आएर वल्र्ड डाटा एट्लासका अनुसार ६७.९ प्रतिशत रहेको छ । यहाँ ६७.९ प्रतिशत साक्षरता भएपनि व्यवहारमा लागु गर्ने ३० प्रतिशतको हाराहारीमा होलान् । मानिसहरुमा चेतनास्तरको कमी एकातिर छ भने सरकारले कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम ल्याउन सकेको छैन ।

जब बन्दाबन्दीको अन्त्य भयो, तब कोरोनाको अन्त्य भएको थिएन । मानिसहरुको आवतजावत रोकिएन, भीडभाड गर्न कम गरिएन, कोभिड प्रोटोकललाई कसैले अनुशरण गरेन, माक्स मुख छोप्न भन्दा हातमा बोक्न र चिउँडो छोप्न प्रयोग गरियो । बेलाबेला हात धुनुपर्ने कुरालाई मनन गर्न कसैले सकेनन् । आफैले आफ्नो स्वास्थ्य माथि खेलबाड गर्न नेपालीलाई गरिबीले पेल्न थालेको थियो । सरकारले साना मजदुरहरुलाई राहतको कुनै प्याकेज व्यवस्था गर्न सकेनन् । कतिपय स्थानमा आत्महत्या गर्नेको समाचार पनि बाहिर नआएको होइन । ‘गोर्खालीको छोरालाई केही हुँदैन’ जस्ता अहमताले अगाडि बढेको नेपालीलाई अन्तत पुनः कोरोना संक्रमितको बढ्दो संख्याले चुनौती दिएको छ ।

संक्रमितलाई समाजले देखाउने अमानवीय व्यवहार र स्वास्थ्यकर्मीहरु प्रति हेर्ने दृष्टिकोणले नेपाली समाजमा कोरोनाको संक्रमण चेन ब्रेक हुन्छ ? भन्ने कुरा नै अन्यौलमा पर्न थालिसेकको छ । बिहानको मर्निङ्ग वाक, साँझको इभिनिङ्ग वाक नगरी नहुने नेपालीको बानी, काम नभएसी लखरलखर साथीभाइसँग घुलमिल हुने, बन्दाबन्दीको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर नहिड्नु भन्दा पनि अनेकन बहानाले बाहिर निस्कने प्रवृत्ति हाबी देखिएको छ । अझ बाहिर निस्कदा मास्क आफ्नो स्वास्थ्य सुरक्षाको लागि लगाउनुपर्ने अवस्थामा सरकारले मास्क नलाउनेलाई कारवाही गर्ने भनी जबरजस्ती मास्क लगाउन भन्नुपर्ने अवस्था छ ।

सरकार पक्षले पिसिआर टेस्टलाई दू्रतगतिमा लान नसक्नु अर्का कमजोरी पक्ष हो । स्वाब संकलन गरी परीक्षणमा दिएको २÷३ दिन पछि रिपोर्ट आउनु, संक्रमित व्यक्तिको मृत्यु भएपछि रिपोर्ट आउनु र मलामीमाथि कन्ट्याक्ट टे«सिङ्ग गर्न बाध्य हुनु, यो त भयो नै अस्पतालहरुले सामान्य बिरामीलाई नहेर्ने, एउटा अस्पतालबाट अर्काे अस्पतालमा रिफर गर्दा घुम्दाघुम्दै बिरामीको मृत्यु हुनु जस्ता अमानवीय व्यवहार समाचारमा प्रकाशित भएका छन् ।

नेपालमा कोरोना संक्रमणको चेनब्रेक गर्न पुनः निषेधाज्ञा घोषणा अहिलेपनि जारी छ तर संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थामा हामी मानिसहरु आफै आफ्नो स्वास्थ्यप्रति सम्वेदनशील भएर आफु सजग नभएसम्म जतिसुकै बन्दाबन्दी र निषेधाज्ञाको घोषणा गरेपनि कोरोना संक्रमणको अन्त्य हुन त्यति सहज देखिँदैन । आफू सचेत होऔं, अरुलाई पनि सचेत गरांै । आफू संक्रमित हुनबाट बचौं र अरुलाई पनि संक्रमित हुनबाट बचाऔं ।


Monday, July 27, 2015

मृत्युको आभाष गर्न मन छ !

डर । मान्छे जब त्रसित हुन्छ, तब पैदा हुन्छ, डर । डर, के को ? गालीको । पिटाइको । अपशब्दको । सम्बन्ध टुट्नुको । इज्जत गुमाउनुको । यि मात्र हैनन्, डर त वश देखेकै भरमा पनि हुन्छ, कसैलाई पानीको वहाव । पहाडको उचाई । दू्रत गतिको सवारी । जंगली जनावर । पहिलो किसिमको डरले मानसिक सन्तुलनमा आँच पु¥याउँछ तर, यहाँ दोस्रो किसिमको डर, जुन मृत्युको कारण आउँछ ।

कसले देखेको छ यहाँ मृत्यु, आफ्नै नजरले । नाङ्गो आँखाले हामी अन्तरिक्षमा भएका भौतिक वस्तुलाई त नियालेर हेर्न सक्दैनौं भने मृत्यु त झन् भौतिक वस्तुको अन्त्य, त्यो पनि आफ्नै शरीरको । शरीर त के हो र ? क्षणभङ्गुर यो शरीर त कि माटोमा मिलिजान्छ, कि त आकाशमा उडिजान्छ । मृत्युलाई हाँसी हाँसी अपनाऊ वा दुःख, पीडामा भुलाइदेऊ, शरीरले साथ, मृत्युपछि अवश्य छाड्छ ।

मान्छे हुँ । संसारमा जन्मेका मान्छेहरु बिना गल्ती आज जुन स्थानमा छन्, त्यो स्थानमा पक्कै आएका होइनन् । मेरो गल्तीले कतिको मनमा कालो बादल छाएको होला, मेरो मृत्युले त्यो मनमा सेता बादलको आगमन हुन्छ होला, अनि वर्षिन्छन् होला पानी अनि देखिन्छन् होला इन्द्रेणी । तर, मेरो लागि आफ्नो मनमा स्थान दिनेको वर्षिन्छन्, अश्रुधारा । मेरो पार्थिव शरीरमा कति हान्छन् होला, मैले छाडेर गएको त्यो क्षण । मेरो नामलाई हावामा गुञ्जयमान गर्दै पुरै गाउँ थर्काउँछ होला । ओल्लो र पल्लो गाउँदेखि मेरो पार्थिव शरीर हेर्न भेला हुन्छन् होला । मेरा लागि झरेका ती आँशुले पनि शायद, मलाई सराप्छन् होला ।

त्यो खोला । जुन, खोलामा म नुहाउँथें । जुन खोलाको पानीमा म आफ्नो गर्मीपन भुलाउँथें । हो, त्यही खोलाको किनारमा राखिन्छ होला मेरो पार्थिव शरीर । पहेंलो वस्त्र धारण गराइदिन्छ होला । पार्थिव शरीर माथि फलामेऔजार राखिन्छ होला । अनि, टाउको र खुट्टामा दीयो बालिन्छ होला । बन्द आँखाले के नै पो देख्छ र? मेरा आँखा त शरीर चिसो, मुटुको धड्कन रोकिएसँगै नै बन्द भएका हुन् ।

हरिया दुई बाँसमा झुण्डयाई ल्याएको मेरो पार्थिव शरीरलाई खोलाको किनारमा राख्नेछ । वरिपरि मलाई आफ्नो मनमा राख्ने भन्दा रमिता हेर्नेहरु बढि हुनेछन् । सायद, त्यो भीडमा मलाई नचिन्ने पनि पक्कै हुनेछन् । कतिले मेरो जिवनको नितान्त अर्थ बुझाउनेछन् त कतिले मेरो बारेमा सोध्नेछन् । सायद, त्यही भीडमा मेरो पार्थिव शरीरलाई देखेर थुक्नेको पनि कमि हुनेछैन । अझ भनौं, त्यही भीडमा ढोंगी मलामीको पनि कमि हुनेछैन ।

त्यो ढुंगा र बालुवाको मैदानमा बनाइएको काठको थुप्रोमा मेरो पार्थिव शरीरलाई सुताउँदा, मलाई कुनै कष्ट हुनेछैन । त्यो खोलाको पानी मेरो मुखमा तर्काउँदा, मेरो घाँटीका प्वालबाट छिर्नेछैन । मेरो शरीरले धारण गरेको वस्त्र सबैको अगाडि फुकाल्दा, मलाई कुनै लाज हुनेछैन । सायद, जाने समयमा एकचोटी पनि जान्छु नभनि चटक्के बिर्सेंझै गरि जाँदा अझै कत्तिको मन दुख्छ होला । सलाईको काँटी बलेर औंलामा छुस्स पोल्दामात्र पनि पीडा हुने मलाई, मेरो पुरै शरीरलाई आगोले घेर्दासम्म म चुपचाप सहनेछु । मेरो शरीरको छाला, मासु, हड्डी गल्दासम्म पनि अझै म मौन रहनेछु । किनकी, मैले मृत्युसँग पराजय भोगेको छु ।

हो यस्तै हुनेछ मेरो मृत्युमा । तर, आजसम्म कसैले नदेखेको त्यो मृत्युको आभाष गर्न मन छ । मृत्युपछिको त्यो क्षणलाई नियालेर हेर्न मन छ । लचकदार सोफा र खाटमा समय बिताउने यो शरीर त्यो चितामा राख्दाको महसुस गर्न मन छ । वश्! मिल्ने भए एकपटक आफ्नो भौतिक शरीर धुँवासरि उडेर जाने गन्तव्य जान्न मन छ । मेरा लागि झरेका ती आँशुको प्रत्येक थोपाको हिसाब बुझाउन मन छ ।
वश्! मात्र एकपटक मृत्युको आभाष गर्न मन छ ।।

@nprowin007

Wednesday, February 18, 2015

सोच

“ह्याँ यार .... ढिलो भैसक्यो, जाउँ न भन्या, घर जाने हैन ?” च्याँखेले भन्यो । “हो हो ल जाउँ न त साह्रै अबेर भो घरमा फेरि कराउँछ” उता सुसेले भन्दै थियो । तर, म भने आफ्नै ध्याउन्नमा थिएँ । सबैलाई घर जान ढिला भैसकेको थियो, मलाई भने घरै जान नपरोस् झैं लाग्दैछ । सबैजना उठेर जान ठिक्क पर्दै थियो, च्याँखेले सोध्यो “ओई तँ घर नजाने ?” मैले भनें “यति छिटो के घर जानु ? घर गयो कि सँधै को त्यहि कचकच, कचकच सुन्नुपर्छ, एकछिनमा जान्छु, तिमारुलाई ढिला भए जा न त ।” मेरो अनुमति पछि सबैजना त्यहाँबाट हिँड्यो, म एक्लिएँ ।

एउटा क्यान्सर पाइप मगाएँ र सल्काएँ अनि बनाएँ धुवाँको शहर । कोर्न थालें, त्यसमा आफ्नो चित्र । अनि देखें, आफ्नै अनुहार । “छिः कस्तो नराम्रो”, आफ्नै अनुहार पनि गल्ली गल्ली भौतारिँदै हिड्ने भुस्याहा कुकुरको झैं लाग्यो । प्रतिविम्वित अनुहारलाई थुकें, पुछ्न थालें फेरि । मनमा धुँवाले डेरा जमाउँदै गयो, दिमागले नानाभाती कुराहरु टहल्दै गयो । अनि बिस्तारै आफ्नो कदमलाई ढोकातिर लगें र लागें आफ्नो बाबुको घर ...।

पुग्ने बित्तिक्कै कचकच शुरु भयो आमाको । चुपचाप, भिजेको बिरालो झैं लुसुक्क आफ्नो डेरामा गएँ । कोही कसैसँग बोलचाल भएन । खाना खान बोलायो, मनले मानेन । तरपनि खाना पस्किएपछि नखाउँ अर्को कचकच सुन्छुपर्छ भन्दै भान्छातिर लागें । पस्किएको खानालाई पाचन प्रक्रियामा हाल्न हात उठाउँदै थिएँ । “जहिले यसरी हुन्छ छोरा ? हेर् तँ सँगैको त्यो रामेश्वरको छोरा कहाँ पुगिसक्यो । कत्ति कमाई धमाई छ । अनि त्यो बच्चा बेलामा सँधै स्कुल जान तँलाई लिन आउने सुरजलाई हेर् । आज बाइक लिएर हिँडेको छ । तेरै उमेरका सबैजनाले कत्ति प्रगति गरिसक्यो । अनि तँ भने चैं सँधै यस्तो तालले हुन्छ ?” बुबाको कचकच शुरु भयो ।

यता आमा भन्दै थिइन् “खाने बेलामा त नकराउनु ।” “कराएको हो त ? मैले त सम्झाएको । अनि यि महाशयलाई अरु बेला घर भेट्नै गाह्रो छ, ऐले नभनेर कैले भन्ने ?” बुबाको रिस अझ बढ्दै गयो ।

एक गाँसमा मुखमा थियो त्यो पनि चपाउन मन लागेन । आमा मेरो पक्षमा बुबासँग कराउन थाल्नुभयो, बुबाको रिस सिमाना नाघ्दै थियो । “तिम्रै मायाले पुल्पुल्याएर राख, अनि गर्छ यसले प्रगति । को को कहाँ कहाँ पुगिसक्यो, कस्तो कस्तो प्रगति गरिसक्यो । पल्लाघरे कान्छासाउको छोरा विदेशमा छ । वर्षैपिच्छे लाखौं घर पठाउँछ । हाम्रो भने यस्तो गति छ । के गरि खाला यस्ले ?” बुबाको रिसले अनुहार पुरै डल्ले खोर्सानी खाए झैं भइसक्यो । यता आमा एकशब्द बढी बोल्यो भने बुबा झन् रिसाउनुहुन्छ भन्दै चुपचाप छेवैमा बसिरह्यो, भन्दै हुनुहुन्थ्यो “खाना खा ।”

खानलाई पनि मन चाहियो नि । मनै नभईकन खाएको खाना मुखमा पुगेपनि मेरा यि दाँतहरुले कसरी पो चपाउँलान् र ? मेरो मन, मस्तिष्कले अनुमति नदिएसम्म । उता बुबाको कचकचले कान पाकिसक्यो, यता आमाको मायाले मन पाकिसक्यो । आमाको अनुहार हेर्छु, आमाको मन राख्न खाउँ झैं लाग्छ । उता बुबाको प्रत्येक शब्दले मनभित्र वाँण हानिरहेको छ, लगातार लगातार । अनि मुखैमा भएको एक गाँस चपाउन पनि ढुंगा झैं साह्रो लाग्दैछ ।

“अनि के महाशय ? यसरी नै बित्छ जिन्दगी ? केही काम धन्दा गर्ने विचार छैन ?” प्रश्न गर्न शुरु गर्नुभयो बुबाले । “कि बिहे गर्छस्, बिहे गरेपछि त केही सुद्धी आउँलान् कि तेरो ? हैन भने कि विदेश जाने ? नभए सानो तिनो काम खोज् । यो पाराले तेरो जिन्दगी बन्दैन । सँधै तेई आवारा केटाहरुसँग घुम्दै तेरो पुरै जिन्दगी कट्छ ?” प्रश्नपछि प्रश्न गर्दै प्रश्नको बाढी नै आयो । बाढी थेग्न म सँग केही आधार पनि छैन । त्यहि बाढीमा डुबेर आफ्नो अस्तित्व मेट्न पनि चाहन्छ । के गरुँ ? कसो गरुँ ? को मनसायमा जुरुक्क उठें र लागें आफ्नो बाटो, बाढीको बाटोलाई अर्कैतिर छाडेर ।

“ऊ ऊ ऊ .... केई भन्दै हुँदैन अब गयो” रिसले रातोपिरो भएका बुबा, खाना छाडेर बर्बराउँदै आफ्नो कोठातिर लाग्यो । आमाको आँखाबाट भने पुरै नूनिलो पानीको वर्षात् हुन थाल्यो । पस्किएको खाना पनि नखाई हिँडेकोमा आमा पनि बर्बराउँदै रुन थालिन् । कसरी पो सम्झाउनु, के पो गरुँ ? कुन आधारमा आमाको आँशु पुछ्न जाउँ, कुनै आधार छैन । लाग्न थाल्यो, बाँच्नुको कुनै अस्तित्व छैन । आफ्नो शरीर आफैलाई बोझ लाग्न थाल्यो । मरेरै समस्याको समाधान खोज्ने युक्ति त आयो । फेरि सोचें, थुइक्क म नामर्द त होइन नि ।

रात छिप्पिँदै गयो । टहटह जूनको उज्यालो कोठाभित्र छर्लङ्गै थियो । झ्यालमा आएर बाहिरी दृश्य हेरें, पुरै अन्धकार थियो । मैले आफ्नो फोक्सो पनि त्यस्तै भयो होला भनि सोचें । मनमा अनेक कुराहरु खेल्यो । अब केही गर्नुपर्छ भन्ने मनसाय आयो । अनि फेरि त्यसमै निराशा पनि, गर्ने कसरी ? भन्ने प्रश्नले । बगलीमा भएको एउटा क्यान्सर पाइप निकालें । आफ्नो मनलाई शान्त बनाएँ । भोलिको दिनबाट मैले आफु बाँच्नुको कारण खोज्ने निधो गरें । कुनै सानो तिनो काम गर्ने र कामको खोजीमा हिँड्ने सोच लिएर त्यो मध्यरातमा आफ्नो शरीरका प्रत्येक अंगलाई आराम दिने प्रयत्न गरें । तर, पनि सोच घुमिरहेछ मस्तिष्कमा .... फनफनी फनफनी ।

बिहान सबेरै उठेर बजारतिर लागें । बच्चाहरु पत्रपत्रिका साइकलमा राखेर कुदेको देखें । भन्दै थियो, आजको ताजा खबर आजको ताजाखबर । ताजाखबरको व्यापार गर्दै आफ्नो जिविका गुजार्न बाध्य बालकहरु देखें । अलि पर गएँ, तरकारी बजारमा बिहानैदेखि तरकारीको मोलमोलाई गर्दै रहेछन् त्यस्तै, सातआठ वर्षका बालबालिकाहरु । अभिभावकहरु पनि थिए सँगै । कसैको डोकोभरि गोलभेडा थियो त कसैको डोकोभरी सागपात । बिहानै बिहानै यस्तो दृश्य मैले पहिलो पटक देखेको थिएँ । तरकारी बजारमै बसेर सबैको गुजारालाई नियाल्न थालें । कृषिप्रधान देश भएर हो कि जस्तो पनि लाग्यो, एक क्षण त । सबैजना विभिन्न किसिमका तरकारीको बिक्रि गर्दै आफ्नो जिविकोपार्जन गरिरहेका थिए । उनीहरुको आफ्नो बाँच्ने आधार कृषि रहेछ, यस्तै लाग्यो ।

रिक्सा चलाउनेहरु कसरी आफ्नो रिक्सा भरौं र सामान पुर्याएर पैसा लिउँ भैरहेको देखें । लोकल बसतिर नजर लगाएँ त्यस्तै, कसरी आफ्नो गाडी भरौं भन्ने समस्या पर्दै थियो, गाडीका स्टाफहरुलाई । पत्रपत्रिका बेच्नेहरु नयाँ नयाँ बहाना बनाउँदै पत्रिका बेच्न मस्त थिए । एकजना त मेरो अगाडी पनि आइपुग्यो, भन्दै थियो “ऋतिक रोशनसँग डिभोर्स गरेर सुजेन अर्काेसँग मस्त भनेर लेखेको छ, पढ्नुस् न दाई, एउटा लिइदिनुस् ।” “कत्ति हो ?” मैले सोधें । उसले भन्यो “पाँच रुपियाँ ।” एउटा पत्रिका लिएँ र पढ्न थालें । पाएँ, त्यो केटोले जति भनेको थियो, त्यति नै मात्र लेखेको रहेछ तर त्यही थोरै कुरालाई धेरै अक्षरहरुमा भने ढालेका रैछन् ।

बाटोमा आफ्नो गन्तव्य खोज्दै हिँडे । रसआवर शुरु भए जस्तो लाग्यो । बाटोमा मानिसका चाप देखेर आफुले टेक्नलाई ठाउँ पनि नपाएको महसुस हुन थाल्यो । यता हेर्छु सबका सब हतारमा छन्, उता हेर्छु सबका सब हतारमा छन् । बिहानी शत्रको कलेज छुट्ने, विद्यालय जाने समय, त्यति नै बेला । विद्यालय, कलेज पोशाकका युवायुवतीहरु आआफ्नै समूह बनाएर ख्यालठट्टा गर्दै हिँडिरहेछन् । अफिस जाने प्रत्येकलाई आफु छिटो अफिस पुग्न अरुको वास्तै नगरि कुदिरहेछन् । एकछिन टक्क अडिएँ र चारैतिर नजर लगाएँ । अनि सम्झें, यो संसारको सबैभन्दा फुर्सदिलो मान्छे म पो रहेछु ।

एकजना फुच्चे “दाई एक रुपियाँ” भन्दै आइपुग्यो । लुगा हेरें, कत्ति महिना पो भयो होला नधोएको, सायदै वर्षदिनै पो भयो कि ! नाकमा सिँगानको टाटो त्यस्तै देखिन्थ्यो, लुगा पनि ठाउँठाउँमा च्यातिएको । आफैलाई उकुसमुकुस भएर आयो । चानचुन हेरें, रहेनछ, पाँचको नोट दिएर पठाएँ । ‘यसरी पनि किन जिउँछन् मान्छे, केही काम गरेर खानू नि, यसरी चल्ने जिन्दगी पनि जिन्दगी हो र ?’ झैं लाग्न थाल्यो ।

एउटा पसलमा लागें । रामैं चिनजान थियो । सँगै बसेर चिया पिउँदै गफ्फिन थालें । सोध्यो “अनि के छ त विचार अब ?” मैले भनें “खोई दाई ! म त जिउने आधार खोज्दै हिँडेको ।” उसले सोध्न थाल्यो “पायौ त ?” “कहाँ पाउनु र खै ? सबैजना आआफ्नै तरिकाले जिएका छन्, के गरुँ के गरुँ चै भइराख्या छ” आफ्नो दुःखेसो पोख्दै भनें । “अब के भन्नू र तिम्लाई खै, व्यापार व्यवसाय गर भनूँ भने मेरो पनि उस्तै समस्या भइसक्यो, आज होला छैन भोलि होला छैन, बैंकबाट लिएको ऋणको ब्याज तिर्न पनि धौ धौ भइसक्यो” आफ्नो दुःखेसो उल्टो म माथि पोख्न थाल्यो । आआफ्नो दुःख एकअर्कालाई सुनाउँदै दिन त्यहीँ बित्यो । उसले सुनाएको एउटा कुराले बाँच्ने आधार खोज्न अझै गाह्रो बनायो “मान्छेहरु अरुले यति र उति प्रगति गर्यो भनेर देख्छन् तर तिन्लाई के थाहा र प्रगति गर्दा पनि कत्ति दुःख भोग्यो र प्रगति पछि पनि कत्ति दुःख खाँदैछ भनेर !”

मनलाई प्रश्नको वाणले हान्न थाल्यो । दिमाग चलमलाउन छाड्यो । कछुवा गतिमा घर फर्किएँ, बाटोमा केटाहरु गफ्फिँदै थिए “हैन ओ ... लागम् या विदेशतिर, यो नेपालमा बसेर त खै कैले प्रगति हुने भएन । बाहिर भए आनन्द छ दरो कमाई हुन्छ, यता आएर शानले बस्न पाउँछ ।” अर्काे केटा भने विदेश जान मन नभएर होला, भन्दै थियो “विदेश विदेश भनेर विदेश जाँदै रुखमा फलेको पैसा टपक्क टिपेर आउने हैन क्यार ! विदेश गएर राम्रो ठाउँमा बसी राम्रो कमाई गर्न भाग्य चाहिन्छ ।” उनीहरु वहस गर्दै थियो, विदेश जाने कि नजाने भनेर । एउटा विदेश जान जोड दिँदै थियो र अर्को नजाने पक्षमा, वादविवाद चर्किँदै गयो । “विदेश जाने र नजाने कुरामा किन वहस गर्छौं, मन भए जानू, मन नभएर नजानू तर भाग्यमा छ भन्दैमा डोकोमा दूध राखेर अड्दैन भनेर थाहा नै होला” बीचैमा आफ्नो नायकको भूमिका देखाउन टम्सिएँ म । “हामी बीचको कुरामा तँपाई को ? हामी जेसुकै गरुँ तँपाईलाई के ? जानूस् आफ्नो बाटो” एउटा खाउँला झैं गरेर भन्यो । त्यसपछि, यूवाहरुको रगत तातो हुन्छ भन्दै आफ्नो बाटो लाग्नू वेश लाग्यो ।

बाँच्ने आधार खोज्ने मेरो सोचले आज पुरै शहर डुलायो तर पाइँन । बाटोमा बच्चादेखि बृद्धबृद्धासम्मले आफ्नो जिविकोपार्जन गर्ने अनेकन उपाय देखाए, तर मैले रोज्न सकिँन । न त नराम्रो काम गर्ने सोच आयो न त राम्रो काम खोज्ने सोच । कहीँ कतै गएर पनि आफ्नो भविष्यको बाटो रोज्न सकिँन । पत्रपत्रिका बेच्न जाउँ, बुबाको इज्जतको ख्याल गरें । मागेर खाउँ, हातखुट्टा सबै सद्दे छन् । कुनै तल्लो वर्गको काम गर्न बुबाको इज्जतले नदिने, अनि माथिल्लो वर्गको काम गरौं, अनुभव माग्ने । आजसम्म कुनै काम नै गरेको छैन भने म कहाँबाट ल्याउँ अनुभव ? जन्मिने बित्तिकै त पक्कै आउँदैन । कुनै व्यापार व्यवसाय गरुँ, पूँजी कस्ले दिने ? कुनै पनि क्षेत्र आफ्नो लागि हो भन्ने सोचमै आएन । लाग्छ, एउटा दलदलमा फस्दैछु, आफ्नो शरीरलाई त्यहाँबाट निकाल्न नसक्ने भए झैं । अन्तिम सोच, विदेश जाने आयो तर फेरि त्यही केटाको शब्दले मनलाई घोच्यो, “विदेशमा पैसाको रुख छ र? टपक्क टिपेर आउन ?”

लाचार भएर आफ्ना थाकेका खुट्टाहरुलाई बुबाको घरतिर बढाउँदै थिएँ । घरअघि पुगें, ढोकामै ठेस लागेर लडें । “ऊ .... आफ्नै शरीरलाई ठेगानमा राख्न सक्दैन, के भविष्य बनाउँलान् यस्ले” भन्दै बुबा भित्रबाट कराउन थाल्नुभयो । आमाले मलाई उठाउन मेरो अघि आउनुभयो र भन्नुभयो “बुबाको कुराले मन नदुखाएस्, उठ् अब !” उठ्न खोजें तर सकिन । आफ्नै शरीरको शक्ति कम भएको भान भयो, आफ्नै शरीरलाई उठाउन हरप्रयास गरें, तर सफल भइँन । आमाका दुईहातले मलाई उठाउन खोज्यो, आमाको सहाराले म बिस्तारै उठ्दै थिएँ तर आफैले आफैलाई सम्हालिन सकिँन, लडें फेरि । आमाले “उठ् .. उठ् ....” भन्दै थियो । तर, मेरो शरीर चलमलाउन सकेन, म लडिरहें .... । आमाको स्पर्शले मेरा लाचार नजरहरु आमातिर फर्किए, आमा भन्दै हुुनुहुन्थ्यो, “उठ् अब कत्ति सुतेको ? बिहानको १० बजिसक्यो ।”

राजधानी यात्रा

बिहानीपखको सुर्यको स्पर्श मलाई सँधै मिठो लाग्छ । त्यही किरणसँग मैले कैयौं समय बिताएको छु, तर आज केही फरक महसुस भइरहेछ । किन किन आज घामको तापले त्यति न्यानोपन दिन सकिरहेको छैन । सबै सँधै एकैनासको कहाँ पो हुन्छ र ? यसैमा चित्त बुझाएँ र राजधानी जाने तयारीमा लागें ।
उही त हो, लोकल बस अनि अफिस टाइम् । मसँगै बसस्टपमा कुरिरहेथे, कोही बनेपा, कोही साँगा, कोही भक्तपुर त कोही राजधानी छिर्नको लागि । ऊ बेला बुढापाकाले भन्ने गरेको नेपाल, म पनि धेरै समयपछि जाँदै थिएँ । बसस्टपमा धेरै किसिमका मानिस देखें, लठ्ठी टेक्दै गरेका बुढापाका, जो भीड गाडी चढ्न नसकी खाली गाडीको पर्खाइमा थियो । स्कुल कलेज पढ्ने युवतीहरु गाडी रोक्ना साथ चढ्न आतुर भएर पखाईमा थियो भने युवाहरु गाडीको ढोकैमा भएपनि झुण्डेर यात्रा गर्न बाध्य थिए । आइमाइ, केटाकेटीहरु सके चढ्ने, नसके अको पर्खने । आएको गाडी छोड्नुपर्दाको पीडा उसैको अनुहारले बताउँथ्यो, कि उसलाई कति ढिलो भइसकेको छ । अनि ठेलम्ठेल गरेर भित्र जाँदा भने पीडा बिर्सेर उसको मुहारमा हाँसोले ठाम् ओगट्छ । यसरी म पनि ढोकामै झुण्डिन विवश भएँ ।
हात फतक्क गल्यो । पैसा उठाउने सहचालक त परिन नि झुण्डेरै यात्रा गर्नलाई त । ढोकाबाट आवाज आयो, “अलि भित्र जानुस् न, एक पाइला ।”
एकातिरबाट सुनियो, “यो भिन्दा भित्र काँ जानु ? ठाउँ छैन ।”
फेरि ढोके आवाज, “उ त्याँ छ नि (नभएको ठाउँ देखाउँदै) एकपाइला सर्नु न, ढोकामा धेरै भयो ।”
कुन्नि कताबाट आवाज आयो, “भाई पछाडी ढोका राख्नु, अगाडिबाट चढ्दै पछाडीबाट झर्दै गर्छन् ।”
बस रोकियो । ढोकामा भएकालाई नि ठेल्दै अर्काे एकजना कोच्न थाले, भन्दै थिएँ, “दाई अलि भित्र जानुस् न । दिदी अलि उता सर्नुस् न ।”
यो अवस्थाले लाग्यो, यी सवारीका कर्मचारी कस्ता ? यात्रुजति सबै गुन्द्रुक हुन् र ? अचार बनाउन कोच्या ? नभा ठाउँमा कसरी सर्नु ? ठाउँ नहुँदा नहुँदै पनि एकजना चढाउन गाडी रोकि भित्र जानु भन्ने कस्ता ? यावत् प्रश्नले मेरो मनमा बिझिरह्यो ।
बल्ल तल्ल ढोकाभन्दा केही पर पुगें । कुन चाहिँको हिलले कुल्चियो र भनें, “दिदी तपाइको हिलले कुल्च्यो ।”
माफ मागेर खुट्टा सार्नु त कता हो कता, “नीजि कार हो र नकुल्चिन ?” भनेर उल्टै आँखा तर्दै अलिक पर छिचोल्यो ।
बनेपा आइपुग्दा नपुग्दै ढोके आवाज फेरि आयो, “काठमाडौं जाने मात्र बसौं है, झर्नेले हातहातमा पैसा बोकेर आम् ।”
लाग्छ आफु चढेको बसलाई जति हतार अरु कसैलाई पनि छैन । करीब आधाजति यात्रु बनेपामै ओर्लिए । सिट खाली भयो । महिला र अपांग सुरक्षित सिटमा आफू के बस्नु भनि पछाडी गएँ । तर वास्तविकता खाली सिट कसले पो छाड्थ्यो र ? आफूलाई अन्तिम क्याबिन सिट मनपर्ने भएर पो पछाडी गएको त ।
आफूभन्दा अगाडि एकजोडी आएर बस्यो । मुहारमा चमक थियो, लाग्योः भर्खरको नयाँ जोडी रैछ । बस अलिक पर गुड्यो, अनि रोकियो । एकजना झ्याप मुडमा बोल्दै आयो,
“विश्वास नगर, एकअर्काको विश्वास नगर (केटीतिर इंगित गर्दै भन्यो) धोका दिन्छे यसले, धोकेवाज हो केटीहरु, बेलैमा होस् गर धोका पाउँलास् ।”
दुवैको अनुहार रातोपिरो भयो । झ्याप मान्छे गाडीबाट ओर्लियो । ती जोडी हेराहेर भए । केटाले सोध्यो, “को हो चिन्छौ ?”
केटीले भनिन् “अहँ चिन्दिन ।”
आखिर को रैछ त्यो मान्छे, गाडीमा कसैले पनि चिनेन । तर, अगाडीबाट आवाज आयो, “कुन केटीले धोका दिएर यो हाल भाको होला यसको, त्यही भएर जोडी देख्नै नहुने भएर होला ।”
आ... जे होस् भन्दै बगलीबाट हेडसेट झिकें र सुन्दै बाहिरको दृश्यमा आँखा भिजाउन थालें ।
पैसा उठाउँदै आयो, सहचालक । सहचालक त भन्न नमिल्ने हो, तर पनि यहाँ सहचालक बाहेक अन्य शब्द प्रयोग गरेमा फेरि मानहानी हुन सक्ला ।
“कहाँसम्म हो ?”
“सुर्यविनायक” जोडीमध्येको केटाले बोल्यो “कति हो ? कार्ड छ ।”
“१२ रुपिँया एकजनाको”
५० को नोट झिकेर दियो । सहचालक २० र ५ को नोट फिर्ता दिँदै “चानचुन छैन ल” भन्दै मतिर बढ्यो ।
“कहाँसम्म ?”
“रत्नपार्क, कार्ड छ, कति हो ?” एकैपटकमा सोधें ।
“२७”
यताउता सबै हेरें चानचुन रैनछ मसँग, २० र ५ को नोट दिएर भनें “चानचुन रैनछ २५ ले हुन्न ?”
“हुन्न दाई, चानचुन होला हेर्नुस् ।”
पर्सदेखाउँदै भनें, “पाँचसय र हजारको मात्र छ । २५ ले भैहाल्छ नि ।”
“कहाँ हुनु ? हुन्न । बरु ५ सय दिनुस् म साटिदिन्छु ।”
उसले ५ सयकै नोट साट्यो ।
दिनुपर्दा १ रुपिँयालाई चानचुन सम्झेर छैन भन्नेले २ रुपिँयाको लागि मेरो ५ सयको नोट साट्यो । यस्तो छ व्यवहार, बसस्टाफहरुको । धन भनेपछि महादेवको तीन नेत्र खुदल्छ भन्ने कुरा यहाँ साबित भएँ झैं लाग्यो ।
सम्झिएँ, ऊ बेलाको बाजेको कुरा । २ रुपिँया बोकेर नेपाल गएको । खाना र खाजामा ५० पैसा सकियो रे अनि एकरात उतै बिताउन १ रुपिँयामा कोठा पाएको रे । भोलिपल्ट फर्किँदा साँगामा पुगेर २० पैसाको टन्न पेटभरि दहीचिउरा खाएका रे । फर्किँदा ३० पैसा बगलीमै फर्कियो रे । यस्तो छ परिवर्तन.... आफ्नै बाजे र नातिको समयमा, गर्ने के ?
शहिदगेट मै झरें । न्युरोड हुँदै बसन्तपुर दरबार लागें । बाटोमा हर्नको आवाजले कान पाक्यो, धुँवाले नाक खिरायो, अनि बाटोमा आम्माम्मा के सारो छोटो लुगा हो, सेता सेता साप्रा टलक्क टलक्क टल्किन थाल्यो । शहरीकरणले बाटोमा हिँड्न गाह्रो भएको अवस्थामा यी आँखामा छारो हाले । तरुनीलाई म सँधै आँखाको छारो भन्ने गर्छु, किनकी आँखामा बिझाइहाल्छन्, के गर्नु ?
पश्चिमी मुलको फेशनको बढ्दो विकासले गर्दा होला, बाटो हिँड्दापनि केटीहरुतिर आँखा लान गाह्रो भो । कोही सेता साप्रा तेस्र्याउँदै त कोही वक्षस्थलको उँभो भाग देखाउँदै । आम्माम्मा चस्मा कस्तो हो ? आँखा भन्दा त कति ठूला कति, नापेर साध्यै छैन । त्यो त भयो भयो, एउटी पहेंलो पोशाकमा स्कुटी पिँपपिँप पार्दै आउँदै थिइन्, अगाडी परेको थें म । स्कुटीमा कति छोटा लुगा लगाका ए, हावाले फर्लक्क पार्यो भने सत्यानाश । के भका आजकालका तरुनी ??
बसन्तपुर, असन हुँदै भोटाहिटीबाट रत्नपार्क फर्किएँ । सबैठाउँको काम सकेर आउँदा करीब ५ बजेको थियो । आकाशे पुलमा थिएँ, हेरें एकछिन काठमाडौं शहर । बाटोमा चिल्ला चिल्ला गाडी गुडिरहेथे तर त्यही गाडी गुड्ने बाटोमाथि रहेको पुलमा असहाय, अशक्तहरु १÷२ का सिक्का र ५ का नोटसँग रमाइरहेका थिएँ । बाटोमा हेरें सबका सब हतारिरहेछन्, रोडमा हेरे उस्तै गतिमा सवारीसाधन ।
मौनतासँगै रत्नपार्क आइपुगें । प्यास लाग्यो र पानी किनें, मिनरल वाटर बोटलको रु.२० । पानी समेत किनेर खानुपर्ने अनि मल निकाल्न पनि पैसै तिर्नुपर्ने, ए काठमाडौं । पानी एक घुट्को पिएँ, थोरै प्यास मेटे झैं भयो, दोस्रो घुट्को लगाको .... सबै बाहिरै निस्कियो, के साह्रो तीतो पानी हो । तीतपाते नै मिसाए झैं, बोटलै फ्याँकिदिएँ ।
रत्नपार्कमा एकजना भन्दै थियो “बनेपा पनौती एक्सप्रेस बीचमा ओर्लने नचढ्नु ।”
चढ्न लाको थिएँ सोधिहाल्यो, “कहाँ ?”
“बनेपा” मैले भनें ।
बाटो छाडिदियो ।
बिस्तारै घामको मधुरो किरणसँगै दिनभरिको पसिनाको गन्धलाई साथमा लिएर राजधानीलाई बाईबाई गर्दैथिएँ । कोटेश्वरबाट गाडी भीड भयो । उभिएकी तर अलिक बिरामी जस्ती देखिने केटी आएर सिधै मलाई आग्रह गरिन्, “दाई मलाई अलिक गाह्रो भयो, झ्यालपट्टी छाडिदिनुहुन्छ ?”
“बिरामी जस्तो देखिन्छौं नि ! के भयो ?” मैले भनें ।
“अँ अलि अलि ।”
मैले सिट छाडिदिएँ ।
सिटमा बसेपछि पर्सबाट मोबाइल झिकेर चलाउन थालिन् । ओर्लने ठाउँसम्म उनलाई लिनको लागि कसैलाई बोलाउन फोन गरेकी होलिन् । बिरामी छिन् उनी, त्यसैले भन्ठानेको के खाएर हुन्थ्यो, फोनमा त मज्जाले हाँसी हाँसी बात मार्न थालि भन्दै थिई, “मैले सिट पाएँ ।”
समाप्त

गुणस्तरीय शिक्षाका लागि एकसाथ अघि बढौं

शिक्षा शब्द ‘क्षा’ धातुमा ‘अ’ प्रत्यय मिलेर बनेको हो । शिक्षाको अर्थ हुन्छ, सिकाउनु । सामान्य रुपमा नै शिक्षा भन्नाले सिक्नु, सिकाउनु, ज्ञान आर्जन गर्नु, अध्ययन गर्नु भन्ने बुझिन्छ । शिक्षा जुनसुकै तरिकाले पाउन सकिन्छ । बाल्यकालमा आमाको काखबाट शुरु भएको शिक्षा आर्जन समाज, घरपरिवार, साथीभाइ, विद्यालयबाट समेत पाउन सकिन्छ ।
कुनै पनि विषयको ज्ञान आर्जन गर्नु मात्र नभई व्यवहार, सीप सिकाउनु पनि शिक्षा हो । मानिसको चेतनालाई अभिबृद्धि गर्ने माध्यम नै शिक्षा हो । मानिसलाई समाजमा चिनाउने, सबैकुरामा परिपक्व बनाउँदै लैजानेसँगै दक्ष जनशक्तिको रुपमा तयार पार्ने शिक्षा नै हो । शिक्षा विद्यालयमा अध्ययन गरेर, घरपरिवारमा छलफल गरेर पाउन सकिन्छ भने समाजमा स्थापित हुन गरिने संघर्षबाट समेत शिक्षा आर्जन गर्न सकिन्छ ।
विश्वका सम्पन्न मुलुकहरुलाई हेर्ने हो भने सबैभन्दा ठूलो बजेट शिक्षालाई छुट्याएको देखिन्छ । यसैकारणले पनि होला ती मुलुकहरु विकसित भएका । शिक्षाबिना मानिसको चेतनास्तर कम हुन्छ । मानिसको उत्पादनशीलमा कमी हुन्छ । त्यसैले शिक्षामा लगानी गरेर उल्लेख्य प्रगति गरेका मुलुकहरु अहिले विश्वसामु सम्पन्न देशको रुपमा परिचित छन् ।
शिक्षा सबैका लागि अनिवार्य छ । अहिलेको शिक्षा, परीक्षामुखी मात्र नभई दक्ष जनशक्तिको उत्पादन गर्नेमा केन्द्रीत हुनुपर्ने आजको आवश्यकता हो । आजको शिक्षा त्यस्तो हुनुपर्छ, जसले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्छ । आजको शिक्षा भनेको समाजमा रुपान्तरण ल्याउन सक्ने किसिमको हुनुपर्छ । आजको शिक्षा राष्ट्रप्रति जिम्मेवारी, समाजप्रति उत्तरदायी हुनुपर्छ ।
नेपालको अन्तरिम संविधान २०६३ मा पनि शिक्षालाई मौलिक हकका रुपमा स्पष्ट पारेको छ । अन्तरिम संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क माध्यमिक तहसम्मको शिक्षा पाउने हक भएको उल्लेख गरिएको छ । यसैले पनि प्रत्येकले शिक्षा पाउनु नैसर्गिक अधिकार हो । देशको मुहार फेर्न सक्ने एकमात्र हतियार भनेको शिक्षा हो । देशलाई सम्पन्नताको स्थितिमा लान महत्वपूर्ण भूमिका खेल्ने नै शिक्षा भएकोले राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्छ । कुनै पनि आमहड्तालले विद्यालयलाई क्षति पुग्नु हुँदैन । कुनै पनि विद्यालय, शिक्षकशिक्षिका, शिक्षासेवी लगायत सरोकारवालाहरु कुनैपनि पार्टीको पक्षमा हुनुहुँदैन । विद्यालयका विद्यार्थीलाई सडकमा उतार्ने, आन्तरिक कलहमा विद्यालयमा तालाबन्दी गर्ने, राजनैतिक भागवण्डाका कारण विद्यालय बन्द हुने, विद्यालयका शिक्षकहरुलाई पार्टीको सदस्यता दिलाउने लगायतका कार्यहरु बन्द हुनुपर्ने देखिन्छ ।
वि.सं. २०२८–२०३२ को राष्ट्रिय शिक्षा पद्दतीमा शैक्षिक विकासका लागि नीजिकरणमार्फत शिक्षालाई खुल्ला पनि गरियो । वि.सं. २०४६ को राजनैतिक परिवर्तनसँगै शिक्षा विकासको लागि नीजि विद्यालयहरु खोल्न शुरु भयो । सामुदायिक शिक्षण संस्थाको तुलनामा नीजि शिक्षण संस्थाहरुले शिक्षामा पु¥याएको योगदान प्रशंसनिय छ । नेपालको अहिले स्थितिमा नीजि शिक्षण संस्थाहरुले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको लागि दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा अहम् भूमिका निर्वाह गरिरहेका छन् । नीजि विद्यालयहरुमा लाखौं, करोडौंको लगानी रहेको हुन्छ । जसको कारणले उचित व्यवस्थापन, समयसापेक्ष अध्ययनअध्यापन, उचित शैक्षिक वातावरण, दलगत राजनीतिकरणको अभाव रहेका हुन्छन् । यसको अलावा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीको उचित सिकाइको साथसाथै अनुशासित बन्न सिकाइरहेका हुन्छन् । नीजि विद्यालयमा नियमितता हुने गरेको छ भने नयाँ नयाँ प्रविधिहरु आएसँगै प्रयोग समेत गरेको पाइन्छ । नीजि विद्यालयले विद्यार्थीलाई मात्र हैन शिक्षकशिक्षिकालाई समेत अनुशासित बनाएका हुन्छन् । विद्यार्थीको चेतनास्तर बृद्धि गर्न मात्र नभई अतिरिक्त क्रियाकलापहरु समेत उचित व्यवस्थापनका साथ संचालन गरिरहेका छन् ।
यहाँ नीजि विद्यालय नै राम्रा भन्न खोजिएको भने पक्कै होइन । सामुदायिक तथा सरकारी विद्यालयका तुलनामा नीजि विद्यालय केही कदम अगाडी भने पक्कै रहेको छ । तर, कहिँकतै भने सामुदायिक विद्यालयपनि नमुनाका रुपमा देखा परेका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुपनि नीजि विद्यालयसँग प्रतिस्पर्धामा उत्रन थालिसकेका छन् । अहिलेको अवस्थामा नतिजालाई नै गुणस्तर मान्ने गरेको पाइन्छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, उत्कृष्ट अंक ल्याउने, प्रथम श्रेणी ल्याउने, विशिष्ठ श्रेणी ल्याउनेलाई गुणस्तरको हिसाबले हेर्ने गरिएको छ, तर शिक्षाको गुणस्तर त्यसरी मापन गर्नु कत्तिको उचित हो ? विद्यालयको गुणस्तरको मापन नै गर्ने हो भने पाठ्यक्रम, भौतिक पक्ष, शिक्षा प्रणाली, पाठ्यपुस्तक, शिक्षकशिक्षिका, शैक्षिक सामग्री आदिको मुल्यांकन गर्नु जरुरी छ ।
नेपालको सन्दर्भमा शिक्षा गुणस्तर कमि हुनुमा धेरै समस्या रहिआएका छन् । विद्यालयमा उचित शैक्षिक वातावरण नहुनु, शिक्षण तालिम कम हुनु, प्रभावकारी निरीक्षण नहुनु, वित्तीय अभाव, प्रशासनिक जटिलता, शिक्षकशिक्षिकाहरु व्यावसायिक विशेषताले पूर्ण हुन नसक्नु, पाठ्यपुस्तक समयमा उपलब्ध नहुनु लगायतका समस्याहरु रहेको विभिन्न अनुसन्धानले बताउँछ । शिक्षा क्षेत्रमा विकासको फड्को मार्ने हो भने राज्यले शिक्षा क्षेत्रलाई छुट्याएको बजेट प्रतिशतमा बृद्धि गर्न आवश्यक देखिन्छ ।
गतवर्षको प्रवेशिका परीक्षाको नतिजा हेर्ने हो भने पनि नीजिको तुलनामा सामुदायिक तथा सरकारी विद्यालयको नतिजा पछाडी रहेको देखिन्छ । सरकारी विद्यालयमा धेरैको संख्यामा विद्यार्थीहरु परीक्षामा असफल हुनुको कारण आखिर के हो त ? यसको बारेमा खोजीनीति नै गर्ने हो भने विभिन्न समस्याहरुको पहिचान गर्न सकिन्छ । बन्द हड्तालले पूर्ण रुपमा विद्यालय संचालन हुन नसक्नु, दरबन्दी अनुसार शिक्षक नपुग्नु, कतै खेताला शिक्षक त कतै राजनैतिक हस्तक्षेपले विद्यालयलाई असर पारिरहेको देखिन्छ । पाठ्यपुस्तक समयमा नपुग्नु जस्ता कारणले पनि नतिजामा असर पारिरहेको छ ।
सरकारले शिक्षा नीतिमा विभिन्न अभियानहरु नै चलाएको छ । जस्तो कि, सबैका लागि शिक्षा, अनिवार्य शिक्षा, महिला शिक्षा, एक बालक एक ल्यापटप, अनाथ बालबालिकाका लागि विशेष शिक्षा लगायतको अभियान संचालन गर्दै आएको छ । नेपालको साक्षरता दरलाई हेर्ने हो भने वि.सं. २००७ सालमा २ प्रतिशत साक्षर रहेको थियो । शिक्षामा नीजिकरण लागू भएपछि वि.सं. २०६८ सालमा आएर ६५ प्रतिशत साक्षर छन्, नेपालमा ।
हालसालैमात्र काभ्रे जिल्लामा साक्षरता अभियान संचालन भैरहेको छ । जिल्लाबाटै निरक्षर उन्मुलन गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालय लगायत सरोकारवालाहरु लागिपरेका छन् । चालु आ.व. ०७०÷०७१ भित्र काभ्रेपलाञ्चोक जिल्लालाई निरक्षर उन्मुलन गर्ने लक्ष्य लिइएको छ । उक्त अभियान असम्भव त पक्कै छैन तर पहिले पहिलेको अभियान झैं यस अभियानमा पनि सरकार चुक्ने हो भने फेरि पनि प्रश्नचिन्हहरु खडा हुनसक्छन् ।
यसैले, शिक्षालाई गुणस्तर बनाउने र निरक्षरतालाई उन्मुलन गर्न चालिएका कदमहरुलाई सफल बनाउन र योजनालाई कार्यान्वयन गर्न सबै पक्ष हातमा हात मिलाएर अघि बढ्नुपर्छ । हैन भने फेरि पनि शिक्षा एउटा बहसको विषय मात्र हुनसक्छ, कोही कसैको कमाउने थलो बन्न सक्छ..... अनि फेरि प्रश्न चिन्ह खडा हुनसक्छ, “शिक्षा के र कस्का लागि ?”